News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्वमन्त्री विरोध खतिवडाले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
- खतिवडाले ६ पटक निर्वाचन लडिसकेको र युवाहरूलाई पालो दिन चुनाव नलड्ने बताए।
- उनी २०७८ मा नेकपा (एकीकृत समाजवादी) बाट स्वास्थ्य मन्त्री भएका थिए र २०७९ मा मकवानपुर क्षेत्र नम्बर २ बाट पराजित भएका थिए।
२३ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्वमन्त्री विरोध खतिवडाले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने घोषणा गरेका छन् ।
नेकपाबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ का लागि निर्वाचनमा उम्मेदवार सिफारिस भएका खतिवडाले आगामी चुनाव नलड्ने भएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै खतिवडाले आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको भन्दै र २३ र २४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन हुन लागेकाले युवाहरूलाई पालो दिन खोजेको बताए ।
‘मैले राजनीतिबाट नै सन्यास लिन खोजेको भने होइन । यो निर्वाचन नलड्ने मात्रै हो । युवाहरूलाई पालो दिन खोजेको हुँ,’ उनले भने ।
खतिवडा नेकपा एमाले विभाजनसँगै बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट २०७८ मा गठित नेपाली कांग्रेस, नेकपा माओवादीसहितको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।
त्यसअघि उनी ४ पटक सांसद बनेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादीसहितको गठनबन्धनका उम्मेदवार रहेका उनी निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका महेश बर्ताैलासँग पराजित भएका थिए ।
खतिवडा झण्डै ४० वर्षअघि २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन लडेर विजयी भएका थिए । २०४६ सालको जनआन्दोलनबाट बहुदल आएपछि २०४८, २०५१ र २०५६, २०७४ र २०७९ को आमनिर्वाचन लडेका खतिवडाले एउटा मात्रै निर्वाचनमा पराजय हुन परेको अनलाइनखबरलाई बताए ।
२०६४ र २०७० को संविधानसभा निर्वाचनमा खतिवडा उठेनन् ।
खतिवडाले राजनीतिक जीवनका दौरान ५ वर्ष जेल बस्नु परेको छ । बहुदल, शैक्षिक, मजदुर आन्दोलनहरूमा सहभागी हुँदा जेल बसेका उनी ३ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेल बसेका हुन् । जेलमा ओली, खतिवडा र मोदनाथ प्रश्रित पनि थिए ।
जेल बस्दा मोदनाथ प्रश्रितले लेखेको कविता संग्रहमा खतिवडा र शर्मा ओलीको पनि कविता छ । पारिवारिक पृष्ठभूमिमै राजनीतिक चेत भएकाले व्यवस्था विरोधी आन्दोलनमा खतिवडाको उपस्थिति रहेको थियो ।
१० फागुन २०१५ तत्कालीन मकवानपुरगढी गाविस (हाल हेटौंडा–१७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडा भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । ल क्याम्पसमा २०३५–२०३६ सालमा स्ववियू पदाधिकारी बनेका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य भएका थिए ।
२०३५ र ३६ सालमा पार्टीको जिल्ला कमिटीमा आबद्ध भए । २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय खतिवडा २०४३ सालमा मकवानपुरबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार भएर रुपचन्द्र विष्टसँग प्रतिष्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4