+
+
Shares

राष्ट्रिय सभा चुनाव : बागमतीमा ६ जनाको उम्मेदवारी

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार बुधबार चार वटा राजनीतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १९:३८

२३ पुस, हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त दुई पदको लागि ६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आज बुधबार चार वटा दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मनोनयन दर्ता गराएका हुन् ।

एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेम प्रसाद दंगाल र नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दिए ।

यसैगरी, नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बागमती प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले उक्त रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेश सभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन् । मतभारका हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । भुटनदेवी विद्यालयमा दुई वटा मतदान केन्द्र रहनेछन् । निर्वाचन आयोगले ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?