५ माघ, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट पाउनेहरूमा कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहदेखि प्रदेश सचिव ध्रुव कुमार शाहीसम्म छन् ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका युवा नेता विष्णु रिजाल, नीरज आचार्य र दल रावललाई पाखा लगाएको नेतृत्वले पटक पटक चुनाव हारेका पुरानै अनुहारलाई टिकट दिएको छ । जसले गर्दा एमाले कर्णालीको युवा पंक्तिमा असन्तुष्टि देखिन्छ ।
टिकट वितरणको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका युवा नेताहरूलाई कतिसम्म उपेक्षा गरे भने, पार्टीको आन्तरिक निर्वाचनमा पहिलो स्थानमा रहेका विष्णु रिजाललाई टिकट दिएनन् ।
निर्वाचन क्षेत्रीय कमिटीले उम्मेदवार सिफारिस गर्दा रिजालले ६७ मत ल्याएर पहिलो स्थानमा थिए ।
तर टिकट भने ०४३ सालदेखि प्रधानपञ्चको निर्वाचन लड्दै आएका लक्ष्मीप्रसाद पोखरेललाई दिए ।
पोखरेल तिनै पात्र हुन जो प्रधानपञ्चदेखि प्रतिनिधि सभा सदस्यसम्म गरी यो सहित ८ औँ पटक चुनाव लड्दै छन् ।
सत्ता र पदका लागि जता पनि लचक हुने पोखरेल विगत नेमकlपा, एमाले, माले हुँदै फेरि एमालेमा प्रवेश गरेका हुन् ।
०४३ सालमा तत्कालीन पुष गाउँ पञ्चायतको प्रधान, २०४९ गाविस अध्यक्ष बने, २०५४ मा वडा सदस्य लडे । त्यति बेलासम्म नेमकिमामा रहेका उनी पछि २०५४ मै एमालेमा प्रवेश गरे ।
पछि एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको मालेमा लागे ।
२०५५ मा मालेबाट जिल्ला विकास समितिको चुनाव सदस्य पदमा लडेका उनी एमालेकै भद्र भण्डारीसँग पराजित भए ।
२०५६ मा मालेबाट प्रतिनिधि सभा उम्मेदवार बनेका उनको धरौटी नै जफत भएको थियो ।
२०५८ मा बामदेवसँगै एमालेमा फर्किएका पोखरेल २०७० को दोस्रो संविधान सभा चुनावमा प्रतिनिधि सभामा जिते, २०७९ पुन उम्मेदवार भएका उनी कांग्रेसका दिक्पाल शाहीसँग पराजित भए ।
एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका पोखरेलले पुनः टिकट पाएका छन् ।
मतदान मार्फत कार्यकर्ताको रोजाइबाट पहिलो नम्बरमा सिफारिस भएका रिजाजले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
‘जिल्ला र प्रदेश कमिटीले पहिलो नम्बरमै सिफारिस गरेका थिए ।
तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन’ रिजालले लेखेका छन्, ‘पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भुत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’
२९ वर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएका रिजाल अहिलेसम्म कुनै पनि संसदीय चुनावमा नहोमिएको बताएका छन् ।
उनले लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहरूमा सहभागी हुनु, कसैसँग माल पानीका लागि हात नपसार्नुलाई नेतृत्वले आफ्नो कमजोरीको रूपमा बुझेको भन्दै असन्तुष्टि पोखेका छन् ।
‘आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन । विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरूले आफू मात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । रिजालले टिकट नपाएको भन्दै दैलेख–२ का कतिपय नेता, कार्यकर्ताले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
०७९ को निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेन । गत निर्वाचनमा पराजित भएका तीनै पुरानै अनुहारलाई नै पुनः दोहोराएर टिकट दिएको छ ।
एमाले हुम्लाका प्रभावशाली नेताको रूपमा चिनिन्छन्, दल रावल । उनले पनि टिकट पाउन सकेनन् ।
केन्द्रमा केपी ओली र कर्णालीमा यामलाल कँडेल समूहका नेताका रूपमा चिनिने रावल यो पटक प्रतिनिधि सभामा लड्न चाहन्थे । सोही अनुसार रावल सहित तीन जनाको नाम सिफारिस भएको थियो ।
२०७४ को प्रदेश सभा चुनाव जितेका रावल कर्णाली प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत बनेका थिए । रावल ०७९ को प्रतिनिधि सभा चुनावमा भने पराजित भए ।
उक्त चुनावमा कांग्रेस—माओवादी गठबन्धन हुँदा पनि उनले लोकप्रिय मत पाएका थिए । गठबन्धनका उम्मेदवार छिरिङ डम्डुल लामा विजयी भए ।
यो पटक चुनाव लड्न चाहेका रावलले भने टिकट पाएनन् । उनको ठाउँमा दल फडेराले टिकट पाएका छन् । फडेराले अहिलेसम्म चुनाव जितेको इतिहास छैन ।
उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भए । त्यस लगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि तेस्रो स्थानमा खुम्चिएका थिए ।
अर्का टिकट नपाउने युवा नेता हुन्, जाजरकोटका नीरज आचार्य । युवाहरूबीच लोकप्रिय रहेका उनी ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
०७९ मा माओवादी—कांग्रेसको गठबन्धन हुँदा पनि उनले लोकप्रिय मत पाए । यो पटक पनि जिल्लाबाट सिफारिस गर्दा आचार्यसहित ५ जनाको नाम सिफारिस गरिएको थियो ।
तर पार्टी केन्द्रले डम्बरबहादुर सिंहलाई टिकट दियो ।
नीरजसँगै उम्मेदवारका लागि युवा तथा विद्यार्थी आन्दोलनबाट उदाएका नेता नारायण घर्तीको नाम पनि सिफारिस भएको थियो ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष समेत भइसकेका घर्ती पनि जिल्लामा लोकप्रिय नेताका रूपमा परिचित छन् । जिल्लामा नीरज वा नारायण मध्ये एकले टिकट पाउने धेरैको अनुमान थियो । तर पार्टीले एकाएक सिंहलाई टिकट दियो ।
२०५५ सालमा शिक्षकबाट राजीनामा दिएर एमाले राजनीतिमा लागेका सिंह जिल्ला कमिटी सदस्य, सचिवालय हुँदै जिल्ला अध्यक्ष समेत भइसकेका नेता हुन् ।
२०७० मा दोस्रो संविधान सभा सदस्यमा माओवादीका शक्ति बस्नेतसँग पराजित भएका सिंह २०७९ को प्रदेश सभा निर्वाचनमा पनि काँग्रेसका बेदराज सिंहसँग पराजय बेहोर्नु पर्यो ।
सिंह हाल एमालेको केन्द्रीय सदस्य छन् । पटक पटक चुनाव हारेका तीनै सिंहलाई पार्टीले पुन प्रतिनिधि सभा सदस्य उमेद्वारको टिकट दिएको छ ।
सुर्खेत क्षेत्र नम्बर १ मा एमालेले पुनः ध्रुवकुमार शाहीलाई टिकट दिएको छ । एमाले प्रदेश कमिटी सचिव समेत रहेका शाहीको जिल्लाबाट एकल सिफारिस भएका थिए ।
२०७४ मा कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई चुनावमा हराएर शाही चर्चामा आएका थिए ।
तर पाँच वर्षे सांसदको कार्यकालमा प्रतिनिधि सभामा जम्मा २ पटक मात्रै बोले । जनताबाट निर्वाचित जनप्रतिनिधिले सदनमा आफ्ना आवाज नउठाएको भन्दै चर्को आलोचना समेत खेपे ।
शाही यसअघि २०७९ मा पुनः काँग्रेसका पूर्णबहादुर खड्कासँग पराजित भए । यो क्षेत्रमा तेस्रो पटक शाही र खड्काबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
कांग्रेसले खड्कालाई यो क्षेत्रबाट यसअघि नै एकल सिफारिस गरी सकेको छ ।
सुर्खेत क्षेत्र नम्बर–२ मा भने एमालेले यो पटक नयाँ अनुहारलाई टिकट दिएको छ । एमाले सुर्खेतका जिल्ला अध्यक्ष समेत रहेका कुलमणि देवकोटाले टिकट पाएका छन् ।
देवकोटा पहिलो पटक संसदीय चुनावमा होमिँदै छन् । यसअघि उनी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अध्यक्ष रहेका उनी कर्णालीमा यामलाल कँडेल निकट नेताका रूपमा चिनिन्छन् ।
दैलेख–१ बाट रवीन्द्रराज शर्मा उम्मेदवार बनेका छन् । शर्मा ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा साबिक एकीकृत समाजवादीका अम्मरबहादुर थापासँग पराजित नेता हुन् ।
उनी ०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तिनै पुराना नेता शर्माले पुनः टिकट पाएपछि दैलेख–१ बाट सिफारिसमा परेका युवा नेता एनके बस्नेत एमाले छाडेर रास्वपाका प्रवेश गरेका छन् । एनके रास्वपा बाट उम्मेदवार बन्न लागेको नेताहरू बताउँछन् ।
रुकुम पश्चिमबाट जिल्ला अध्यक्ष नन्दराम देवकोटाले पुनः टिकट पाएका छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा पूर्व माओवादीका जनार्दन शर्मासँग पराजित भएका थिए ।
एमालेको सबैभन्दा कमजोर जनाधार रहेको रुकुम पश्चिममा देवकोटा ०७९ को निर्वाचनमा तत्कालीन माओवादी नेता जनार्दन शर्मासँग २६ हजारको मतान्तरले पराजित भएका थिए ।
एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह सल्यानबाट उम्मेदवार बनेका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सुरेश अधिकारीसँग पराजित भएका थिए ।
जिल्लाबाट एकल सिफारिस भएका शाह पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दै छन् ।
जुम्लाबाट उम्मेदवारको टिकट शान्तिलाल महतले पाएका छन् । उनी पनि पहिलो पटक प्रतिनिधि सभा चुनाव लड्दै छन् । जुम्लामा एमालेको जनआधार कमजोर रहेको छ ।
यस्तै, डोल्पाबाट स्थानीय तहमै पराजित लंक रोकायाले टिकट पाएका छन् । रोकाय मुड्केचुला गाउँपालिकाको अध्यक्षमा ०७४ र ०७९ को निर्वाचनमा पराजित नेता हुन् ।
मुगुमा पूर्णबहादुर रोकायाले टिकट पाएका छन् । युवा नेता राजु कार्की लगायतलाई पाखा लगाएर केन्द्रीय नेतृत्वले पुराना नेता रोकायलाई टिकट दिइएको छ ।
एमाले जिल्ला अध्यक्ष समेत रहेका रोकाया ०७४ मा मुगुम कार्मारोङ्ग गाउँपालिका–४ को वडा सदस्य निर्वाचित भएका थिए ।
उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुखसमेत भइसकेका नेता हुन् । उनी पहिलो पटक प्रतिनिधि सभामा चुनाव लड्दै छन् ।
कालिकोटबाट एमालेले नागेन्द्र शाही (नेसनल) लाई उम्मेदवार बनाएको छ ।
०७९ मा माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित उनी एमाले जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य हुन् ।
कालिकोटमा टिकट वितरणमै केही नेताहरूले असन्तुष्टि जनाएका थिए । युवा नेता वकिल बमले आफ्नो नाम सिफारिसमा नपरेपछि पार्टी नै परित्याग गरेका थिए ।
कालिकोटमा ६० को दशकपछि माओवादीले एकछत्र रूपमा प्रनितिधी सभा चुनाव जित्दै आएको छ ।
१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा ६ वटा निर्वाचन क्षेत्रबाट उमेद्वारको एकल नाम सिफारिस गरिएको थियो ।
प्रदेशका १२ निर्वाचन क्षेत्रबाट ३० जना सम्भावित नेताहरूको नाम उम्मेदवारीका लागि पार्टी केन्द्रमा पठाइएको थियो ।
जसमा युवा र जनतामा आशा गरिएका नेताहरूलाई पाखा लगाउँदै पुरानै नेताहरूलाई टिकट दिइएको छ । हाल टिकट पाएका अधिकांश नेताहरू यसअघि स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाका चुनावमा पटक–पटक चुनाव लडेका व्यत्तिहरु नै छन् ।
प्रतिक्रिया 4