+
+
Shares

कास्की-२ मा आठ जनाको उम्मेदवारी, बिरासत जोगाउने र भत्काउने होड

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल र स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ८ जनामध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
  • एमालेकी रश्मि आचार्य, कांग्रेसकी मधु बास्तोला, नेकपाका हेमबहादुर थापा र रास्वपाका उत्तमप्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
  • उज्यालो नेपाल पार्टीका कुशल गुरुङ जलवायु क्षेत्रमा विज्ञ हुन् र मतदाताले परिवर्तन खोजिरहेको भन्दै आफूले जित्ने दाबी गरेका छन्।

६ माघ, पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल र स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ८ जनामध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

निकै प्रतिस्पर्धात्मक रुपमा चासोका साथ हेरिएको यो क्षेत्रमा एमाले रश्मि आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायतले मनोनयन दर्ता गराएका हुन् ।

मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारीले मनोनय दर्ता गराएका छन् ।

यो क्षेत्रमा लगातार जित्दै आएको नेकपा एमालेका रश्मि, कांग्रेसका मधु, रास्वपाका उत्तमका बीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएका छन् ।

कास्कीमा असल नेताको परिचय बनाएका नेकपाका हेमबहादुर र उज्यालो पार्टीका कुशलले पनि मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

अघिल्लो पटक यो क्षेत्रमा चौथो दल बनेको राप्रपाबाट यसपटक केन्द्रीय उपाध्यक्ष हेमजंग यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

कास्की–२ मा सुरुमा एमालेबाट कृष्ण थापाले टिकट हात पारेका थिए । तर, २०५४ सालमा पोखराको मेयर भएयता पटक पटक अवसर पाएको तर नतिजा ल्याउन नसकेको भन्दै आलोचना भएपछि टिकट हेरफेर भएको थियो ।

एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज थापाको टिकट खोसिएपछि एमालेका केन्द्रीय सदस्य तथा युवा नेता रश्मिले टिकट पाएका थिए ।

थापाले भने अन्तिम समयसम्म पनि आफैं उम्मेदवार भएको बताउँदै आएका थिए । तर, नेताहरुसहित पुगेर मनोनयन दर्ता गर्दै रश्मिले कास्की २ मा एमालेको विरासत कायमै राख्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेसले राति अबेरमात्रै उम्मेदवार टुंग्याएको हो । स्वच्छ छवि भएका नेताका रुपमा कांग्रेसले गण्डकी समितिका प्रवक्तासमेत रहेका मधु बास्तोलाई उम्मेदवार बनाएको छ । पोखरा वडा नम्बर १२ का पूर्व वडाध्यक्ष हुँदै कास्की पार्टीका विभिन्न तहमा काम गरे पनि अहिलेसम्म अवसर नपाएका नेताका रुपमा मधुलाई अगाडि सारेको हो ।

नेपाली कांग्रेसको राजनीतिक बिरासतबाट पत्रकारिता हुँदै रास्वपाको राजनीति थालेका रविनिकट सम्बन्ध भएका उत्तमप्रसादलाई पनि कास्कीमा बलियो उम्मेदवारकै रुपमा हेरिएको छ । उनका बुबा, आमा नै त्यो बेला राजनीतिमा थिए । पौडेलको आमा २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाटै उम्मेदवार थिइन् ।

विद्यार्थीबाट तरुण दलको राजनीतिसमेत गरेका उत्तम पछि पत्रकारितामा लागेका थिए । रविसँग न्युज २४ र ग्यालेक्सी टिभीमा काम गरेका उत्तमले पनि जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।

नेकपाबाट उम्मेदवारी दिएका हेमबहादुर माओवादी सशत्र संघर्षका लडाकु नेता हुन् । उनी २०६४ सालकै निर्वाचनमा कास्की २ बाट आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै माओवादीमै फर्किएका हेमबहादुर शालिन, वौद्धिक नेताका रुपमा चिनिन्छन् ।

उनले पनि अहिलेको अवस्थामा परिवर्तनको पक्षमा उभिने पार्टी नै नेकपा भएको र विवेकशील मतदाताले व्यक्तिको क्षमता तथा छविलाई पनि हेर्ने भएकाले आफूले जित निकाल्न सक्ने दाबी गरे ।

उज्यालो नेपालबाट कास्की २ मा उम्मेदवारी दिएका कुशल जलवायु क्षेत्रमा विज्ञका रुपमा काम गरिरहेका व्यक्ति हुन् । बेलायतमा उच्च शिक्षा हासिल गरेर फर्किएका कुशल एक न्यून–कार्बन क्षेत्रका विज्ञ हुन्, जसले एसिया र युरोपमा १५ वर्षभन्दा बढी समयसम्म नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा काम गरेका छन् ।

उज्यालो पार्टीको गण्डकी इन्चार्ज कुशलले मतदाताहरुले पार्र्टीको विरासतभन्दा पनि माथि उठेर परिवर्तन खोजिरहेकाले आफूले जित्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?