+
+
Shares

कास्की एमाले : पहिले दीपकको टिकट खोसेर कृष्ण आए, अहिले कृष्णको खोसेर रश्मि उदाए

पटक–पटक उम्मेदवार बनिसकेका थापाबाट टिकट रश्मिमा पुग्नुलाई एमालेका कतिपय नेता-कार्यकर्ताले परिवर्तन संकेतका रुपमा हेरेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ ६ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्कीका ३ निर्वाचन क्षेत्रबाट ४० जनाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
  • एमालेले कास्की क्षेत्र नम्बर २ को टिकट युवा नेता रश्मि आचार्यलाई दिएको छ भने पूर्वउम्मेदवार कृष्ण थापाले टिकट खोसिएको विषयमा असन्तुष्टि जनाएका छन्।
  • २०७९ को स्थानीय तह निर्वाचनपछि पोखरामा टिकट खोस्ने र दिने घटनाले एमालेमा विवाद ल्याएको र अहिले पनि त्यसको प्रभाव कास्की निर्वाचनमा देखिएको छ।

६ माघ, पोखरा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका ३ निर्वाचन क्षेत्रबाट ४० जनाले मनोनयन दर्ता गराएका छन् ।

२०७९ मंसिरको चुनावमा कास्कीका ३ वटै क्षेत्र जितेको एमालेले त्यसलाई कायमै राख्ने बताउँदै मनोनयन दर्ता गराएको छ भने भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अन्य दलहरूले कास्कीको बिरासत भत्काउने योजनासहित उम्मेदवारी दर्ता गराएका छन् ।

कास्कीमा हुने अबको निर्वाचनलाई चासोका साथ हेरिएको छ भने नयाँ पुरानो दलहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराउँदा केही रोचक दृश्यसमेत देखिएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा एमालेको एकाएक टिकट अदलबदल भयो र त्यो एमालेभित्र मात्र नभई, कास्कीकै राजनीतिमा चर्चाको विषय बन्न पुग्यो । सुरुमा एमाले सचिवालय बैठकले क्षेत्र नम्बर २ कास्की इन्चार्ज कृष्ण थापाले टिकट पाए ।

कास्कीमा पटक–पटक टिकट पाएका थापाले यसपटक पनि बधाई तथा शुभकामना खाए । उनले आफूलाई खासै रुची नभएको तर पार्टीले नै उम्मेदवार बनाएपछि चुनावमा होमिएको प्रतिक्रियासमेत दिए । थापाले टिकट पाएसँगै नेता कार्यकर्ताबाटै आलोचना पनि सुरु भयो । यो क्षेत्रका १२ जना आकांक्षीहरूको बैठक नै बस्यो । जहाँ थापाले आफूले जबरजस्ती गरेर टिकट नल्याएको बताए ।

टिकट नचाहेको थापाको अभिव्यक्ति र नेताकार्यकर्ताको असन्तुष्टिसमेत जाहेर भइरहेका बेला एकाएक अर्को खबर सार्वजनिक भयो, ‘थापाको टिकट युवा नेता रश्मि आचार्यलाई दिने निर्णय भयो ।’ एमाले कार्यकर्ताबाटै सामाजिक सञ्जालमा रश्मिलाई शुभकामना दिइरहेका बेला फेरि थापाले आफू नै उम्मेदवार भएको बताउँदै मनोनयनका लागि उपस्थित हुन आह्वान नै गरे ।

मंगलबार बिहानसम्म पनि थापाले आफू नै उम्मेदवार भएको बताइरहेका थिए तर दिउँसो रश्मिकै हात समाताएर मनोनयन दर्ता गर्न पुगे र भोटसमेत मागे ।

आफू नै उम्मेदवार भएको बताए पनि नेतृत्वले रश्मिलाई टिकट दिइसकेको थियो । तर, थापाको टिकट खोसिएको विषयले कृष्णलाई भने छोडेन । संयोग कस्तो बन्यो भने यसअघि पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा यसरी टिकट खोसिएपछि थापा उम्मेदवार बनेका थिए, अहिले तिनै थापाको टिकट खोसिन पुग्यो ।

२०७९ वैशाख २० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखराको मेयरमा नेता दीपक पौडेललाई टिकट दिने केन्द्रीय सचिवालय बैठकले निर्णय गर्‍यो । त्यसको भोलिपल्टै एमाले नेता पौडेलले सुनचाँदी पसलबाट सुनका गहना चोरेको भिडियो सार्वजनिक भयो ।

पोखरामा मेयरको उम्मेदवार नै सुनचोरीमा जोडिएको भन्दै भिडियो भाइरल भएपछि तेस्रो दिन वैशाख १२ गते एमालेले अर्को निर्णय गर्‍यो र दीपकको टिकट खोसियो । त्यसबेला खोसिएको टिकट पूर्वमेयर तथा प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवारको होडमा रहेका कृष्ण थापाले पाए ।

एमालेका अहिलेका उपाध्यक्ष तथा तत्कालीन उपमहासचिव र गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङ पक्षका नेता थिए, दीपक । कृष्ण एमालेका तत्कालीन स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीनिकट नेता थिए ।

गण्डकीमा पृथ्वीसुब्बा र खगराज गुटको प्रतिस्पर्धाले हातमा आइसकेको दीपकको टिकट फुत्किएर थापाको पोल्टामा परेको थियो । केही वर्ष अगाडिको सुन पसलको भिडियो सार्वजनिक गरेर टिकट खोस्न स्वयं खगराज निकटकै कृष्णको समूह लागेको पृथ्वीसुब्बा समूहको आरोप थियो ।

यो घटनाले कास्की एमालेमा तरंग मात्रै ल्याएन, चुनावमा प्रतिघात गरेको आरोप नै लाग्न पुग्यो भने थापालाई हराउन लागेका अडियोसमेत सार्वजनिक भएको थियो । अन्तत: थापा एकीकृत समाजवादी, कांग्रेस, माओवादी गठबन्धनका उम्मेदवार धनराज आचार्यसँग पराजित हुन पुगे ।

२०७९ को चुनावमा घटित कास्की एमालेको यो घटनाको असर अहिले पनि नेता कार्यकर्तामा पर्ने गरेको छ । अहिले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि कास्कीमा ठ्याक्कै त्यस्तै घटना दोहोरिएको थियो ।

यसपालि प्रतिनिधिसभाको टिकट पनि १२ जना आकांक्षीलाई पछि पार्दै उनै कृष्ण थापाले हात पारेका थिए । तर, अलोकप्रिय पात्रलाई उम्मेदवार बनाइएको भन्दै आलोचना चुलियो र थापाले हात पारिसकेको टिकट युवा नेता रश्मि आचार्यले प्राप्त गरेका छन् ।

यो घटनासँग जोडिने अर्को संयोग पनि छ, टिकट खोसिने दीपक पृथ्वीसुब्बानिकट थिए भने अहिले सचिवालयको निर्णयअनुसार पृथ्वीसुब्बाले नै टिकट युवा संघका नेता मदन भण्डारीलाई जिम्मा लगाएर पठाएका थिए । अहिले टिकट हात पार्ने रश्मि त्योबेला गण्डकीको भूगोलमा पृथ्वीसुब्बा समूहकै नजिक थिए ।

एमाले गण्डकी प्रदेशको चुनावमा उनी खगराज समूहतिर लागेका थिए । अहिले पृथ्वीसुब्बाले कृष्ण थापालाई भनेर पठाएको टिकट खोसिएर उनै रश्मिले प्राप्त गरेका छन् । कतिपयले यो घटनालाई एमालेभित्रैको बदलाको नियतिका रुपमा पनि व्याख्या गरिरहेका छन् ।

सचिवालयको निर्णयअनुसार अहिले पनि आफू नै उम्मेदवार भएको भन्दै थापाले ६ गते मनोनयन कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् । जेनजी आन्दोलनपछि एमालेमाथि भइरहेको प्रहारलाई चिर्न युवा उम्मेदवार चाहिने आवाज कास्की २ मा थियो र ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर फर्किएका पृथ्वीनारायण क्याम्पसका पूर्वसभापति रश्मिले चुनावको तयारीसमेत गरिसकेका थिए ।

रश्मिले टिकट हात पारेको एमालेभित्र थापालाई मन नपराउने र युवालहर बुझ्ने जमातले खुसी मनाइरहेका छन् ।

३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा सबैभन्दा बढी चासो र एमालेको बलियो प्रभाव क्षेत्रका रुपमा कास्की–२ लाई हेर्ने गरिएको छ । यही क्षेत्रमा एमाले नेता तथा पूर्वपर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीले तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका थिए भने त्यसपछि उनकै पत्नीसमेत रहेकी नेतृ विद्या भट्टराईले २०७६ सालमा भएको उपनिर्वाचन र २०७९ मंसिरको आम निर्वाचनमा जित हासिल गरेकी थिइन् ।

नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा सबैभन्दा बढी प्रभाव वडा नम्बर १७, २१ र ३३ नम्बर वडाले पार्दै आएको छ । सुरुमा टिकट हात पारेका थापा भने उत्तरी क्षेत्र लामाचौरका हुन् । रश्मि भने दक्षिणी भेग तथा अहिलेसम्म एमालेले भन्दै आएको ‘कोर एरिया’ का हुन् ।

रविन्द्र अधिकारीकै वडावासी हुन् । यसअघि वडा नम्बर १७, २१ र ३३ नम्बरको मतगणना हुनुअघि अग्रता लिइरहेका रास्वपाका माधव कँडेलकै वडावासी रश्मिले टिकट पाउँदा एमालेको मत जोगिने धेरैको आंकलन छ । २०७९ मा दीपकले पाएको मेयरको टिकट खोसिएर उम्मेदवार बनेका थापाको टिकट यसपालि खोसिँदा एमालेभित्र उत्साह नै देखिएको छ ।

२०५४ सालमै पोखराको मेयर बनेका थापा २०७० सालमा कास्की २ बाटै पराजित भएका थिए । २०७४ सालमा एमाले माओवादीको गठबन्धनबाट कास्की–२ (क)बाट विजयी भएका थिए र कार्यकाल पूरा नहुँदै पोखराको मेयरमा टिकट हात पारेर हार बेहोरेका थिए ।

रश्मि स्ववियु सभापति हुँदै अनेरास्ववियुको उपाध्यक्षबाट पार्टीको राजनीतिमा लागेका हुन् । यसअघि लगातार जित हाँसिल गरेको कास्की–२ नै सबैभन्दा बढी चुनौति बनेको नेताहरूको भनाइ छ ।

युवाको भावनाअनुसार टिकट नआएपछि कास्की क्षेत्र नम्बर २ का नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए । केही युवालाई रश्मिलाई टिकट दिन माग गर्दै पार्टीलाई दबाबसमेत दिएका थिए । थापाले चुनाव हार्ने आंकलन गरेर होस् वा युवामा नेतृत्व जानुपर्छ भनेर होस्, पटक–पटक उम्मेदवार बनिसकेका थापाबाट टिकट रश्मिमा पुग्नुलाई एमालेका कतिपय नेता-कार्यकर्ताले परिवर्तन संकेतका रुपमा हेरेका छन् ।

जेनजी आन्दोलनपछि खोजीरहेको युवा पुस्ता र लाभको पदमा नपुगेका कारण पनि ठूला विवादमा नमुछिएका आचार्यले टिकट पाउँदा एमाले नेता कार्यकर्ता आशावादी देखिएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?