६ माघ, सिन्धुपाल्चोक (चौतारा) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकमा १५ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तासँगै जिल्लामा निर्वाचनको राजनीतिक सरगर्मी पनि बाक्लिएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि क्षेत्र नम्बर–२ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए । तर यसपटक कांग्रेसले दुवै क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।
पूर्वमन्त्री बस्नेत अन्तिम समयसम्म टिकट पाउन सक्रिय थिए । तर उनीविरुद्धका विचाराधिन मुद्दा र पार्टीभित्रको आन्तरिक कलहका कारण उनले टिकट नपाएको निकटस्थहरू बताउँछन् ।
यद्यपि कांग्रेस क्षेत्रीय समितिले उनको नाम एकल रूपमा सिफारिस गरेको थियो । २०४८ सालपछि बस्नेत दोस्रो पटक प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् ।
नेकपा एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सरेश नेपाल र क्षेत्र नम्बर–२ मा शेरबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । एमालेले क्षेत्र नम्बर–१ मा पटक–पटक उम्मेदवार परिवर्तन गर्दा जिल्लास्तरमा असन्तुष्टि देखिएको थियो । यसअघि केन्द्रीय सचिवालय बैठकले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरे पनि पछि हटाउँदै जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलाई अघि सारिएको थियो ।
तर २४ घण्टा नबित्दै पुन: निर्णय परिवर्तन गर्दै अन्तत: सरेश नेपाललाई उम्मेदवार बनाइएको हो ।
नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा निवर्तमान सांसद माधव सापकोटा र क्षेत्र नम्बर–२ मा युवराज दुलालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को उम्मेदवार बनेका दुलाल २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट निर्वाचित भएका थिए । आठ वर्षको प्रदेशसभाको कार्यकालमा उनले सामाजिक विकास मन्त्रालय तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट क्षेत्र नम्बर–१ मा भरत पराजुली र क्षेत्र नम्बर–२ मा अजय श्रेष्ठ उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट क्षेत्र नम्बर–१ मा राममणि न्यौपाने र गोपिकृष्ण चौलागाईंले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट ४ जना र क्षेत्र नमबर २ बाट ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4