११ माघ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ ।
सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका डीएसपी रमेश पालका अनुसार, सो ठाउँका एक व्यक्तिले बनाउन लागेको संरचनाले असर पर्ने भन्दै स्थानीयले अदालतमा रिट दायर गरेका थिए ।
अदालतले पनि सार्वजनिक जग्गामा संरचना बन्न नदिनू भनेर आदेश दिएको थियो । अदालतको आदेश अस्वीकार गरेपछि आफूहरू आइतबार दिउँसो जग्गा संरचनाका लागि पुगेको उनले बताए ।

‘सार्वजनिक स्थलमा एकजना मान्छेले भौतिक संरचना बनाउँदै गरेको भनेर पटकपटक गुनासो आयो । सरकारी जग्गामा भौतिक संरचना निर्माण गरेपछि आफ्नो घरतिर जाने बाटो छेकिन्छ भन्ने कुरा स्थानीयले अदालतमा मुद्दा हालेका थिए,’ डीएसपी पालले भने, ‘अदालतले सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्न नदिनू भनेर आदेश दिएको थियो । आदेश दिएर पनि ती व्यक्तिले नमानेपछि प्रहरीको नाममा अदालतले निर्णय कार्यान्वयन गराउनू भनेर पत्र काटेको थियो । प्रहरी गएर आज सम्झाइबुझाइ गरेर फर्कंदा त्यो मान्छे लडेको अवस्था हो ।’
अहिले त्यहाँ स्थानीयले राजमार्ग नै अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले जबरजस्ती जग्गा खाली गराउने क्रममा मृत्यु भएको पीडित पक्षको आरोप छ ।
केही छिमेकी व्यक्तिहरूले प्रहरी प्रशासनलाई रकमको प्रलोभनमा पारेर शेखलाई जग्गाबाट हटाउन खोज्दा धक्का–मुक्की भएको र सोही क्रममा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।
राजमार्ग अवरुद्ध हुँदा अहिले यात्रुहरू बाटोमा अलपत्र परेका छन् ।
तर जग्गा खाली गराउने विषयमा आफूलाई प्रहरी वा अदालतबाट कुनै पत्र नआएको र जानकारी समेत नभएको सो नगरपालिकाका प्रमुख भोला पोखरेलले बताए ।
‘जग्गाको विषयमा नगरपालिकालाई जानकारी गराउनुपर्थ्यो । मलाई कुनै जानकारी छैन,’ उनले भने । त्यस्तै, वडाध्यक्ष सागिर मिया शेखले पनि यसबारे आफूलाई प्रशासनले कुनै जानकारी नगराएको बताए ।





प्रतिक्रिया 4