१३ माघ, संखुवासभा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाको भोटखोला स्थित थुदाम मतदान केन्द्रमा सबै भन्दा कम मतदाता रहेको छन् ।
दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाममा जिल्लाकै कम मतदाता रहेको छन् ।
भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।
राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातिको बसोबास रहेको हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता छन् ।
सबैभन्दा कम मतदाता रहेको थुदाम मतदान स्थलमा ६३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये २८ महिला र ३५ पुरुष छन् । थुदाम मतदान स्थलमा २०७९ सालको निर्वाचनमा २० मत खसेको थियो ।
भोटखोला गाउँपालिकामा ११ वटा मतदान स्थल र ५ हजार ६ सय २७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
भोटखोलाकै किमाथांका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दु हो ।
प्रतिक्रिया 4