+
+
Shares

मकवानपुर-१ मा पटक-पटक चुनाव लडेका उम्मेदवारलाई नयाँको चुनौती

पाँच–पाँच पटक चुनाव लडेका व्यक्तिसँग नयाँ अनुहारले प्रतिस्पर्धा गर्दैछन् । जसका कारण मकवानपुर–१ को प्रतिस्पर्धा रोचक बन्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १३:१३

१५ माघ, हेटौंडा । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–१ मा २३  उम्मेदवार छन् । जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् ।

उम्मेदवारमध्ये डिना र सिंहको यो पाँचौ पटकको चुनावी प्रतिस्पर्धा हो । डिनाले सबै प्रतिनिधिसभाको चुनाव लडेकी छिन् । सिंहले भने दुई पटक (२०५४ र २०७९) यस क्षेत्रको ठूलो मत आगटेको क्षेत्र हेटौंडा उपमहानगरको मेयरमा चुनावी प्रतिस्पर्धा गरेका थिए । डिनाले यसअघिका सबै प्रतिस्पर्धा हारेकी छन् भने सिंहले अघिल्लो (२०७९) मात्र निर्वाचन जितेका थिए ।

एमालेका राना तथा नेकपा र रास्वपाका गौतमद्वयको प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष अनुमोदनका लागि पहिलो पटकको चुनावी प्रतिस्पर्धा हो । मकवानपुरको तत्कालीन जिल्ला विकास समिति सभापतिसमेत रहेका राना पाका उमेरका छन् भने गौतमद्वय युवा उमेर समूहका । यसरी, पाँच–पाँच पटक चुनाव लडेकासँग नयाँ अनुहारको रोचक प्रतिस्पर्धा हुन लागेको हो ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलामा पुगिरहेका छन् । मतदाताको मन जित्न खोजिरहेका उम्मेदवारलाई १ नम्बर क्षेत्रको भौगोलिक अवस्थाले भने चुनौती दिएको छ ।

यस क्षेत्रका ४० वटा वडामा ७८ हजार ८१० महिला र ७९ हजार ६२१ पुरुष गरी एक लाख ५८ हजार ४३५ जना मतदाता छन् । २०७४ मा एक लाख २४ हजार ७९९ मात्रै मतदाता थिए ।

हेटौंडा उपमहानगरको १५ वटा वडाका मतदाता शिक्षित वर्गमा पर्छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च रहेको विगतकै निर्वाचनले देखाएको छ ।

१ नम्बर क्षेत्रमा मतदाताको ठूलो संख्या ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा छ । यहाँ हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, ग्रामीण भेगतर्फ मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् ।

हेटौंडा उपमहानगरको १५ वटा वडाका मतदाता शिक्षित वर्गमा पर्छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च रहेको विगतकै निर्वाचनले देखाएको छ ।

सांगठिन भोट कम भएको राप्रपाका सिंहले २०७९ को निर्वाचन हेटौंडा उपमहानगरको मतले जितेका हुन् । कांग्रेसकी डिनाले बागमती, बकैया र मकवानपुरगढीको भोट धेरै ल्याएकी थिइन् भने सिंहले हेटौंडा उपमहानगरको मत गणनापछि डिनालाई उछिनेका थिए ।

सिंहले २ हजार ३८२ मतान्तरले डिनालाई हराएका थिए । सिंहले २७ हजार ८१६ मत पाउँदा डिनाले २५ हजार ४३४ मतमा चित्त बुझाइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत पाएका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।

यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचन भने माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र प्रल्हाद लामिछानेले जितेका थिए । त्यस यता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छ्रैन । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर बागमती गाउँपालिका अध्यक्ष, मकवानपुरगढी र बकैया गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको थियो । बकैया र मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्ष जितेका थिए ।

निर्वाचन आयोगको विवरणअनुसार बकैयाको ४ वटा वडाध्यक्ष र केही सदस्य, बागमती गाउँपालिकाको पालिका अध्यक्षसहित ५ वटा वडाध्यक्ष र केही सदस्य बाहेक हेटौंडा उपमहानगर र मकवानपुरगढीका गरेर १९ वटा वडाका वडा माओवादी जनप्रतिनिधिविहीन छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले भने हेटौंडा, बागमती, मकवानपुरगढी र बकैया गाउँपालिकामा वडाध्यक्षमै सीमित बन्न पुग्यो । २०४६ सालको बहुदल आएपछिका निर्वाचन जित्दै आएको एमाले हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा पहिलो पटक पराजित भएको हो । गठबन्धनबाट एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावमा गएका थिए । सोहीअनुसार जित पनि निकाले ।

२०७९ को प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (क)बाट प्रदेशसभामा माओवादीबाट प्रेमबहादुर पुलामीले जिते । प्रदेशसभा (ख)बाट एमालेका एकालाल श्रेष्ठ विजयी भएका थिए ।

कम्युनिस्ट गढ मानिने मकवानपुरमा २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भए । २०७४ र २०७९ को निर्वाचनमा २ नम्बर क्षेत्रको प्रदेशसभा (क)बाट चुनाव जितेर प्रदेशसभा गए । उनी हाल बागमती प्रदेशको मुख्यमन्त्री छन् । कांग्रेसले २०७४ यता मकवानपुरको १ र २ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा जित्न सकेको छैन ।

अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार टकाराज थापाले ५ हजार ७०३ अर्थात् कूल खसेको मतको ६ दशमलव ५४ प्रतिशत मत ल्याएका थिए । २०७९ यता रास्वपाले गाउँ र टोल समिति पनि बनाएको छ । विगतको तुलनामा रास्वपाको समानुपातिक मत बढ्ने आकलन गरिएको छ ।

मत विश्लेषणका आधारमा कांग्रेस र एमालेले एकअर्कालाई मुख्य प्रतिस्पर्धाको रूपमा हेरेका छन् । कांग्रेस र एमाले दुवैले अघिल्लो निर्वाचन जितेका राप्रपाका सिंहलाई प्रतिस्पर्धीको रूपमा राखेका छैनन् ।

२०७९ को वैशाखमा मेयरको चुनाव लडेको र लगत्तै प्रतिनिधिसभामा उठेकाले सिंहलाई जित निकाल्न सहज भएको थियो । आगामी निर्वाचनमा सिंहको मत घट्ने विश्लेषण कांग्रेस र एमालेको छ ।

नेकपा एमालेका मकवानपुर उपाध्यक्ष हिदम लामा एमालेका उम्मेदवार रानाले जित्नेमा ढुक्क देखिए । पार्टीको मजबुत संगठन, अघिल्लो निर्वाचनमा आएको मतपरिणाम र अनुभवी योग्य र उच्च राजनीतिक छवि भएका उम्मेदवारको कारण एमाले जित्नेमा विश्वस्त रहेको उनले बताए ।

नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले अघिल्लो निर्वाचनमा भन्दा यस वर्ष कांग्रेसको मतमा सुधार आउने दाबी गर्छन् । विगतको निर्वाचनमा ग्रामीण क्षेत्रबाट चुनाव जितेको र हेटौंडा बजार क्षेत्रमा कमजोर बनेको बताउँदै आगामी निर्वाचनमा त्यो अवस्था नरहने उनले बताए । पार्टी आन्तरिक समस्याबाट निस्किएर एक ढिक्का बनेको भन्दै उम्मेदवार डिना विजय उन्मुख रहेको उनले बताए ।

संविधानसभा सदस्यसमेत रहेका माओवादीका नेता प्रल्हाद लामिछानेले पार्टीले युवा उम्मेदवार उठाएकोले जित्नेमा आशावादी रहेको बताए । माओवादी-१ नम्बर क्षेत्रको बागमती र बकैयामा बलियो र हेटौंडा उपमहानगरपालिका कमजोरको स्थितिमा अध्ययनशील, सुशासनका लागि काम गरेको अनुभव भएका युवा उम्मेदवारले जितका लागि पर्याप्त मत ल्याउने देखिएको उनको भनाइ छ ।

राप्रपा मकवानपुरका सहकोषाध्यक्ष सन्दीप सापकोटा सिंहले दोस्रो पटक पनि चुनाव जित्ने दाबी गर्छन् । प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले सिंहको जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?