१९ माघ, काठमाडौं । नेकपा एमालेबाट रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लिलामणि गौतमले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
‘मेरो उम्मेदवारी छ । म निर्वाचन क्षेत्रमा सबैभन्दा बढी आक्रमक र जोशिलो प्रचारमा छु,’ गौतमले अनलाइनखबरसँग भने ।
यसअघि ११ माघमा एमाले–प्रलोपाबीच चुनावी गठबन्धन गर्ने सहमति भएको थियो ।
सहमतिमा रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुमपूर्वमा प्रलोपाका सन्दीप पुनलाई एमालेले सहयोग गर्ने भनिएको थियो । बदलामा प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्ने उल्लेख छ ।
तर यस्तो सहमति आफ्नो सहमतिबेगर भएको भनेर एमालेका उम्मेदवार गौतमले असन्तुष्टि जनाए ।
‘जिल्ला पार्टी र उम्मेदवारलाई नसोधी सहमति भएछ । रुकुम पश्चिमबारे निर्णय गर्दा पूर्वको पनि निर्णय भएछ । त्यसपछि मैले निर्वाचनमा होमइसकेपछि पछाडि हट्न सकिँदैन भनेँ,’ गौतमले सुनाए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर उनले भने, ‘जसलाई तालमेलका नाममा सहयोग गर्नुपर्ने भनियो उनको संगठन छैन । मै लड्न पाउनुपर्छ ।’
अध्यक्ष ओलीसँगको भेटका गौतमले विगतका पार्टीले प्राप्त गरेको मतभार र अब हुन सक्ने मत आंकलन र विपक्षीले पाउने मत र अन्यले पाउने मतभार देखाए ।
‘अध्यक्ष कन्भिन्स हुनुभयो । अरू सहमति कायम रहने तर रुकुमपूर्वको हकमा आ-आफ्नै तरिकाले अगाडि बढ्ने, चुनावी तालमेल नगर्ने भन्ने भएको छ,’ गौतमले सुनाए, ‘अध्यक्षले जितेर आउने भन्ने शुभकामना दिएर पठाउनुभयो ।’
ओलीलाई भेट्न गौतम काठमाडौं नै आएका थिए । अहिले उनी निर्वाचन क्षेत्र फर्किएर प्रचारप्रसारमा सक्रिय छन् ।
रूकुमपूर्वमा प्रलोपाबाट २८ वर्षीय सन्दीप पुन उम्मेदवार छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट ५३ वर्षीय कुशुमदेवी थापा उम्मेदवार छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । निर्वाचन आयोगको विवरण अनुसार प्रचण्ड ७० वर्षका भए । यो क्षेत्रमा रास्वपाबाट ४८ वर्षीय लखनकुमार थापा उम्मेदवार छन् । एमालेका उम्मेदवार गौतम ३८ वर्षका भए ।
एमालेका केन्द्रीय सदस्य रहेका गौतम निवर्तमान जिल्ला सभापति हुन् । उनी स्थानीय स्तरमा सामाजिक तथा सामुदायिक विकास, ग्रामीण विकास र जनस्वाथ्य र मानव अधिकार र न्यायको क्षेत्रमा सक्रिय रहँदै आएका नेता पनि हुन् ।
प्रतिक्रिया 4