News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
- सरकारले पुस मसान्तसम्म ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्च र ४९ अर्ब ४३ करोड पूँजीगत खर्च गरेको छ।
- समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड र प्रदेश सरकारको कुल खर्च ३९ अर्ब ८७ करोड पुगेको छ।
१९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्मको सरकारी खर्च राजस्व संकलनको तुलनामा बढी देखिएको हो ।
समीक्षा अवधिमा भएको कुल खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा ठूलो छ । सरकारले ६ महिनामा ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ ।
विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्चको अवस्था भने अझै उत्साहजनक छैन । पुस मसान्तसम्म सरकारले मात्र ४९ अर्ब ४३ करोड पूँजीगत खर्च गर्न सकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५३ अर्ब ६५ करोड खर्च भएको छ ।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ ।
यसमध्ये कर राजस्व मार्फत ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वतर्फ ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । खर्चको तुलनामा राजस्व संकलन करिब १ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँले न्यून देखिएको छ ।
ढुकुटीमा ३ खर्ब ४६ अर्ब नगद मौज्दात
यसैगरी २०८२ पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड नगद मौज्दात छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश छ ।
२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड थियो ।
प्रदेश सरकारका खर्च ३९ अर्ब ८७ करोड
तथ्यांक अनुसार सातै प्रदेश सरकारको कुल खर्च समीक्षा अवधिमा ३९ अर्ब ८७ करोड छ । सोही अवधिमा प्रदेशहरूको कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड पुगेको छ ।
प्रदेशहरूको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वको हिस्सा ६९ अर्ब ३३ करोड रुपैयाँ छ ।
प्रदेशहरूले आफ्नै आन्तरिक र अन्य स्रोतबाट भने २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।
प्रतिक्रिया 4