News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशत वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको जनाएको छ।
- अमेरिकी डलरमा सञ्चितिमा १५.२ प्रतिशत वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ भने राष्ट्र बैंकमा रहेको सञ्चितिमा १९.४ प्रतिशत वृद्धि देखिएको छ।
- बैंक तथा वित्तीय संस्थाहरूमा ३६.२ प्रतिशत वृद्धि भई ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ र सञ्चितिले २१.४ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ।
१९ माघ, काठमाडौं । विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चितिमा ३६.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।
२०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति चालु आव पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ ।
२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
हालको सञ्चिति नेपालको आर्थिक इतिहासमै निकै बलियो स्थितिमा देखिएको छ । २०८२/८३ पहिलो ६ महिनाको आयात आधार मान्दा अहिलेको सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ र ४०.५ प्रतिशत छ ।
प्रतिक्रिया 4