१९ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सिप विकास र शैक्षिक पूर्वाधार निर्माणका कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले ‘सबैका लागि बैंक, सधैंका लागि बैंक’ भन्ने मूल नारा आत्मसाथ गर्दै वित्तीय साक्षरता, वातावरण संरक्षण र मानव सेवाजस्ता क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यी कार्यक्रम आयोजना गरेको हो ।
बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा ललितपुर खोकनास्थित गन्धकुटी विहारमा एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सरजस्ता गम्भीर रोग पहिचान साथै मधुमेह, थाइराइड र साधारण स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्थानीयवासीको दन्त परीक्षणका लागि समेत बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
ट्राफिक प्रहरी वृत्त महाराजगञ्जसँगको समन्वयमा बैंकले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि आवश्यक ‘रोड फर्निचर’ (ट्राफिक संकेत) हस्तान्तरण गरेको छ । सडकका फुटपाथ र विभिन्न स्थानमा हुने जथाभावी पार्किङ समस्या समाधान गर्न यी सामग्रीले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
दलित सशक्तीकरण केन्द्र नेपालको सहकार्यमा बैंकले हुम्ला अदानचुली गाउँपालिका (वडा नम्बर १ देखि ६ सम्म) का विपन्न नागरिकलाई सिलाइ मेसिन वितरण गरेको छ ।
यसैगरी रूपन्देही सिद्धार्थनगर–९ स्थित भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ । खेलमैदानमा पानी निकासका लागि ह्युम पाइप राख्ने, रोलिङ गर्ने र मैदानलाई व्यवस्थित बनाउने कार्यका लागि बैंकले सहयोग गरेको हो ।
महालक्ष्मीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र दिगो विकास लक्ष्य प्राप्तिमा सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4