News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९४५ को नोभेम्बरमा नुरेम्बर्गमा नाजी युद्ध अपराधका मुद्दाहरूको लागि अन्तर्राष्ट्रिय सैन्य न्यायाधिकरण स्थापना गरियो।
- चलचित्र 'नुरेम्बर्ग' मा डगलस केल्ली र हर्मन गोइरिङबीचको मनोवैज्ञानिक द्वन्द्वलाई प्रमुख विषयवस्तु बनाइएको छ।
- चलचित्रमा रसेल क्रोलेले गोइरिङको भूमिका निभाएका छन् भने रामी मालेकले केलीको भूमिका निभाएका छन्।
सन् १९४५ को मे महिनामा ‘थर्ड राइख’को पतनपश्चात् यहूदी नरसंहारका योजनाकार र कार्यान्वयनकर्ताहरूले युद्ध अपराधसँग सम्बन्धित अभूतपूर्व मुद्दाको सामना गरे । न्याय भनेको केवल प्रतिशोध मात्र नहोस् भन्ने सुनिश्चित गर्न नुरेम्बर्गमा अन्तर्राष्ट्रिय सैन्य न्यायाधिकरण (इन्टरनेशनल मिलिटरी ट्राइब्युनल) को स्थापना गरियो ।
यो त्यही शहर थियो, जसलाई नाजी जर्मनीको जातीय कानुनहरूको जन्मस्थलको रूपमा यसको प्रतीकात्मक महत्त्वका कारण जानाजान छनोट गरिएको थियो । सन् १९४५ को नोभेम्बरमा आधिकारिक रूपमा सुरु भएको यो प्रक्रिया केवल कानुनी लडाइँको मैदान मात्र थिएन । यो एक गहिरो मनोवैज्ञानिक द्वन्द्व पनि थियो, जुन हर्मन गोइरिङ जस्ता नाजी नेतृत्वको व्यावहारिकता र मित्र राष्ट्रका अभियोजकहरूको जवाफदेहिताको अथक प्रयासबीचको तीव्र सङ्घर्षद्वारा चित्राङ्कित थियो ।
अन्ततः यी मुद्दाहरूले भावी पुस्ताका लागि नाजी शासनको त्रासदीलाई दस्तावेजीकरण गर्ने काम गरे र अन्तर्राष्ट्रिय कानुनका लागि आधारभूत नजिरहरू स्थापना गरे । यही परिचित इतिहासलाई निर्देशक जेम्स भ्यान्डरबिल्टले पर्दामा उतार्ने प्रयत्न गरेका छन्– नुरेम्बर्गमा ।
सन् १९४५ को नोभेम्बरमा नुरेम्बर्गमा सुरु भएको नाजीहरूको युद्धापराधको मुद्दाभन्दा अगाडि डगलस केल्ली नामक एक अमेरिकी सैनिक मनोचिकित्सकलाई कैदीहरूको अन्तर्वार्ता लिने आदेश दिइएको दृश्यबाट फिल्मको सुरुवात हुन्छ । ती कैदीहरूमध्येका प्रमुख चरित्र थिए हर्मन गोइरिङ । यो अन्तर्वार्ता उनीहरू अदालती प्रक्रियाका लागि मानसिक रूपमा स्वस्थ छन् कि छैनन् भनेर मूल्यांकन गर्नका लागि निर्देशित थियो । तर यसको वास्तविक उद्देश्य भने उनीहरू आफ्नो सफाइ कसरी दिन्छन् भन्ने विषयमा आन्तरिक जानकारी बटुल्नु थियो ।
आत्माभिमानी राइखमार्शल गोइरिङको भूमिका रसेल क्रोले निभाएका छन् । क्रोले लामो समयपछिको उत्कृष्ट अभिनय प्रदर्शन गरेका छन् । उनले अमेरिकीहरूसँग मनोवैज्ञानिक खेल खेल्ने एक बौद्धिक र चलाख पात्रको भूमिका राम्ररी निभाएका छन् । अर्कोतर्फ केल्लीको भूमिकामा रामी मालेकको अभिनय भने त्यति सशक्त छैन । उनको भावभङ्गी र अभिनयमा जति गाम्भीर्यता आउनुपर्ने हो त्यति नआएको अनुभव हुन्छ ।
वास्तविक जीवनमा केल्ली एक अस्थिर स्वभावका व्यक्ति थिए र उनी यस मुद्दामा पुस्तक लेखेर चर्चामा आउन चाहन्थे । तर चलचित्रले उनलाई एक परम्परागत नायकको रूपमा देखाउन खोज्दा पात्रमा हुनुपर्ने गहिराइ हराएको देखिन्छ । मालेकको अभिनयमा कृत्रिमता छ, जसले गर्दा कुनै बेला उनले नै निभाएको ‘बन्ड भिलेन’ जस्तै देखिन्छन् उनी ।
समग्रमा अन्य कलाकारले राम्रो प्रयास गरे पनि केल्लीको पात्र भने तुलनात्मक रूपमा कमजोर देखिन सक्छ । फिल्मको मुख्य विषयवस्तु नै केली र हर्मन गोइरिङबीच इच्छाशक्तिको लडाइँ हुनाले केलीको अभिनय फिल्मको उत्कृष्टताको निर्णायक तत्त्व थियो ।
अमेरिकी न्यायाधीश रोबर्ट एच. ज्याक्सन (माइकल श्यानन) ले शक्तिशाली मित्रहरू र भ्याटिकनको अनिच्छुक सहयोगसहित, युद्धपछि बचेका उच्च तहका नाजीहरूमाथि मुद्दा चलाउन रुस, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकाको सरकार सम्मिलित एक अन्तर्राष्ट्रिय अदालत स्थापना गर्ने निर्णय गर्छन् । उनी यो मुद्दा महत्त्वपूर्ण भएको महसुस गर्छन्, ‘यो युद्ध अदालतको कठघरामा छ । संसारले यी मानिसहरूले के गरे भनेर जान्न आवश्यक छ ताकि यस्तो फेरि कहिल्यै नहोस् ।’
मुद्दाका लागि नुरेम्बर्ग स्थानको छनोट महत्त्वपूर्ण छ । सेप्टेम्बर १५, १९३५ मा नुरेम्बर्ग कानुनहरू त्यसै स्थानमा पारित भएका थिए, जहाँबाट जर्मनहरूले यहूदीहरूको अधिकार खोसेको मानिन्थ्यो । धेरै नाजी शीर्ष नेतृत्वले आत्महत्या गरेपछि सेनाका मनोचिकित्सक डगलस केलीलाई २२ नाजी कैदीहरूको मानसिक अवस्थाको निगरानी गर्न ल्याइन्छ ।
केली र गोइरिङका संवादहरू एकदमै महत्त्वपूर्ण छन् । संसारभरि नाजीहरूलाई जुन एक आयामिक पक्षबाट हेरिएको छ, त्यसलाई गोइरिङका तार्किक उत्तरहरूले अपर्याप्त सावित गरिदिन्छ । गोइरिङ भन्छन्, ‘म कैदी हुँ किनभने तिमीहरू विजेता हौ र हामी विजित हौँ । यसकारण होइन कि तिमीहरू नैतिक रूपमा उच्च छौ ।’ शायद अमेरिकाका खास प्रभुत्वशाली वर्गजतिको अमानवीय कोही पनि छैनन् ।
उनीहरूले अरूको प्राकृतिक र सांस्कृतिक वैभव दोहन गर्नका लागि गरेका कुत्सित कार्यहरूका स्याहा स्रेस्ताहरू इतिहासमै सर्वाधिक हुनुपर्छ । त्यसै गरी सोभियतकालमा क्रान्तिको नाममा गरिएको नरसंहार पनि तीभन्दा कम छैन । तर क्रूरता र तानाशाही प्रवृत्तिको बारेमा व्याख्यान-बहस गर्दा आजसम्म पनि जर्मनीमा भएको यहूदी-संहारलाई भने प्राथमिक उदाहरणको रूपमा लिने गरिन्छ ।
यस्तो परिणामले कता–कता गोइरिङले भनेको कुरामा सत्यांश निहित रहेको कुरा देखाउँछ । एउटा दृश्यमा केलीले गोइरिङलाई सोध्छन् कि हिटलरप्रति उनीहरूको आकर्षण हुनुको कारण के थियो । गोइरिङ गम्भीर भावमा आफ्नो सिगार पिउँदै भन्छन्– ‘उनले हामीलाई फेरि जर्मन भएको महसुस गराए ।’ गोइरिङको स्मृतिपटलमा अझै पनि हिटलरले पहिलो पटक कफी सपमा दिएको भाषण सचित्र याद हुन्छ ।
गोइरिङको यो कथन ऐतिहासिक रूपमा उल्लेखनीय छ । प्रथम विश्वयुद्धपश्चात भएको भर्साइल्स सन्धिले जर्मनी राष्ट्रवाद र स्वाभिमानले शिर निहुर्याएको थियो । त्यो अमानजनक सन्धिमा जर्मनीले आफ्ना धेरै कुरा गुमायो ।
जर्मनीमा सीमित वर्गहरूले आम जर्मन नागरिकहरूलाई हरेक रूपमा शोषण गरेर राखेका थिए । जर्मनीका बहुसंख्यक नागरिकहरू सामान्य मानवता समेतको अभावमा यन्त्रवत् बाँचिरहेका थिए । आशा र आदर्शबिनाको समाजको मेरुदण्ड भाँचिएको हुन्छ । हो, हिटलरले गरेका नरसंहारलाई कुनै पनि कोणबाट सकारात्मक प्रकाशमा उभ्याउन सकिँदैन तर जुन समयमा हिटलरको उदय भएको थियो, त्यो ऐतिहासिक रूपमा अनिवार्य प्रक्रियाझैँ थियो । गोइरिङको कथनमा गहिरो निहितार्थ छिपेको छ ।
आफ्नो जीवनकालका तीता अनुभव सुनाउँदै गोइरिङ भन्छन्, ‘एउटा मानिस तिम्रो सहयोगी हुनुको अर्थ ऊ तिम्रो पक्षमा छ भन्ने होइन ।’ उनले केलीको मनभित्रै प्रहार गर्न सफल हुन्छन् । केलीले गोइरिङलाई ‘अत्यन्तै बुद्धिमान्, आकर्षक र आत्ममुग्ध’ चरित्रको रूपमा चिन्छन् । उनले यो पनि देख्छन् कि नाजीहरू आधारभूत रूपमा कठोर वा बर्बर हुनुभन्दा पनि आफ्नो समयका उपज हुन् र समान परिस्थितिमा संसारको जुनसुकै ठाउँमा र जुनसुकै समयमा यस्तै घटना हुनबाट रोक्ने केही छैन । यो आफैँमा एउटा चिसो भविष्यवाणी हो ।
नुरेम्बर्ग चलचित्र कलाकारहरूको सुन्दर अभिनयले भरिएको छ । मालेकले केलीको निजी सहानुभूति, महत्त्वाकांक्षा र निराशालाई आफ्ना आँखा मार्फत व्यक्त गर्छन्, जबकि क्रोले गोइरिङलाई नाजी पार्टीको प्रतिनिधि अनुहारको रूपमा उतारेका छन् । उनी एडा (फ्लेउर ब्रेमर) का लागि एक मायालु बुबा र एमी (लोट्टे भेरबिक) का लागि प्रेमिल पति पनि हुन् । श्यानन न्यायको मूर्तरूप हुन् । उनी ती मानिस हुन् जो आफ्नो आत्मिक चेतना र समाजका लागि सही गर्न चाहन्छन् ।
अमेरिकी सेनाका अधिकारी हाउवी ट्राइस्ट (लियो वुडल), जो अनुवादकको रूपमा सहायक छन् । यद्यपि गोइरिङले सुरुमा अङ्ग्रेजी बुझ्न वा बोल्न नजान्ने बहाना गर्छन्। नुरेम्बर्ग जेलका कमान्डेन्ट बर्टन सी. एन्ड्रीसको रूपमा जोन स्ल्याटरी त्यो मानिसको भूमिकामा सिद्ध छन् जो काम सम्पूर्ण रूपमा सम्पन्न तुल्याउने कुरामा तल्लीन छन् ।
मनोचिकित्सक गुस्ताभ गिल्बर्टको रूपमा कोलिन ह्याङ्क्सले भूमिका निभाएका छन् । उनी केलीको वस्तुनिष्ठतामा प्रश्न उठेपछि स्वयम् त्यस विषयमा प्रवेश गर्छन् । उनमा रहेको कर्मण्य भावले आफ्नो चरित्रलाई सजाउँछन् । गोइरिङको पराजय कुनै एउटा क्षणको सहज प्रयासबाट आएको होइन । केलीले गरेको मनोवैज्ञानिक सहयोगको अभावमा गोइरिङलाई हराउनु लगभग असम्भव जस्तै हुन्थ्यो ।
अन्तिम समयसम्म पनि गोइरिङले नाजी विचारधारामा अटुट आस्था प्रकट गरिरहनुबाट यो अनुमान सहजै लगाउन सकिन्छ कि उनका विगतका निर्णय र कर्महरू ‘म खराब काम गर्छु’ भन्ने कुचेष्टाका साथ गरिएका थिएनन् ।
उनलाई आफ्नो आस्थाप्रति त्यति नै दृढ विश्वास थियो, जति न्यायका प्रतिमूर्ति मानिनेहरूलाई आफ्नो न्यायमा विश्वास हुन्छ । ज्याक एल-हाईको २०१३ को पुस्तक ‘द नाजी एन्ड द साइक्याट्रिस्ट’ मा आधारित नुरेम्बर्ग अभिनय, छायांकन र सन्देशको लागि आकर्षक, सान्दर्भिक र महत्त्वपूर्ण छ ।
प्रतिक्रिया 4