+
+
Shares
फ्याक्ट चेक :

नझुक्किनुस्, बालेन अस्पतालमा भएका भाइरल फोटाहरु सही होइनन्

सामाजिक सञ्जालमा भाइरल भएका बालेन शाह अस्पतालमा उपचाररत देखिने फोटोहरू एआईबाट बनाइएका वा परिमार्जन गरिएका भ्रामक सामग्री हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई सामान्य ट्राभल विकनेस भएकोले अस्पतालमा भर्ना गरिएको छैन।
  • सामाजिक सञ्जालमा भाइरल भएका बालेन शाह अस्पतालमा उपचाररत देखिने फोटोहरू एआईबाट बनाइएका वा परिमार्जन गरिएका भ्रामक सामग्री हुन्।
  • रास्वपाका प्रचार प्रसार विभाग उपप्रमुख महेन्द्र गुप्ताले बालेन अहिले आराम गरिरहेको र अस्पताल भर्ना गरिएको दाबी गलत भएको बताए ।

१० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् प्रतिनिध सभा सदस्य निर्वाचनमा झापा-५ का रास्वपा उम्मेदवार बालेन्द्र शाह (बालेन) बिरामी भएर अस्पताल भर्ना भएको, बालेनलाई भेट्न रवि लामिछानेलगायत व्यक्ति अस्पतालमै पुगेको, भेट्न जानेहरु रोइरहेको जस्ता दृश्यसहितका फोटोहरु सामाजिक सञ्जालमा भाइरल देखिन्छन्। 

तर हाम्रो तथ्य जाँचमा त्यस्ता फोटोहरु एआईबाट बनाएर भ्रामक रुपमा राखिएको पुष्टि भएको छ। बालेनलाई प्रचारप्रसार अभियानका क्रममा सामान्य बिरामी ‘ट्राभल विकनेस’ भएको हो तर दाबी गरिए जस्तो गम्भीर बिरामी भएर उनलाई अस्पताल भर्ना गरेर राखिएको होइन।

के हो दाबी ?

२ लाख ३१ हजार फलोअर्स रहेको लक्ष्मी ज्ञवाली नाम गरेका फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २० मा रास्वपाका वरिष्ठ नेता बालेनको स्वास्थ्य लाभको कामना गर्दै फोटोसहितको पोष्ट राखेका छन्। 

पोष्टमा बालेन शाह अचानक अस्पताल भर्ना भएको दाबी गरिएको छ। बालेन अस्पतालको बेडमा उपचाररत देखिन्छन् भने रास्वपा सभापति रवि लामिछाने जस्ता देखिने व्यक्तिले गलामा माला लगाएको देखिन्छ। उनले बालेनलाई रुन्चे अनुहारमा नमस्कार गरिरहेको देखिन्छ।

बालेन पत्नी सविना काफ्ले जस्ता देखिने युवतीले पनि बालेनको हात समातेर रोइरहेकी छिन्। यो तथ्य जाँच गर्ने समय सम्ममा पोष्टले २३ हजार रियाक्ट पाएको छ भने ७ हजार ५ सय पटक कमेन्ट र ३ सय ९३ सेयर भएको छ ।

पोष्टको ओरिजिनल लिंक यहाँ छ

यो फोटो एआईबाट बनेको हो कि होइन भनेर हामीले गुगलको SynthID मार्फत जाँच गरेर हेर्‍यौँ ।

Synth ID भनेको कुनै फोटो, भिडियो वा अडियो एआईले बनाएको हो कि होइन भनेर चिनाउन प्रयोग हुने डिजिटल पहिचान चिह्न हो, र यो विशेषगरी गुगलले बनाएको एआई सामग्रीमा प्रयोग गरिन्छ।

SynthID ले यो फोटो गुगल एआईमार्फत परिमार्जन एवम् निर्माण गरिएको पुष्टि भयो। फोटो म्यानुअल रुपमा हेर्दा पनि रातो लुगा लगाएकी महिलाले बिरामीको हात समातेको तरिका प्राकृतिक देखिँदैन। एआईले प्रायः हात र औंलाहरूको सूक्ष्म विवरण मिलाउन गाह्रो हुन्छ। 

डाक्टरले स्टेथोस्कोप समातेको तरिका र आईभी (IV) ड्रिपका पाइपहरू शरीरमा जोडिएको अवस्था चिकित्सा विज्ञानको हिसाबले अस्वाभाविक देखिन्छ। फोटोमा रहेका व्यक्तिहरूको भाव र प्रकाशको सन्तुलनमा पनि केही कृत्रिमता महसुस गर्न सकिने गुगलको synthID नतिजाले देखायो ।

हेर्नुहोस् synthID ले दिएको नतिजाको स्क्रिन सट

लक्ष्मी ज्ञवालीले नै बालेनलाई स्वास्थ्य लाभको कामना गर्दै अर्को पोष्ट पनि सार्वजनिक गरेका छन् जहाँ बालेन चस्मा लगाएर अस्पतालको बेडमा सुतिरहेको देखिन्छन् भने अस्पतालको दृश्य पनि अर्कै देखिन्छ। कोट लगाएर र चस्मा लगाएर सुतिरहेका बालेनको एउटा हातमा ब्यान्डेज लगाइएको छ।

पोष्टको ओरिजिनल लिंक यहाँ छ

यो फोटोलाई पनि हामीले गुगल एआईमार्फत बनाइएको वा सम्पादन गरिएको हो कि होइन भनेर जाँच गरेर हेर्‍यौँ। यसको नतिजामा फोटोको अधिकांश भाग गुगल एआईबाट बनाइएको वा परिमार्जन गरिएको देखियो।

फोटोको सूक्ष्म अनुसन्धान गर्दा बिरामीको देखिने हातका औंलाहरू धमिलो छन् र प्राकृतिक देखिँदैनन्। डाक्टरको घाँटीमा रहेको स्टेथोस्कोप र ट्रेमा राखिएका औषधीका बोतलको बनावटमा केही प्राविधिक त्रुटिहरू देखिन्छन्, जुन एआईले बनाउने तस्विरमा प्रायः हुने गर्छ। 

लक्ष्मी ज्ञवाली नाम गरेका फेसबुक प्रयोगकर्ताको बारेमा थप खोज्दा हामीले प्रोफाइल पिक्चरमा नै रवि लामिछानेको फोटो राखेको भेट्टायौँ। उनको प्रोफाइल ट्रान्सपरेन्सी जाँच गर्दा उनले यो फेसबुक प्रोफाइल भारतको लोकेसनबाट चलाइरहेको देखिन्छ ।

हेर्नुहोस् लक्ष्मी ज्ञवालीको फेसबुकको प्रोफाइल ट्रान्सपरेन्सीको स्क्रिनसट

त्यसपछि हामीले फेसबुक प्रयोगकर्ता लक्ष्मी ज्ञवालीले आफ्नो फिडमा कस्ता खालका पोष्टहरु सार्वजनिक गरिरहेका छन् भनेर जाँच गर्‍यौँ। यस क्रममा उनले एक दलको समर्थनमा निरन्तर पोष्टहरु सार्वजनिक गरिरहेको भेट्टायौँ। एआई निर्मित मिथ्या एवम् भ्रामक सामग्रीको प्रयोग यो फेसबुक प्रोफाइलबाट निरन्तर भइरहेको देखिन्छ ।

हेर्नुहोस् लक्ष्मी ज्ञवालीको फेसबुकमा पोष्ट भएका सामग्रीको स्क्रिन रेकर्ड

९५ हजार फलोअर्स रहेको Miss Pabi 41 नाम गरेका फेसबुकले पनि बालेन शहलाई स्वास्थ्य लाभको कामना गर्दै फेब्रुअरी २० मा पोष्ट सार्वजनिक गरेको देखिन्छ। यो पोष्टमा बालेन शाह जस्ता देखिने व्यक्ति कालो टोपी र कालो ज्याकेट लगाएर अस्पतालको बेडमा सुतिरहेको देखिन्छ भने एकजना डाक्टर जस्ता देखिने व्यक्ति उपचारमा संलग्न देखिन्छन्।

बालेनकी श्रीमती सविना काफ्ले जस्ता देखिने महिला र अर्की एकजना महिला रुँदै गरेको देखिन्छ। यो तथ्य जाँच गर्ने समयसम्ममा पोष्टमा ४ हजार ३ सय पटक रियाक्ट भएको छ भने १ हजार ३ सय पटक कमेन्ट र ८९ पटक सेयर भएको छ।

हेर्नुहोस् ‘मिस पबि ४१ ‘ नाम गरेको फेसबुक पेजले गरेको पोष्टको स्क्रिनसट

फेसबुकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यो फोटोलाई पनि हामीले गुगलको synthID मार्फत जाँच गरेर हेर्‍यौँ । यसको नतिजामा फोटोको अधिकांश वा सबै भाग गुगल एआईबाट बनाइएको वा परिमार्जन गरिएको देखियो।

हेर्नुहोस् गुगलको synthID मार्फत जाँच गर्दा प्राप्त नतिजाको स्क्रिन सट

यो फेसबुक पेजको ट्रान्सपरेन्सी चेक गर्दा २०२२ को अगस्ट २६ मा पेज बनेको देखिन्छ। प्रोफाइलमा टिकटक इन्फ्लुएन्सर मिस पबिको फोटो राखिएको छ। पेजका दुई जना एडमिन भारतको लोकेसनमा देखिन्छ।

हेर्नुहोस्  Miss Pabi 41 नाम गरेको फेसबुक पेजको पेज ट्रान्सपरेन्सीको स्क्रिन सट

यो फेसबुक पेजको अवलोकन गर्दा गर्दा भ्रामक एवम् मिथ्या सूचना धेरै देखिन्छन्। एआईबाट निर्मित फोटो प्रयोग गरेर भ्रामक एवम् मिथ्या सूचना निरन्तर पोष्ट भइरहेका छन्। बालेन शाह बिरामी भएको विषयलाई लिएर थुप्रै पटक एआई निर्मित फोटो सार्वजनिक गरेको देखिन्छ ।

 

अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यसैगरी बालेन शाहको स्वास्थ्य लाभको कामना गर्दै एआईबाट निर्मित फोटो प्रयोग गरिरहेका छन् । जहाँ रास्वपाका वरिष्ठ नेता बालेनलाई अस्पतालको बेडमा देख्न सकिन्छ ।

के हो तथ्य ?

बालेन्द्र शाहको स्वास्थ्य अवस्थाबारेको तथ्य जाँचका लागि हामीले उनी बिरामी परेका हुन् कि होइनन् भनेर ‘बालेन शाह बिरामी’ किवर्ड प्रयोग गरेर गुगलमा एड्भान्स सर्च गरेर हेर्‍यौँ। यसको नतिजामा प्रायः मूलधारका अनलाइनहरुले एउटै दाबीसहितको समाचार प्रकाशित गरेको भेटियो। अनलाइनखबर डटकमले बालेनलाई ‘ट्राभल विकनेस’, ३ घण्टा सुर्खेतमा उपचार गराएर फर्किएका थिए काठमाडौं  शीर्षकमा फागुन ८ गते समाचार राखेको छ।

समाचारमा बालेनलाई ट्राभल विकनेस भएको, पेट दुख्ने, कमजोरी महसुस हुने र बान्ता हुने भएपछि बुधबार राति सुर्खेतको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा भर्ना भएको, राति ३ बजे अस्पताल गएका शाहले बिहान ६ बजेसम्म अस्पतालमै बसेर उपचार गराएको, डाक्टरले ट्राभल विकनेस र खानामा व्यालेन्स नभएकाले कमजोरी भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएको, चिकित्सकको सुझावअनुसार शाह बिहीबार सुर्खेतको कार्यक्रम सकेर काठमाडौं आएको दाबी गरिएको छ।

अनलाइनखबरको समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ

यसबारे थप पुष्टि गर्नका लागि हामीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अभियान तथा प्रचार प्रसार विभागका उपप्रमुख महेन्द्र गुप्तालाई सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेक सँग कुरा गर्दै उनले बालेन अहिले आराम गरेर बसिरहेको र दाबी गरिएजस्तो अस्पताल भर्ना गरेर नराखिएको बताए। बालेनलाई ‘ट्राभल विकनेस’ भएकोले काठमाडौं फर्किएको र केही दिनका लागि घरमै आराम गरेर बसिरहेको उनले बताए।

उनको भनाईमा भाइरल भइरहेका फोटो एवम् भिडियोहरु आधिकारिक होइनन्। बालेन शाह अस्पताल भर्ना गरेर राखेको दाबीलाई पुष्टि गर्ने कुनै पनि फोटो आधिकारिक रुपमा सार्वजनिक भएको छैन।

बालेनको स्वास्थ्य अवस्थाबारे हामीले रास्वपाकी सह-प्रवक्ता प्रतिभा रावललाई पनि सोध्यौँ। उनले पनि सामाजिक सञ्जालमा दाबी गरिएजस्तो बालेनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको नभई प्रचारप्रसारका क्रममा ट्राभल विकनेस भएकोले अहिले आराम गरेर बसिरहेको बताइन्।

तथ्य जाँच

दावी : रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई अस्पतालमा भर्ना गरेर  राखिएको देखिने फोटोसहितका पोष्टहरु।

दावीकर्ता : ‘लक्ष्मी ज्ञवाली’ नाम गरेको फेसबुक प्रोफाइल र ‘मिस पबि ४१’ नाम गरेको फेसबुक पेज ।

तथ्य : भ्रामक सूचना । बालेन्द्र शाहलाई सामान्य ‘ट्राभल विकनेस’ भएको हो। उनलाई गम्भीर बिरामी भएर अस्पतालमा भर्ना गरिएको छैन। सामाजिक सञ्जालमा भाइरल भएका अस्पतालका फोटोहरू  एआईबाट बनाइएका वा परिमार्जन गरिएका भ्रामक सामग्री हुन्।

अनलाइनखबर nepalfactcheck.orgको सहकार्य

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?