१३ फागुन, नवलपुर । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू मत माग्दै गाउँ–गाउँ पुगिरहेका छन् । तर विकट पहाडी बस्तीका बासिन्दा भने चुनावी नाराभन्दा दैनिक जीवनका आधारभूत समस्या समाधान नभएकामा बढी चिन्तित छन् । वर्षौंदेखि दोहोरिँदै आएको एउटै प्रश्न अझै जीवित छ- मत दिएर के पायौँ ?
हरेक पटक चुनाव आउँछ, चुनावसँगैको आश्वासनका भकारी पनि गाउँगाउँसम्म पुग्छ । चुनावपछि समस्या उस्तै बाँकी रहन्छन् ।
बौदीकाली गाउँपालिका-२ थोत्रेनीका टोपबहादुर बस्याल चुनावले गाउँका समस्या कहिल्यै दूर गर्न नसकेको बताउँछन् । ‘गाउँमा समस्या नै समस्या छन् । चुनावको बेला नेताहरू सबै गर्छौं भन्छन्,’ उनले भने, ‘तर जितेपछि फर्केर आउने मान्छे देखिँदैन ।’ शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले युवापुस्ता पलायन भएका छन् । ‘कोही पढ्न सहर झरेका छन् । कोही वैदेशिक रोजगारीमा गए । खेतीयोग्य जमिन बाँझै छ,’ बस्यालले भने ।
७० वर्षीया लक्ष्मीदेवी अधिकारीको गुनासो पनि उस्तै छ । ‘राजनीतिलाई समाज सेवा बनाउनु पर्ने हो । यहाँ त पेशा बनाइँयो । नेताको अवस्था फेरियो, हाम्रो उस्तै छ,’ उनले भनिन् । बाटो छ, तर यातायातको सहज पहुँच छैन । बिजुली छ, तर त्यसको गतिलो उपयोग नभएको उनी बताउँछिन् ।
थोत्रेनीकै स्थानीय हेमलाल कँडेल बिजुली र हिँड्न मिल्ने बाटो आए पनि सिँचाइ सुविधा नपुग्दा खेतबारी सबै बाँझो नै रहेको बताउँछन् ।

अर्की स्थानीय सरस्वती श्रेष्ठ भने आधारभूत आवश्यकता नै अझैसम्म परिपूर्ति नभएको गुनासो गर्छिन् । ‘हिउँदका दिनमा धारामा खानेपानी पर्याप्त आउँदैन । सिँचाइको नहर छैन,’ उनले भनिन्, ‘स्वास्थ्य चौकीमा दरबन्दीअनुसार चिकित्सक छैनन् । सामान्य उपचारका लागिसमेत पोखरा वा काठमाडौं पुग्नुपर्छ ।’
वडा सदस्य खनीराज कँडेल गाउँमै आधारभूत आवश्यकता परिपूर्ति नहुँदा बसाइँसर्ने क्रम बढेको बताउँछन् । ‘पालिकाले बसाइँसराइ रोक्न योजना बनाएको र अन्य पालिकाबाट बसाइँसराइ गरेर आउनेलाई २५ हजार दिन् निर्णय पनि गरेको छ । तर, बसाइँसर्ने क्रम रोकिएको छैन,’ कँडेलले भने ।
यहाँबाट कावासोती, दलदलेलगायत बजार क्षेत्रमा बसाइँसर्ने क्रम तीव्र छ । गाउँमा मानिस नै कम भएपछि गाउँ रित्तिँदै गएको छ । ‘गाउँमा मान्छे कम भएपछि बाँदर आतंक बढ्नथाल्यो । केही बालीनाली लगाइहालौँ भनेपनि बाँदरलाई नै नपुग्ने भयो,’ स्थानीय पदम कार्कीले दुखेसो पोखे ।
बाढी पीडित सधैँ आश्वासनमै डुबिरहे
मध्यविन्दु नगरपालिका-२ बोटे माझी टोलका बासिन्दा २०५८ सालको नारायणी नदीको बाढीबाट विस्थापित भएका परिवार हुन् । ‘पहिले नदीले विस्थापित गरायो, अहिले बस्दै आएको जग्गाको पूर्जा छैन,’ ६३ वर्षीया केशरीकुमारी राना मगर भन्छिन्, ‘नेताले लालपूर्जा दिन्छौँ भन्छन् । तर अहिलेसम्म पाएको छैन ।’
२०५८ मा नारायणी नदीमा आएको बाढीका कारण साविक गारायणी गाविस ३ र ४ तथा कोल्हुवा गाविस–६ (नन्दपुर) का २३८ घरधुरी विस्थापित भएका थिए । नदीले बस्ती र खेतीयोग्य जमिन कटान गरेपछि अहिलेको बाटे माझी टोलमा राखिएको हो । ‘जग्गा धनी पूर्जा साथमा नहुँदा अब फेरि पनि उठिबास लाग्ने हो कि भन्ने डर छ,’ स्थानीय नारायण बोटे भन्छन् ।
विनयी त्रिवेणी गाउँपालिका-१ बगुवन गाउँका बासिन्दाले २३ वर्षदेखि डुबानको समस्या झेलिरहेका छन् । वर्षा सुरु भएसँगै यहाँका स्थानीय रातभर जाग्राम बस्ने गर्छन् । ‘डुबान रोक्ने आशा त हराइसक्यो, कम्तीमा दुम्किबास निस्कने बाटो सजिलो बनाइदिए हुन्थ्यो । हामी त बाढीमा मात्रै होइन, आश्वासनमै पनि डुबिरह्यौँ,’ सीता सोमै मगरले भनिन् ।
नारायणी नदी र विनयी खोलाले घेरेको बगुवन बस्तीमा २०७ घरपरिवार बसोबास गर्छन् । विनयी खोलामा पक्की पुल छैन्, कच्ची सडक बर्सेनि बगाउँछ । बाढीले किसानको उत्पादनपनि सधैँ बगाइराख्छ ।
गाउँमा एउटा लक्ष्मी आधारभूत विद्यालय छ । विद्यार्थीले उच्च माध्यमिक तहको शिक्षा लिन दुम्किवास वा अरुणखोलासम्म पुग्नुपर्छ । भएको लक्ष्मी आधारभूत विद्यालयमा पनि बर्सेनिको बाढीले क्षति पुर्याइराख्ने प्रधानाध्यापक खुरबहादुर खत्री बताउँछन् ।
डुबान रोक्ने आशा त हराइसक्यो, कम्तीमा दुम्किबास निस्कने बाटो सजिलो बनाइदिए हुन्थ्यो । हामी त बाढीमा मात्रै होइन, आश्वासनमै पनि डुबिरह्यौँ
-सीता सोमै मगर
विगतमा विद्यार्थीहरूलाई खोलाले बगाउने, जंगली जनावरको जोखिम र लामो दूरी पार गरेर पढ्न जानुपर्ने अवस्था थियो । अहिले गाउँमा केही पूर्वाधार बनेका छन् । ‘घरअगाडि पिच सडक छ । विद्युत् पुगेको छ । तर यी सुविधाले मात्रै जनजीविकामा सुधार ल्याउन नसकेको स्थानीयको गुनासो छ । ‘सडक र बिजुली त पुग्यो । अब हाम्रो समस्या डुबान र वन्यजन्तुको आक्रमण प्रमुख छ,’ स्थानीय मोतीसरा लोहनी भन्छिन् ।
चुनावका बेला उम्मेदवारहरूले सडक, सिँचाइ, स्वास्थ्य, शिक्षा र रोजगारीसहित सुकमवासीलाई लालपूर्जाको लोभ देखाएर भोट माग्छन् । गाउँका समस्या सबैजसो नेतालाई थाहा भएरै त्यस्ता आश्वासन आउने चेतबहादुर थारु बताउँछन् । ‘समस्या सबैलाई थाहा छ, तर समाधान गर्ने इच्छाशक्ति देखिएन,’ उनले भने ।

नवलपरासी(पूर्व)-२ मा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका थिए । कार्कीले ३६ हजार १३२ मत ल्याएर जित निकाल्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले दुई हजार २२ मत कम पाएका थिए । त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शालिकराम न्यौपानेले ६ हजार ४९९ मत ल्याएका थिए ।
२०७४ मा भने एमालेका महतले कांग्रेसका कार्कीलाई एक हजार ३३३ मतान्तरले पराजित गरेका थिए ।
यसपटक मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीचमै देखिएको छ । अहिले कांग्रेसले यहाँ ओमबहादुर घर्ती मगर, एमालेले अघिल्लो पटक पराजित महत र रास्वपाले मनिष खनाल, नेपाली कम्युनिस्ट पार्टीले गणेशमान महतोलाई उम्मेदवार बनाएको छ ।
४० वडा रहेको नवलपरासी(पूर्व)-२ मा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले २२ र कांग्रेसले १६ वडा जितेको थियो । राप्रपा, नेकपा माओवादी केन्द्रले एक–एक वडा जितेका थिए ।
यहाँ अहिले कुल एक लाख ३१ हजार ४४५ मतदाता छन् । यस क्षेत्रमा ५६ मतदानस्थलमा १५४ मतदान केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया 4