+
+
Shares
निर्वाचन तयारी :

सुरक्षा ब्रिफिङ- २७५ बम डिस्पोजल टोली, आवश्यक परे ३० मिनेटमै टोली थपिने

मौन अवधिमा हुनसक्ने मिसइन्फरमेशन रोक्न के–के हुँदैछ काम ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १७:१८

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग मंगलबार ब्रिफिङ लिइन् ।

मंगलबार साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी थिइन् । सो क्रममा सुरक्षा निकायहरुले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

अहिलेसम्म कुनै त्यस्तो ठूलो सुरक्षा चुनौती नरहेको सुरक्षा निकायबाट ब्रिफिङ आएको बालुवाटार स्रोत बताउँछ । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ पनि सहभागी थिए ।

ब्रिफिङ सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएकी थिइन् ।

नेपाली सेनाले देशभर २७५ ठाउँ बम डिस्पोजल टोली रहने, स्टयाडबाई हेलिकप्टर राख्नेदेखि मतदान सामग्रीको ढुवानीबारे जानकारी गराएको थियो । अहिलेसम्म सेनाले १३ ठाउँ शंकास्पद वस्तुहरू डिस्पोज गरेको बताएको छ ।

अहिलेको मुख्य चुनौतीको रुपमा सामाजिक सञ्जाफको अफवाहलाई लिइएको सुरक्षा निकायको ब्रिफिङ थियो । ‘मिसइन्फरमेशन, डिसइन्फरमेशन’ जस्ता विषयहरू चुनौतीपूर्ण रहेको र मौन अवधिको पूर्वसन्धयामा यो झनै बढ्न सक्नेबारे घनिभूत छलफल भयो,’ स्रोतले बताएको छ ।

सुरक्षा निकायका एक अधिकारीले यसबारे थप ब्रिफिङ गर्दै थिए । प्रधानमन्त्री कार्कीले आफ्नै विषयमा एउटा प्रसंग सुनाइन् ।

‘मैले त कतिपटक अफ्नै राजीनामाबारे पढ्नुपरेको छ । कतिले मैले राजीनामा दिइसकेको भनेर पनि लेख्दारहेछन् (हाँस्दै),’ प्रधानमन्त्री कार्कीले भनिन् ।

यस्ता गलत सूचनाहरू फैलन थालेकोमा थप सजग रहन प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

अहिले सुरक्षा फौज सबैभन्दा बढी परिचालन गरिएको र आवश्यक परेमा थप टोली पनि त्यही अनुसार राखिएको सुरक्षा निकायको ब्रिफिछङ थियो ।

‘थप मद्दत चाहिए ३० मिनेटभित्र पुग्नेगरी व्यवस्थापन गरिएको छ । फेरि थप चाहिए ९० मिनेटभित्र आइपुग्छ,’ सुरक्षा निकायले प्रधानमन्त्रीलाई तयारीबारे जानकारी गराउँदै भनेका छन् ।

हरेक दिन गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र त्यसले हरेक दिनको समीक्षा गर्नेगरी प्रबन्ध मिलाइएको उनीहरूले बताएका छन् ।

हरेक प्रदशेमा एक एआईजी, गृह मन्त्रालयबाट पनि हरेक प्रदेशमा एक सहसचिवले हेर्नेगरी व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्रीलाई गराइएको थियो ।

शंकास्पद तरिकाले धेरै मत खसेका ठाउँहरुमा विशेष निगरानी र त्यस्ता ठाउँहरुमा यसअघि खटिएका कर्मचारीलाई नखटाइने बताइएको छ । कर्मचारीले गडबढ गरेमा कारबाहीसम्म गर्नेगरी तयारी गरिएको बताइएको छ ।

सम्भावित झडपलाई रोक्न हरेक उम्मेदवारका एक जना प्रतिनिधिसँग जिल्ला सुरक्षा समितिको कनेक्सन गराउने र फरक पार्टीका उम्मेदवारहरूबीच भेट नहुने घरदैलो कार्यक्रमको रुट बनाउन लगाएर काम भएको पनि सुरक्षा निकायले ब्रिफिङ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?