+
+
Shares
टिप्पणी :

पुराना मूर्तिहरू फुट्दा निस्किएको घन्टीको आवाज

नेपाली समाजले दशकौंसम्म केही नेताहरूलाई ‘मुक्तिदाता’ को रूपमा पुज्यो, तर जब ती ‘भगवान’हरूले भक्तको भरोसाको व्यापार गर्न थाले; तब ती मूर्तिहरू फुट्नु अनिवार्य भयो। अहिलेको उथलपुथल केवल सत्ताको प्रतिस्थापन होइन; यो नेपाली मानसपटलमा रहेका पुराना मूर्तिहरू फुट्दा निस्किएको आवाज हो।

शोभिता सिंखडा शोभिता सिंखडा
२०८२ फागुन २८ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पुराना शक्ति-देवताहरू ढल्दैछन् र नयाँ मूर्तिहरूको प्राणप्रतिष्ठा अझै बाँकी छ, जसले समाजमा मनोवैज्ञानिक क्रान्ति संकेत गर्दछ।
  • नेपाली मतदाताले दशकौंसम्मको अन्धभक्ति तोड्दै नयाँ चेतनाको बाटोमा पाइला चालिरहेका छन् र यो परिवर्तन एक आध्यात्मिक विद्रोह हो।
  • नयाँ नेतृत्वले जनमतलाई पुरस्कार होइन, 'अन्तिम सम्झौता' ठानेर सात्विक कर्म र नतिजा देखाउनुपर्ने 'अग्निपरीक्षा' मा उभिएका छन्।

पुराना शक्ति-देवताहरू ढल्दैछन्, नयाँ मूर्तिहरूको प्राणप्रतिष्ठा अझै बाँकी छ। हामी त्यही ऐतिहासिक मोडमा उभिएका छौं, जहाँ नेपालमा केवल निर्वाचनको अंकगणित वा अनुहारहरूको फेरबदल मात्र होइन, समाजको मनोवैज्ञानिक क्रान्ति भइरहेको छ।

बाहिरबाट हेर्दा परिवर्तन सामान्य लाग्न सक्छ, तर अलि गहिरो दृष्टिले हेर्ने हो भने, यो दशकौंदेखि हराएको आफ्नो अस्तित्व खोज्दै आएको जनता, आफ्नो भय र अन्धभक्तिको भित्तो भत्काउँदै नयाँ चेतनाको बाटोमा पाइला चालिरहेको क्षण हो।

वर्षौंदेखि नेपाली मतदाता एउटा अनौठो ‘स्टकहोम सिन्ड्रोम’ मा थिए, जसले दुःख दियो; जसले सपना बेच्यो र जसले पटक-पटक धोका दियो, उसैलाई प्रेम र मतदान गर्नुपर्ने मनोवैज्ञानिक विवशता।

तर यसपटक, नेपाली मनोविज्ञानले त्यो साङ्लो चुँडालेको छ। यो ‘पीडक’ सँगको भावनात्मक सम्बन्ध तोडेर आफ्नो स्वत्व खोज्ने एउटा आध्यात्मिक विद्रोह हो। मतपत्रमा केवल छाप मात्र होइन, जनता आफ्नो भय विसर्जन गरी अभय प्राप्त गरिरहेका छन्।

अध्यात्ममा मानिन्छ कि परमात्माले जब पुरानो संरचना भत्काउनुहुन्छ, उहाँले कुनै बाहिरी हतियार चलाउनुहुन्न, मानिसको ‘अहङ्कार’ नै उसको ‘पतन’ को कारण बन्छ। नेपाली समाजले दशकौंसम्म केही नेताहरूलाई ‘मुक्तिदाता’ को रूपमा पुज्यो, तर जब ती ‘भगवान’हरूले भक्तको भरोसाको व्यापार गर्न थाले, तब ती मूर्तिहरू फुट्नु अनिवार्य भयो। अहिलेको उथलपुथल केवल सत्ताको प्रतिस्थापन होइन; यो नेपाली मानसपटलमा रहेका पुराना मूर्तिहरू फुट्दा निस्किएको आवाज हो। यो कुनै पार्टीको हार मात्र होइन! यो नेपाली जनताको अन्धभक्तिको अन्त्य हो।
मन्दिरमा घन्टी किन बजाइन्छ? ताकि हाम्रो मनको भटकन रोकियोस् र हामी वर्तमानमा फर्कौं। यदि हामी राष्ट्रको ऊर्जालाई शरीरका सात चक्रहरूसँग तुलना गर्ने हो भने, नेपाल अहिले ‘मूलाधार’ देखि ‘विशुद्धि’ चक्रमा सर्दैछ। वर्षौंसम्म हामी केवल ‘गाँस, वास, कपास’ को डरमा बाँच्यौं। तर अहिलेको यो नाद वास्तवमा मानिसहरूको कण्ठ र चेतना खुलेको संकेत हो। जस्तै घन्टीले वायुमण्डलका कीटाणु मारे झैं, यसले राजनीतिमा वर्षौं जमेको भय र भ्रमको प्रदूषण सफा गरिरहेको छ।

अध्यात्मको कसीमा हेर्ने हो भने, जब लाखौं मानिसको हृदयबाट एउटै खालको तड्पन र पुकार निस्कन्छ, त्यो एउटा शक्तिशाली ‘सामूहिक प्रार्थना’ बन्न पुग्छ। यो त जब एउटा सिंगो समाजले आफ्नो अस्तित्व र न्यायका लागि भित्री मनदेखि ‘अब अति भयो’ भन्दै ब्रह्माण्डसँग गुहार माग्छ, तब सिर्जना हुने महा-ऊर्जा हो।

विगतका वर्षमा नेपालीले देशको अवस्था देखेर जुन ‘गाली’ गरिरहेका थिए, त्यो वास्तवमा उनीहरूको हृदयको ‘आर्तनाद’ थियो। परदेशको तातो मरुभूमिमा पसिना बगाउँदै गर्दा होस् वा आफ्नै माटोमा भविष्य नदेखेर छट्पटाउँदा, नेपालीका आँखाबाट झरेका ती आँसु नै आजको यो ‘लहर’ को वास्तविक इन्धन हुन्। यो परिवर्तन हजारौं नेपालीको त्यही मौन तर निष्कपट सामूहिक प्रार्थनाको ईश्वरीय सुनुवाइ हो।

धेरैलाई लाग्छ, नयाँ आउनेहरू ‘शून्य’ छन्। तर बिर्सनुहुँदैन, शून्य नै सबै सृष्टिको महा-जननी हो, जहाँबाट अस्तित्वको आरम्भ हुन्छ। पुरानाहरूको भनिएको ‘अनुभव’ वास्तवमा अहङ्कार, भ्रष्टाचार र कुटिलताको एउटा यस्तो बाक्लो लेपन थियो, जसले नयाँपनलाई छिर्नै मुस्किल बनायो। त्यो पहिल्यै भरिएको र फोहोर भइसकेको भाँडोमा नयाँ विचारको अमृत अटाउने कुनै ठाउँ नै बाँकी थिएन।

त्यसैले, आजको समयमा ‘शून्य’ हुनु नै सबैभन्दा ठूलो योग्यता र सम्भावना बनेको छ। नेपाल अहिले त्यही ‘शून्यता’ को ऐतिहासिक सन्धिमा उभिएको छ, जहाँ हिजोको भ्रम टुटेको छ र भोलिको स्पष्ट चित्र कोरिन बाँकी छ। अब हामीलाई चाणक्यको कुटिलता होइन, बुद्धको सरलता र करुणाको आवश्यकता छ।

शक्ति आफैंमा भ्रष्ट हुँदैन, यसले त केवल मानिसभित्र लुकेर बसेको असली चरित्रलाई सतहमा ल्याइदिने ऐनाको काम मात्र गर्छ। नयाँ बन्ने सरकारका लागि यो क्षण केवल सत्ताको आरोहण होइन, एउटा कठोर ‘अग्निपरीक्षा’ हो। नयाँ नेतृत्वले यो बुझ्न जरूरी छ कि उनीहरूलाई प्राप्त यो जनमत कुनै ‘पुरस्कार’ होइन, यो त जनताले आफ्नो चरम निराशा र झिनो आशाको बीचमा गरेको एउटा ‘अन्तिम सम्झौता’ हो।

यदि नयाँ शक्तिमा पनि ‘मैले जितें’ भन्ने अहङ्कार पलायो भने, उनीहरूको पतन अझै तीव्र र दर्दनाक हुनेछ। आजको सचेत नागरिकले ‘स्मार्ट’ भाषण होइन, ‘सात्विक’ कर्म र नतिजा खोजेका छन्। यो जनमत केवल समर्थन मात्र होइन, यो त एउटा ठूलो ऋण हो, जुन ‘डेलिभरी’ मार्फत चुक्ता गर्नैपर्छ।

आजको यो परिवर्तनमा देखिएका नयाँ अनुहारहरू त केवल ‘साधन’ मात्र हुन्, अन्तिम ‘साध्य’ होइनन्। वास्तविक साध्य त हाम्रो आफ्नै ‘सचेत नागरिक हुनु’ को बोध हो। यदि हामीले पात्र मात्र फेर्‍यौं र आफ्नो प्रवृत्ति फेरेनौं भने, केही समयपछि फेरि अर्को नयाँ ‘नारा’ खोज्नुपर्ने नियति दोहोरिनेछ। प्रशंसाले अहंकार जन्माउँछ र अहंकारले अन्धकार। त्यसैले, यो समय ‘व्यक्ति’ को पूजा गर्ने समय होइन, बरु उसले बोकेको ‘विधि र विचार’ लाई निरन्तर कसीमा घोट्ने समय हो। हाम्रो मुक्ति कुनै बाहिरी नायकमा होइन, हाम्रै निरन्तरको विवेक र प्रश्न सोध्ने साहसभित्र सुरक्षित छ।

अहिले नेपालको हावामा केवल राजनीतिक फेरबदल मात्र होइन, एउटा गहिरो ‘रूपान्तरण’ को सुगन्ध छ। यो ऐतिहासिक समयलाई अङ्कगणितमा मात्र सीमित नगरौं। यो त नेपालको ‘आत्मा’ ले आफ्नो पुरानो र जीर्ण वस्त्र त्यागेर नयाँ शरीर खोज्दै गरेको एउटा दिव्य क्षण हो। यो परिवर्तनको ध्वनि कसैको विजयको उन्मत्त शंखनाद मात्र होइन, यो त हामी प्रत्येक नेपालीभित्र दशकौंदेखि सुतिरहेको ‘स्वाभिमान’ ब्युँझिएको प्रमाण हो। वास्तविक संगीत अब नेपालीको धड्कनमा बज्न शुरु भएको छ। नेपालको यो नयाँ युगको यात्रा केवल आवेगमा होइन, विवेकमा आधारित रहोस्; यो यात्रा सुखद् र सदैव सचेत रहोस्।

जय होस्, चेतनाको जय होस्!

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?