+
+
Shares

कम्युनिस्ट फैलाउने किल्लामा हर्कवादको कब्जा

२०७९ को स्थानीय चुनावमै हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा धरानको लालकिल्लामा धावा बोलिसकेका थिए । अहिले त पूरै किल्ला ध्वस्त बनाइदिए ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८२ फागुन २८ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीले ७६ वर्षपछि सुनसरी–१ मा प्रतिनिधिसभा निर्वाचनमा जमानत समेत जोगाउन सकेन।
  • २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिस्ट पार्टीको वैचारिक विस्तार धरानबाट भएको थियो र धरानलाई 'लाल किल्ला' भनिन्थ्यो।
  • २०७९ को स्थानीय चुनावपछि धरानको कम्युनिस्ट किल्ला भत्किएर श्रम संस्कृति पार्टीले नयाँ राजनीतिक प्रभाव जमाएको छ।

२८ फागुन, सुनसरी । बीउ अन्तै रोपिए पनि कम्युनिस्टलाई नेपालभर फैलाउने काम धरान अर्थात् सुनसरी–१ बाटै सुरु भएको थियो । ‘लाल किल्ला’ भनेर चिनिएको धरानमा यसपटक भने कम्युनिस्टहरूले नराम्रो क्षति बेहोरेका छन् ।

सुनसरी–१ मा एकछत्र राज गर्दै आएको नेकपा एमालेले ७६ वर्षपछि जमानत समेत जोगाउन सकेन । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ मा कूल ८७ हजार ४७१ मत खसेको थियो । जसमध्ये एमालेका उम्मेदवारले ६ हजार ४६३ मत मात्र पाए । अर्थात् एमालेले सदर मतको १० प्रतिशत पनि कटाउन सकेन ।

धरानले मलजल गरेर फैलाएको कम्युनिस्ट

२००६ साल वैैशाख ९ गते भारतको कोलकातास्थित श्याम बजारमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापनाको मुख्य उद्देश्य निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्दै सामन्तवादको उन्मूलन र वैदेशिक हस्तक्षेपविरुद्ध लड्नु थियो ।

भारतमा पार्टी स्थापना भए पनि नेपालमा वैचारिक र सांगठानिक रूपमा विस्तार गर्ने वातावरण पहिलो पटक धरानबाटै भएको थियो । त्यो पनि कोलकातामा पार्टी घोषणा लगत्तै ।

अर्थात्, कम्युनिस्टको बीउ कोलकत्ताको श्याम बजारमा रोपियो, मलजल गरेर नेपालभरि फैलाउने काम धरानले गर्‍यो । धरानबाट झ्याङ्गिएको कम्युनिस्टले धेरै नेता, सांसद, मन्त्री र प्रधानमन्त्री उत्पादन गर्‍यो । साथसाथै, अनेक टुक्रामा विभाजित पनि भयो ।

इतिहास सम्झँदै स्थानीय बुद्धिजीवी डा. शर्मा राजेन्द्र भन्छन्, ‘२००६ सालमा कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको घोषणा भएलगत्तै धरानको पत्रङ्बारीमा भूमिगत कमिटी नै गठन भयो, राम ताम्राकार र देव ताम्राकारको सक्रियतामा । त्यसमा थपिएका थिए केदारनाथ खड्का, डीपी अधिकारी अनि बीए कृष्ण (कृष्णप्रसाद श्रेष्ठ, धरानमा पहिलो बीए गर्ने) । उनीहरूले बनाएको सांगठानिक संरचनाको आधारमा पछि अन्यत्र कम्युनिस्ट फैलिएको हो, झाङ्गिएको हो ।’

धरानबाट कम्युनिस्ट फैलिनुका पछाडि २००७ को क्रान्तिको दशकमा मजदुर आन्दोलन पनि जोडियो । ब्रिटिस घोपा क्याम्पमा कार्यरत मजदुरहरूले त्यसलाई मलजल गरे ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको १० वर्षपछि २०१६ सालमा भएको पहिलो आम निर्वाचनमा क्षेत्र नम्बर ३३ बाट दिव्यराज आचार्य कम्युनिस्ट उम्मेदवारको रूपमा उठेका थिए । तर उनी १२९ मतले पराजित भए । त्यसबेला धरान क्षेत्रलाई निर्वाचन क्षेत्र नम्बर ३३ भनिन्थ्यो ।

राजा महेन्द्र शक्तिशाली हुँदाहुँदै कम्युनिस्ट पार्टीबाट आचार्यले उम्मेदवारी दिएर वामपन्थी विचार र धारको राजनीतिक बिजारोपण धरानबाट भएको थियो । जुन त्यतिबेला चर्चाको विषय बनेको थियो ।

पञ्चायती व्यवस्थाले प्रतिबन्ध लगाएपछि कम्युनिस्टहरू भूमिगत भए । त्यो भूमिगत सेल्टर पनि धरान नै बनेको थियो, कम्युनिस्ट पार्टीका अन्य केन्द्रीय तहका नेताहरूका लागि । भूमिगत कम्युनिस्टले धरानलाई सेल्टर बनाउँदा बनाउँदै ‘लाल किल्ला’ को रूपमा विकसित भएको थियो ।

भूमिगत लालकिल्ला अर्थात् धरानलाई प्रतिबन्धको समयमा पनि वामपन्थीको अखडा बनाएर कम्युनिस्ट राजनीतिको मुख्य केन्द्र बनाएर बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूले लुकिछिपी संगठन विस्तार गरेर मलजल गरिरहे ।

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र केशरजंग रायमाझीले धरानलाई सबैभन्दा सुरक्षित सेल्टरको रूपमा प्रयोग गर्दै कम्युनिस्ट फैलाए । पछि रायमाझी राजावादी भए । पुष्पलाल र मनमोहनले पनि पछिसम्म धरानलाई केन्द्र बनाएर राजनीतिक गतिविधि जारी राखे ।

त्यसको गुनस्वरूप २०४८ सालको आम निर्वाचनमा धरानले अत्यधिक भोट दिएर मनमोहनलाई जिताउँदै प्रधानमन्त्री बनायो । र, त्यसपछिका सबै चुनावमा एमाले उम्मेदवारलाई जिताउँदै आएपछि धरानले औपचारिक रूपमा नेपालकै ‘अभेद्य लालकिल्ला’ को पहिचान बनायो ।

२०१६ फागुन ७ देखि १६ वैशाखसम्म चलेको पहिलो आम निर्वाचनपछि राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गर्दा बीपी कोइरालादेखि मनमोहन अधिकारीलगायत धेरै नेताहरू जेल परे । त्यसबेला मनमोहन अधिकारीले जेल भित्रैबाट धरान नगरपालिकाका पहिलो निर्वाचित मेयर यज्ञप्रसाद आचार्यलाई सरकारसँग वार्ता गरेर कार्यकर्ता रिहा गर्ने जिम्मेवारी दिएका थिए ।

आचार्य २०१४ सालमा धरानमा भएको स्थानीय निर्वाचनमा पहिलो कम्युनिस्ट मेयरको रूपमा उदाएका थिए । त्यसैले लालकिल्लाको जग हाल्ने पहिलो व्यक्ति पनि आचार्य नै थिए । र, नगरपालिका,  उपमहानगरपालिका र महानगरपालिकाका निर्वाचित प्रमुखलाई गरिने ‘मेयर’ सम्बोधन पनि मुलुकमै पहिलो पटक धरानबाटै सुरु भएको थियो । ती मेयर पनि आचार्य नै थिए ।

यसरी बनेको कम्युनिस्टको लालकिल्ला २०४८ को आम निर्वाचनमा मनमोहन अधिकारीले जितेपछि अन्य कम्युनिस्ट उम्मेदवारहरूले पनि कायमै राखे । अधिकारीले काठमाडौं र धरान (सुनसरी क्षेत्र नम्बर १) दुवैमा उम्मेदवारी दिएर जितेपछि धरान निर्वाचन क्षेत्र छाडेका थिए ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचन जितेर लीला श्रेष्ठ मेन्याङ्बो सुब्बा पहिलो महिला उपसभामुख बनिन् । २०५६ को निर्वाचनमा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राईले एमालेको किल्ला जोगाइराखे ।

२०६४ को चुनावमा एमालेका उम्मेदवार मनोजकुमार मेन्याङ्बोलाई पराजित गरी तत्कालीन नेकपा माओवादी उम्मेदवार किरणकुमार राईले जित्दा पनि राजनीतिक विचारधाराअनुसार धरानमा कम्युनिस्ट किल्ला कायमै रहेको थियो ।

भत्केको लालकिला, छाड्दै लालमत

धरानका मेयर तारा सुब्बाको निधनपछि २०७६ मा उपनिर्वाचन भयो । त्यो निर्वाचनमा जब नेपाली कांग्रेसका तिलक राईले मेयर जिते, कम्युनिस्ट उत्पादन गर्ने किल्लाको एउटा पर्खाल भत्कियो ।

२०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राईले त लालकिल्ला भत्काएनन् मात्र धुलिसातै बनाइदिए । अहिले आएर प्रतिनिधिसभाको निर्वाचनमा श्रम संस्कृति पार्टीका तिनै हर्कराजले धरानको शहरी क्षेत्रभन्दा बाहिर (बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका केही भाग) रहेर लालकिल्लालाई धानिराखेका पर्खाल र भित्ता पनि ध्वस्त बनाए । र, ‘श्रम संस्कृतिको किल्ला’ निर्माण गर्न सफल भए ।

१ लाख ५० हजार मतदाता रहेको सुनसरी क्षेत्र नम्बर १ मा एमालेको ‘लालमत’ ६ हजार ४६३ मात्र रहेको छ । यो लालमतमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले पाएकोको मत ६ हजार १५३ जोड्दा पनि १२ हजार ५०० जति मात्र बाँकी रहन्छ ।

भत्किएको लालकिल्ला र लालमतको अंक खुम्चिएको बारेमा बुद्धिजीवी डा. राजेन्द्र शर्मा भन्छन्, ‘धरानको सवालमा अहिलेका कम्युनिस्टहरू कोरोना भाइरस जस्तै ‘म्युटान्ट’ (आनुवांशिक रूपमा परिवर्तन भएको जीव) कम्युनिस्ट भएकाले लालकिल्लामा धमिरा लागेर भत्किएसँगै लालमत पनि परिवर्तन हुँदा हर्कवाद र श्रम संस्कृति पार्टी उदाएको हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?