३० फागुन, काठमाडौं । पशुपतिनाथको प्रचार-प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उद्देश्यका साथ काठमाडौंमा वृहत् पाशुपत पदयात्रा हुने भएको छ । तनहुँको देवघाटमा रहेको महेश–संन्यास आश्रमले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत्र १५ देखि ४० दिने राष्ट्रव्यापी वृहत् पाशुपत परिक्रमा गर्ने जनाएको छ ।
वृहत् पाशुपत परिक्रमाका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरिने आयोजक संस्थाले जनाएको छ । चैत १५ गते पशुपति शङ्कराचार्य मठमा समुद्घाटन, पशुपति पूजन तथा बागमती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने महेश–सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले जानकारी दिए ।
पदयात्राका क्रममा दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, जनकपुर लगायतका क्षेत्रमा रहेका सिद्ध लिङ्गको दर्शनसहित पैदल यात्रा गरिने गिरीले बताए ।
पदयात्रामा नेपाल, भारत र बर्माका साधु सन्त, धर्माचार्य तथा श्रद्धालुहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4