News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ।
- चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप छ र अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीसहित परिवारलाई प्रतिवादी बनाएको छ।
- उनी गोकर्णेश्वर नगरपालिकाका मेयर र संसद् अर्थ समितिका निवर्तमान सभापति हुन् र अख्तियारले झुट्टा सम्पत्ति विवरण पेश गरेको आरोप लगाएको छ।
२ चैत, काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो । अख्तियारमा र विशेष अदालतमा आरोपका बारेमा इन्कारी बयान गरेको भन्दै विशेष अदालतले उनीसँग धरौटी मागेको हो ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो । । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।
आठ करोड ५६ लाख रुपैंयाको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैंया मात्रै बैध रुपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । अख्तियारको दाबी अनुसार, उनले ३ करोड ६८ लाख रुपैंया गैरकानुनी आर्जन गरेका थिए, अख्तियारले त्यसैलाई बिगो कायम गरेको थियो ।
अख्तियारले सन्तोषसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
उनी जेठ, २०७४ देखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।
अख्तियारले उनीमाथि सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी लुकाईछिपाई झुट्टा विवरण पेस गरेको आरोप लगाएको थियो ।
प्रतिक्रिया 4