+

जय ट्रफीको दायरा बढाउन आवश्यक, कस्तो छ क्यानको तयारी ?

२०८२ चैत  ६ गते १७:४९ २०८२ चैत ६ गते १७:४९

चारवटा मात्र टिम, त्यसमा पनि २ दिनको मात्र खेल हुने हुँदा यो प्रतियोगिता मात्रैले नेपालको टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्यमा सानो झिल्को मात्र दिएको छ ।

जय ट्रफीको दायरा बढाउन आवश्यक, कस्तो छ क्यानको तयारी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफीमा नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको छ।
  • नेपाल क्रिकेट संघले आगामी संस्करणमा जय ट्रफीको दायरा बढाउने र थप टिमहरू समावेश गर्ने योजना बनाएको छ।
  • क्यान सचिव पारस खड्काले रेड बल फर्म्याटलाई प्राथमिकतामा राखेर टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्यमा काम भइरहेको बताएका छन्।

६ चैत, काठमाडौं । नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी बिहीबार सम्पन्न भएको छ । पीएम कपका शीर्ष ४ टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि रक्षा गर्न सफल भयो ।

जय ट्रफीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अधिकांश खेलाडीहरूले पनि खेले । विशेषगरी लामो फर्म्याटको क्रिकेटका लागि अर्थपूर्ण रूपले हेरिएको जय ट्रफीमा लिएको अनुभवले खेलाडीले एकदिवसीय र बहुदिवसीय क्रिकेटमा राम्रो खेल्न सक्ने क्षमता विकास गर्न सक्छन् ।

अर्कोतर्फ जय ट्रफीको दायरा बढाएर सहभागी टिमहरू थपिनुपर्ने र जय ट्रफीजस्ता बहुदिवसीय प्रतियोगिता आगामी दिनमा अझै धेरै संख्यामा (कम्तीमा दुईदेखि तीनवटा) आयोजना हुनुपर्ने कुराहरू पनि उठ्दै आएको छ ।

बहुदिवसीय क्रिकेटले खेलाडीको सीप विकासमा मद्दत पुग्नुका साथै लामो फर्म्याटमा अभ्यस्त बन्न समेत सहयोग पुग्ने खेलाडी तथा खेल विश्लेषकहरूको धारणा रहँदै आएको छ ।

त्यसैगरी दुई दिनको मात्रै नभएर समग्र प्रतियोगिता नै तीनदिवसीय हुनुपर्ने कुराहरू पनि खेलाडीले उठाउँदै आएका छन् ।

अब केही दिनमा अर्को घरेलु प्रतियोगिता प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत सुरु हुँदै छ । ओडिआई फर्म्याटको उक्त प्रतियोगिताले आउँदै गरेको आईसीसी विश्व क्रिकेट लिग २ का लागि पनि सहयोग पुग्नेछ ।

तर नेपालमा आयोजना हुने पीएम कप र जय ट्रफीजस्ता प्रतियोगिताको दायरा बढ्नुका साथै प्रतियोगिताको संख्यामा वृद्धि भएमा नेपाली क्रिकेटको दिगो विकासमा ठुलो टेवा पुग्ने देखिन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा पीएम कपपछि लामो फर्म्याटका कुनै पनि मुख्य प्रतियोगिता समावेश छैन ।

टी-२० फर्म्याटमा बढी केन्द्रित रहँदा ओडिआईमा लय समात्‍न नसकेको नेपाली टोलीका लागि भविष्यमा टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य प्राप्तिका लागि सीमित घरेलु प्रतियोगिताले भने अवश्य पुग्ने छैन ।

टेस्ट मान्यता प्राप्त गर्ने आधार जय ट्रफी मात्रै हो ?

जय ट्रफी हाल नेपालको एकमात्र बहुदिवसीय प्रतियोगिता हो । चार टिम सहभागी भएर दुईदिवसीय फर्म्याटमा हुने उक्त प्रतियोगितामा हाल फाइनल मात्र तीन दिनको हुने गरेको छ ।

चारवटा मात्र टिम, त्यसमा पनि २ दिनको मात्र खेल हुने हुँदा यो प्रतियोगिता मात्रैले नेपालको टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्यमा सानो झिल्को मात्र दिएको छ ।

क्यानका सचिव पारस खड्काले दुई वर्षअघिको एक कार्यक्रममा नेपाल १० वर्षभित्र टेस्ट राष्ट्र बन्ने लक्ष्य रहेको बताएका थिए । यस्तै आईसीसीको वार्षिक सम्मेलनमा धारणा राख्ने क्रममा पनि नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने बताएका थिए ।

टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य राख्ने कुरा पटकपटक दोहोर्‍याइएको भएपनि खास प्रगति भने अझै हुन सकिरहेको छैन । सचिव खड्काले दुई सिजनबाट राम्रो प्रतिक्रिया आएको बताउँदै लामो फर्म्याटमा पोख्त हुनका लागि रेड बल क्रिकेट प्राथमिकतामा राखिएको बताएका छन् ।

‘दुई संस्करण पूरा हुँदा खेलाडीबाट पनि राम्रो प्रतिक्रिया पाएका छौं । फूल मेम्बरशिप र टेस्ट मान्यता भनेको हाम्रो सपना नै हो । अब टेस्ट मान्यता त के हुन्छ अहिल्यै हामी भन्न सक्दैनौं । तर रेड बल फर्म्याटले लामो फर्म्याटका लागि खेलाडी र सीप विकासमा मद्दत पुग्ने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं’ खड्काले अनलाइनखबरसँग भने ।

‘अहिले प्रोपर ओडिआई सेटअप, डोमेस्टिक सेटअप र प्रोपर क्रिकेटिङ सेटअपमा रेडबल फर्म्याटले खेलाडी र सीप सुधार हुने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं’ खड्काले थपे ।

टेस्ट मान्यताको सपना देखिरहेको नेपाली क्रिकेटमा रेड बल क्रिकेटको कल्चरलाई अझ संरचनागत रुपमा विकास गर्दै अघि बढाउनु आवश्यक छ । मल्टी डे क्रिकेट प्रतियोगिता नियमित आयोजना भए खेलाडीहरुले पनि यस संरचनालाई ग्रहण गर्न सक्नेछन् ।

यसो भन्छन् खेलाडी

लामो फर्म्याटको क्रिकेट विकासको कुराहरू उठिरहेका बेला खेलाडीहरू पनि जय ट्रफीजस्ता प्रतियोगिता एक-दुईवटा अझै हुनुपर्ने बताउँछन् ।

जय ट्रफीको उपविजेता टोली त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले जय ट्रफीजस्तो प्रतियोगिता अरू पनि हुनुपर्ने बताए । ‘जय ट्रफीजस्तो टुर्नामेन्टहरू अरू पनि हुनुपर्‍यो । त्यसले ब्याटरको पनि स्किल थाहा हुन्छ, बलरको पनि थाहा हुन्छ’ सोमपालले फाइनल खेलपछि भनेका थिए ।

क्यान सचिव खड्काले भविष्यमा प्रतियोगिताको दायरा बढाइने बताउँछन् । प्रदेशस्तरमै खेलाउने योजना पनि हाम्रो छ, त्यसका लागि बजेट पनि धेरै लाग्छ । दुई सिजनबाट आएको फिडब्याकबाट निकट भविष्यमा यसलाई अझै फराकिलो बनाएर हामी लैजानेछौं’ खड्काले भने ।

यस्तै प्रतियोगिताका लागि प्रयोग भएको विकेट पनि राम्रो रहेको खेलाडीहरूको प्रतिक्रिया थियो । सोमपालले विकेट ब्याटिङ र बलिङ दुवैलाई च्यालेन्जिङ रहेको बताएका थिए । ‘यस्तो विकेट भयो भने नेपाली क्रिकेट सुध्रिन्छ’ सोमपालले भनेका छन् ।

पुलिसका कप्तान आरिफ शेखले पनि ब्याटिङ र बलिङ दुवैका लागि विकेटले बिहेभ गरेको बताए । ‘विकेट यस्तै किसिमको हुनुपर्छ, ब्याटिङ र बलिङ दुवैलाई मिल्ने । यसले टेम्परामेन्ट पनि टेस्ट हुन्छ, खेलाडीको फिटनेस र धैर्यता पनि चेक हुन्छ’ आरिफले भने ।

यस्तै आरिफले तीनदिवसीय भएपछि तीन दिन नै खेल हुनुपर्ने हिसाबको कन्डिशन हुनुपर्ने बताएका थिए । उनको आशय ब्याटरहरूले पनि कन्डिशनअनुसार खेल्नुपर्ने र तोकिएको दिनअगावै अलआउट हुने अवस्था नबनोस् भन्ने थियो ।

खेलाडीहरूले यस प्रतियोगिताबाट आगामी खेलहरूका लागि धेरै मद्दत पुगेको र आउने दिनमा थप उपलब्धि हासिल गर्न आत्मविश्वास पनि बढेको बताएका छन् ।

यस्तो छ अबको तालिका

गतवर्ष टी-२० विश्वकपका लागि टी-२० फर्म्याटमै बढी व्यस्त रहेको नेपाली क्रिकेट टोली यस वर्ष भने टी-२० सरह नै लामो फर्म्याटमा केन्द्रित हुने देखिन्छ ।

विश्वकप खेलेर फर्किएपछि जय ट्रफीमा सहभागी भएका नेपाली खेलाडीले घरेलु मैदानमै लिग २ क्रिकेटको ओडिआई शृंखला खेल्ने तय थियो तर मध्यपूर्वको तनावका कारण हाललाई शृंखला स्थगित भएको छ ।

यद्यपी उक्त शृंखला कुनै समय अवश्य हुनेछ । त्यसका लागि अब आइतबारदेखि सुरु हुने ओडिआई फर्म्याटकै प्रतियोगिता पीएम कपले सहयोग पुग्नेछ ।

पीएम कप र लिग २ शृंखलाबाहेक एसीसी प्रिमियर कप र द्विपक्षीय शृंखला (फर्म्याट नतोकिएको) हुने तय छ । यी प्रतियोगितापछि नेपाली खेलाडीहरू फेरि टप एन्ड टी-२० र एनपीएलजस्ता टी-२० फर्म्याटका प्रतियोगितामै व्यस्त रहनेछन् ।

त्यसकारण कम्तीमा अर्को एक वर्षका लागि लामो फर्म्याटको घरेलु प्रतियोगिता भने हुने देखिँदैन । क्यान सचिव खड्काले भनेबमोजिम जय ट्रफीको दायरा बढ्ने कुरा आगामी संस्करणमा लागु भएमा प्रतियोगिताको अवधि पनि बढ्नेछ भने अन्य टिमका खेलाडीले पनि बहुदिवसीय क्रिकेटको एक्सपोजर लिने मौका पाउनेछन् ।

बहुदिवसीय क्रिकेट प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय