News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले पीएम कपमा बागमती प्रदेशलाई पराजित गर्यो ।
- पुलिसका लागि औपनिङ गरेका शंकर रानाले शतक प्रहार गर्दै पुलिसको जितमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
- बागमती प्रदेशले फिल्डिङमा पाँच–छ वटा क्याच छुटाउँदा र फिनिसिङ गर्न नसक्दम पराजित भयो।
१२ चैत, काठमाडौं । पीएम कप २०२६ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएपछि नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गर्ने क्रममा बिहीबार बागमती प्रदेशलाई पराजित गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले २६६ रनको लक्ष्य ४४ ओभरमा पूरा गर्यो । पुलिसको जितमा आजपनि दिनेश खरेलको अलराउन्ड प्रदर्शन रह्यो ।
पहिलो जितमा पनि शानदार प्रदर्शन गरेका दिनेशले आजको खेलमा पनि त्यही लयलाई निरन्तरता दिए । उनीसँगै ओपनिङमा आएका शंकर रानाको प्रदर्शन अझ विशेष रह्यो । किनभने उनले पुलिसको जितमा शतक प्रहार गरे ।
मिडल अर्डरमा खेल्ने शंकर आजको खेलमा ओपनिङमा पठाइएका थिए । फरक भूमिकामा दिइएको उक्त जिम्मेवारी पूरा गर्दै उनले दिनेशसँग मिलेर संयमित सुरुवात गर्दै इनिङ ठूलो बनाए र म्याच विनिङ शतक प्रहार गरे ।
खेलपछि कुरा गर्दै उनले दिइएको भूमिका अनि खेलको परिस्थिति अनुसार आफूले योगदान दिएको उल्लेख गरे । ‘अब टिमको आवश्यकता अनुसार कहिले माथि कहिले तल खेल्नुपर्ने हुन्छ । मुख्य कुरा कन्फिडेन्स हो, आफैंमा विश्वास राखेको थिएँ’ शंकरले भने ।
माथिल्लो मुलपानीमा ‘ट्रिकी’ मानिएको २६६ रनको लक्ष्य पछ्याउन शंकरले एंकरिङ भूमिका निर्वाह गरे भने दिनेशबाट पनि राम्रो साथ पाए । ‘दिनेश र मेरो सुरुदेखि नै टिकेर खेल्ने र इनिङ लामो बनाउने योजना थियो । त्यही अनुरुप सफल भयौं’ शंकरले थपे ।
विपक्षी कप्तान सन्दीप लामिछानेले पनि शंकर रानाको इनिङको प्रशंसा गरे। ‘शंकर एकदम म्याचुएर्ड खेलाडी हुन्, कसरी खेल्ने भन्ने उसलाई थाहा छ । घरेलु क्रिकेटमा त उसको प्रदर्शन निकै राम्रो छ, स्तर नै अर्कै छ । बारम्बर आफूलाई प्रमाणित गरेका छन्’ सन्दीपले भने ।

यी दुई मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए जसले पुलिसलाई खेलबाट बाहिर जानै दिएन ।
विशेषगरी नेपाल पुलिस क्लब खेलाडी चोटका कारण संकटमा पर्दा यो जित निकाल्न शंकरको भूमिका महत्त्वपूर्ण थियो । कुशल भुर्तेल र गुल्शन झा चोटका कारण टिममा नहुँदा पुलिस समस्यामा परेका थिए ।
धेरै पहिले ओपनिङमा खेल्ने गरेका तर पछिल्लो समय मिडल अर्डरमै आफूलाई प्रमाणित गरेका शंकरलाई लामो समयपछि टिमले स्टेप अप गराउँदै ओपनिङमा पठाएको थियो ।
शंकरले एक महिनाको अवधिमा दोस्रो शतक प्रहार गरेका हुन् । उनले गत महिना जय ट्रफीमा एपीएफ क्लबविरुद्ध पनि शतक प्रहार गरेका थिए । त्यस प्रतियोगितामा मध्यक्रममा खेल्दा शतक बनाएका शंकरले आज भने ओपनिङ पोजिसनमा शतक बनाए ।
अर्कोतर्फ दिनेश खरेलले लगातार दोस्रो खेलमा अलराउन्ड भूमिका खेल्दै ब्याटिङमा ७० रन अनि बलिङमा ३ विकेट समेत लिए । पहिलोपटक पीएम कप खेलिरहेका दिनेश राम्रो लयमा पनि देखिएका छन् । अघिल्लो खेलमा पनि दिनेशले अलराउन्ड प्रदर्शन गर्दै पुलिसलाई जित दिलाएका थिए ।
फिनिसिङ र फिल्डिङमा चुक्यो बागमती
पुलिसविरुद्धको खेलमा बागमतीले मध्यम सुरुवात गर्दै पावरप्लेमा ६७-२ को अवस्थामा थियो । त्यसपछि दोस्रो पावरप्लेको पूर्वार्द्धमा बागमतीले शानदार ब्याटिङ गर्दै राम्रो योगफलतर्फ अघि बढिरहेको थियो ।
इशान पान्डे र पवन थापा अर्धशतक बनाएर खेलिरहेका थिए । यी दुई मिलेर १२४ रनको साझेदारी समेत बनाइसकेका थिए । इशान ७० रन बनाएर आउट भएपछि बागमती सम्हालिन सकेन । पवन थापा पनि ७९ रन बनाएर आउट भए । बागमती ४ ओभर अगावै अलआउट हुँदै २६५ रन बनायो ।
बागमतीका कप्तान सन्दीपले ३०० रन बनाउनबाट चुकेको बताए । ‘ब्याटिङका लागि उपयुक्त विकेट थियो । ३२० देखि ३३० रन सम्म बनाउने सोचेका थियौं । इशानको विकेट गएपछि रिकभर नै हुन पाएन, राम्रो अवस्थामा हुँदादेखि हामी ५० ओभर पनि खेल्न सकेनौं’ सन्दीपले खेलपछि भने ।
ब्याटर इशानले पनि आफू आउट भएपछि मोमेन्टम बिग्रिएको बताए । ‘म क्रिजमा सेट ब्याटरको रूपम थिएँ, मैले नै विकेट फाल्न पुगें । त्यहाँबाट पुनरागमन गर्नै सकेनौं’ इशानले भने ।

इशानले ब्याटिङमा सिनियर खेलाडीले स्टेप अप गर्नुपर्ने बताए । ‘शीर्ष ४ बाट एकजनाले पनि शतक नहान्नु भनेको विभागीय टिमसँग खेल्न राम्रो ब्यालेन्स नै नहुनु हो’ उनले थपे ।
यस्तै बागमती प्रदेशले फिल्डिङमा पनि खराब प्रदर्शन गर्यो । बागमतीले धेरै क्याचहरू छुटायो भने फिल्डिङमा ओभर थ्रो मा रन धेरै खर्चेको थियो ।
कप्तान सन्दीपले फिल्डिङ निकै खराब भएको बताए । ‘फिल्डिङमा हाम्रो डिजास्टर नै भयो । ५-६ वटा क्याचहरू छुटेका छन् । विपक्षी टिममा ब्याटरको पनि कमी थियो । टिमको हिसाबले सबैजना जिम्मेवार छौं’ सन्दीपले भने ।
सन्दीपले आगामी खेलहरूमा गल्ती सुधार्दै जाने बताएका छन् । ‘हामीले सानो एउटा मार्जिन अफ एरर घटाउन जरुरी छ । टिममा सबैले सल्लाह गर्नुपर्ने विषयका रूपमा छ त्यो । आगामी खेलमा राम्रो बनाउँदै जानेछौं’ उनले भने ।
प्रतियोगितामा तेस्रो खेल खेलेको बागमतीको यो दोस्रो हार हो । पहिलो खेलमा एपीएफसँग पराजित भएको बागमतीले दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4