News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ ।
- विश्वकप जुन ११ देखि जुलाई १९ सम्म १६ सहरमा १०४ खेलहरू हुनेछन् ।
- युरोपबाट इटली छनोट हुन नसक्दा बोस्निया-हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भएका छन् ।
१८ चैत, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ ।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ। पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन् ।
छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भए।
अन्तिम चरणमा अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान बनाएका हुन्।
युरोपबाट भने ठूलो उलटफेर देखियो, जहाँ चार पटकको च्याम्पियन इटली फेरि छनोट हुन असफल रहँदा बोस्निया-हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भए।
एसियाबाट हालसम्मकै धेरै आठ टोली छनोट भएका छन् । अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन्।
उत्तर तथा मध्य अमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन् भने ओसियानियाबाट न्युजिल्यान्ड मात्र सहभागी हुनेछ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएका छन्।
अफ्रिकाबाट यसअघि नै अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन्। अफ्रिकाबाट पनि हालसम्मकै धेरै १० टोली सहभागी हुनेछन् ।
युरोपबाट अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीट्जरल्यान्ड यसअघि नै छनोट भइसकेका थिए ।
प्रतियोगिता
यसपटकको फिफा विश्वकप तीन देश- अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुनेछ।
प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म, कुल ३९ दिन चल्नेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ।
यसपटक १२ समूह बनाइएको छ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ चरणमा अघि बढ्नेछन् ।
साथै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्नेछन् । यसरी कुल ३२ टोली नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्नेछन्।
त्यसपछि अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेलिनेछ।

यो संस्करणमा कुल १०४ खेल हुनेछन् । खेलहरू अमेरिकाका ११ शहर, मेक्सिकोका तीन र क्यानडाका दुई गरी १६ सहरमा खेलाइनेछन् ।
उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ। फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ, जहाँ नयाँ विश्व च्याम्पियन घोषणा गरिनेछ।
तीन देश र फरक समय क्षेत्र भएकाले खेलहरू १३ फरक समय तालिकामा हुनेछन्। युरोपका दर्शकका लागि केही खेल मध्यरात वा बिहान हुनेछन् ।
प्रतिक्रिया 4