News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा फिजियोथेरापी क्षेत्रमा गुणस्तरीय पीएचडी अनुसन्धानको अभाव छ र यसले सेवा सुधारमा चुनौती ल्याएको छ।
विद्यावारिधि अर्थात पीएचडी शोधपत्रमा आधारित उच्चस्तरीय रिसर्च डिग्री हो । यसको मुख्य उद्देश्य नयाँ ज्ञान सिर्जना गर्नु, अनुसन्धानमार्फत पुष्टि गरी तथ्य स्थापित गर्नु र प्रमाणमा-आधारित निर्णय गरी नीति तथा योजना बनाउन योगदान पुर्याउनु हो ।
यसको इतिहास मध्ययुगीन युरोपका विश्वविद्यालयहरूबाट सुरु भएको पाइन्छ । यो आधुनिक अनुसन्धान-केन्द्रित शिक्षा प्रणालीको आधार बनेको छ । आज विद्यावारिधिलाई विश्व भर वैज्ञानिक प्रगति, नीति निर्माण र उच्च शिक्षाको मेरुदण्ड मानिन्छ । नेपाल जस्तो विकासशील देशमा पीएचडीको महत्व अझ बढी छ ।
यहाँको स्वास्थ्य प्रणालीमा मानव संसाधन, पूर्वाधार र आर्थिक स्रोत सीमित छन् । यस्तो अवस्थामा प्रमाणमा-आधारित, कम लागत र प्रभावकारी स्वास्थ्य सेवा विकास गर्न पीएचडी स्तरको अनुसन्धान अत्यावश्यक हुन्छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा, पीएचडी गरेका विशेषज्ञहरूले रोगको प्रवृत्ति, उपचारको प्रभावकारिता, र सेवा प्रणाली सुधारमा वैज्ञानिक आधार दिन सक्छन् ।
नेपालमा फिजियोथेरापी सेवाको विकास चिकित्सकीय र शैक्षिक दुवै रूपमा भइरहेको छ । अध्ययन र तालिमको दायरा बढेसँगै फिजियोथेरापी एक स्वायत्त पेशाको रूपमा स्थापित भइसकेको छ ।
यस अन्तर्गत अभ्यास गर्ने न्यूनतम स्नातक गरेका फिजियोथेरपिस्ट, नेपाल स्वास्थ्य व्यवसायी परिषदमा स्वायत्त अभ्यास कर्ताको रूपमा दर्ता हुने व्यवस्था छ । यधपी, दिगो वैज्ञानिक अभ्यास, नीतिगत प्रतिनिधित्व र अनुसन्धान क्षमतामा अझै कमजोरी छ । यिनै चुनौतीले ‘गुणस्तरीय पीएचडी’को आवश्यकता अझै स्पष्ट पारेको छ।
फिजियोथेरापीमा पीएचडी किन चाहिन्छ ?
१. उच्च गुणस्तरीय अनुसन्धानले सुझाएको पद्धति कार्यान्वयनमा शोधकर्ताको विशेष भूमिका रहन्छ । उदाहरणका लागि; नेपालमा ओस्टियोआर्थराइटिस(ओए) र लो ब्याक पेन(एलबीपी) दीर्घ रोगको भार बढ्दो छ । विश्वका उच्च स्तरीय निर्देशिका क्लिनिकल प्राक्टिस गाइडलाइन्स अनुसार व्यायाम थेरापी, आत्म-व्यवस्थापन र शिक्षा नै प्राथमिक उपचार हुन् । तर, नेपालमा लागू गर्न यस्ता पद्धतिको वैज्ञानिक रूपमा पर्याप्त विकास, परीक्षण र कार्यान्वयन स्थितिको अध्ययन भएको छैन ।
२. नीति निर्माणमा फिजियोथेरापिस्टको आवाज प्रायः कमजोर हुन्छ । कुनैपनि विषयमा विश्वको सन्दर्भ बुझेर स्थानीय ‘माटो सुहाउँदो’ योजना लागू गर्नु महत्वपूर्ण हुन्छ । उपचार निर्देशिका, पाठ्यक्रम विकास, र सेवा मापदण्ड सो अनुरूप बनाउन पीएचडी तालिम प्राप्त नेतृत्व प्रभावकारी हुन्छ ।
३. नेपाल जस्तो सीमित स्रोत भएको देशमा ‘कम लागत, धेरै प्रभाव’ उपचारको विकास क्लिनिकल रिसर्चरको संयुक्त अभ्यास बिना सम्भव छैन ।
तर, के सबै फिजियोथेरापिस्टले पीएचडी गर्नुपर्छ ?
सरल जवाफ : पर्दैन।
चिकित्सकीय विशेषज्ञताका लागि बीपीटी/एमपीटी पर्याप्त छ । पीएचडी चाहिने भनेको अनुसन्धान, शैक्षिक नेतृत्व, नीति तथा निर्देशिका निर्माणमा सहभागी हुनेका लागि हो । पीएचडी एक विशिष्टीकृत, वैज्ञानिक र दीर्घकालीन अनुसन्धान गरेर परिणाममुखी कार्यान्वयन गर्ने शैली हो । सबैले गर्नुपर्ने होइन, तर नेपालका लागि ‘आवश्यक केही’ ले भने अवश्य गर्नु आवश्यक छ । शोधकर्ताले खोजेर प्राप्त गरेको परिणाम क्लिनिकल अभ्यास कर्ताले अवलम्बन र त्यसैको आधारमा आवश्यक थप रिसर्च गर्नुपर्ने अन्तरसम्बन्ध भने सधैँ रहिरहन्छ ।
नियमन पक्षको अवस्था
नेपालमा पीएचडीको विकास क्रमशः विस्तार भइरहेको भए पनि यसको गुणस्तर, मान्यता र विश्वसनीयतामा चुनौतीहरू छन् । यो डिग्रीको नियमन गर्ने कुनै स्पष्ट निकाय छैन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को ऐन र नियमावली अनुसार यो डिग्रीको नियमन परिषद्को क्षेत्राधिकार भन्दा बाहिर पर्दछ । पीएचडी डिग्रीको दर्ता प्रणाली हालसम्म पनि सुरुवात भएको छैन ।
नियमन नहुदा फिजियोथेरापी क्षेत्रमा पनि पीएचडीको नाममा हुने नक्कली डिग्री, कक्षा कार्य बिनाको पाठ्यक्रम, विदेशी ‘डिग्री मिल’को प्रसारले डिग्रीको विश्वसनीयता र पेशाको भविष्यमै प्रश्न उठाउने देखिन्छ । यही सन्दर्भमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको २०८२ असार १ गतेको सूचना (निर्णय मिति २०८२ जेठ २९) अत्यन्त महत्त्वपूर्ण छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा कार्य बिना प्राप्त पीएचडी, न्यूनतम शैक्षिक मापदण्ड नपुगेका पीएचडी र कमजोर विश्वविद्यालयबाट प्रदान गरिएका पीएचडीलाई मान्यता नदिने निर्णय सार्वजनिक गरेको छ ।
उक्त सूचना अनुसार पीएचडीको समकक्षताका लागि अध्ययन गरेको विश्वविद्यालयमा गरेको कक्षा कार्य तथा अन्य कार्य गर्न सम्बन्धित विश्वविद्यालयमा कम्तीमा ९ महिना रही अध्ययन गरेको पुष्टि हुने कार्यरत संस्थाको पूर्वस्वीकृति, बिदा बसेको प्रमाण, अध्ययन गरेको अवधि भर विश्वविद्यालयमा भौतिक उपस्थिति खुलाई विश्वविद्यालयले लेखी दिएको पत्र आवेदनमा संलग्न गर्नुपर्ने व्यवस्था गरेको छ । यो निर्णय नेपालको शैक्षिक विश्वसनीयता जोगाउन र गुणस्तर सुनिश्चित गर्न अग्रगामी कदम मानिन्छ ।
त्रिभुवन विश्वविद्यालयले विगतमा पनि भारतीय विश्वविद्यालय अनुदान आयोगले जारी गरेको सूचनालाई पुनः प्रकाशन गरी भारतमा केही विश्वविद्यालयमा हुने विद्यावारिधिलाई मान्यता नदिने निर्णय गरेको छ ।
समस्या त्यतिमा रोकिँदैन । नेपालमा हालैका वर्षहरूमा उपस्थिति बिनाको डिग्री, वौद्धिक चोरी, अपर्याप्त सुपरिवेक्षण, प्रकाशन बिना प्रबन्धन पत्र जस्ता समस्याले विद्यावारिधिको शैक्षिक विश्वसनीयता कमजोर बनाएको छ । यस्तो डिग्रीले व्यक्तिको प्रतिष्ठा मात्र होइन सम्पूर्ण पेशाको नैतिक र वैज्ञानिक आधार कमजोर पार्छ ।
अब नेपालमा नियमन निकाय जस्तै त्रिभुवन विश्वविद्यालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, विश्वविद्यालय अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने निम्न विषयहरूमा संरचनात्मक सुधार आवश्यक छ।
–फिजियोथेरापी केन्द्रित पीएचडी
–सुभरभाइजरको योग्यता र नियमन
–बौद्धिक चोरी नियन्त्रण
– अन्तर्राष्ट्रिय सूचांकअनुसारको प्रकाशन
–विदेशी डिग्री प्रमाणीकरण
नेपालमा फिजियोथेरापीको भविष्य क्लिनिसियन वा रिसर्चरको एकतर्फी प्रयासले मात्र होइन, सक्षम क्लिनिसियन-रिसर्चरको संयुक्त नेतृत्वले संस्थागत गर्न सक्दछ । पीएचडीको वैधानिकता र मूल्य डिग्रीमामात्र नभई अनुसन्धानको गुणस्तर, प्रकाशन र कार्यान्वयन मा निर्भर हुन्छ । सक्षम र इमानदार अनुसन्धानमार्फत पीएचडीले स्वास्थ्य सेवा सुधार, नीति निर्माण र जनस्वास्थ्य उन्नयनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
(कंडेल हाल, ला ट्रोब यूनिभर्सिटी, मेलबर्न अस्ट्रेलियाबाट पीएचडी गर्दैछन्)
प्रतिक्रिया 4