+
+
Shares

आराबाट चेन-ससम्म : परम्पराबाट प्रविधितर्फको फड्को

‘आरा धरान’ बाट ‘चेइन–स’सम्मको यो रूपान्तरण केवल उपकरणको परिवर्तन नभइ ग्रामीण जीवनशैली, श्रम संस्कार र आर्थिक सम्भावनाको नयाँ अध्याय बनेको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ वैशाख १४ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमका ग्रामीण क्षेत्रमा परम्परागत आराबाट आधुनिक चेइन–सो मेसिनमार्फत काठ काट्ने शैलीमा ठूलो परिवर्तन आएको छ।
  • चेइन–सो मेसिनले रूख काट्ने समय धेरै घटाएर श्रम बचत गरेको छ।
  • चेइन–सो मेसिनको मूल्य ५५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म छ र यसले ग्रामीण क्षेत्रमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गरेको छ।

१४ वैशाख तेह्रथुम । पहाडी गाउँमा बिहानदेखि साँझसम्म कुनै समय काठ चिरानको परम्परागत आवाजले गुन्जिन्थ्यो । दुई जनाले तानेर चलाउने आरा, पसिना र धैर्यले भरिएको श्रम, अनि दिनौं लाग्ने मिहिनेत ।

त्यो समय अहिले विस्तारै इतिहास बन्दै गएको छ । आधुनिक प्रविधिको पहुँच गाउँसम्म पुगेसँगै तेह्रथुमका ग्रामीण बस्तीहरूमा काठ काट्ने शैलीमै ठूलो परिवर्तन देखिन थालेको छ । परम्परागत ‘आरा धरान’बाट आधुनिक चेन-स (स्वचालित आरा मेसिन) मेसिनसम्मको यात्रा यहाँका लागि साँचिकै एक फड्को सावित भएको छ ।

केही वर्षअघिसम्म फर्निचर उद्योगमा मात्र सीमित रहेको चेन–स मेसिन अहिले गाउँगाउँमा सहज रूपमा देखिन थालेको छ । छिटो, सजिलो र कम श्रममा काम सम्पन्न गर्न सकिने भएकाले काठ व्यवसायी मात्र होइन, सर्वसाधारणले समेत यसको प्रयोग गर्न थालेका छन्। पहिले एउटा रूख काट्न घण्टौं समय लाग्थ्यो, तर अहिले त्यही काम १५ सेकेन्डदेखि २ मिनेटभित्रै सम्पन्न हुन थालेको छ ।

छथर गाउँपालिका–२ का काठ व्यवसायी लालबहादुर लिम्बूका अनुसार, ‘पहिले रूख काट्न मात्रै घण्टौं लाग्थ्यो, आरा धरान बनाउन तीन–चार दिन खर्चिनु पर्थ्याे । धेरै जनशक्ति पनि चाहिन्थ्यो । अहिले चेन-सले सबै काम सहज बनाइदिएको छ ।’ उनको अनुभवले परम्परागत विधिबाट आधुनिक प्रविधितर्फको परिवर्तन कति तीव्र र प्रभावकारी भएको छ भन्ने स्पष्ट पार्छ ।

पहिले काठ चिरान गर्न दुई जना कामदारले करिब एक महिना समय लगाउनु पर्ने अवस्था थियो । तर, त्यतिनै काम एउटै व्यक्तिले तीनदेखि चार दिनमै सम्पन्न गर्न सक्ने अवस्था आएको छ । छथर–२ कै पुष्प लिम्बू भन्छन, ‘आरा धरान बनाएर काठ चिरान गर्नु निकै गाह्रो र समय खपत हुने काम थियो, अहिले मेसिनले त्यो सबै झन्झट हटाइदिएको छ ।’

चेन–स मेसिन विभिन्न प्रकारका ऊर्जा स्रोतबाट सञ्चालन गर्न सकिन्छ–डिजेल, पेट्रोल,  तर तेह्रथुमका ग्रामीण क्षेत्रमा प्राय: पेट्रोलबाट चल्ने मेसिन नै बढी प्रयोगमा छन् । एउटा लिटर पेट्रोलबाट ७ देखि १० थानसम्म १२ फिटका सरा तथा तक्ति तयार गर्न सकिने भएकाले यो प्रविधि लागतको हिसाबले पनि उपयोगी मानिएको छ ।

यस प्रविधिले केवल कामको गति बढाएको मात्र होइन, श्रम र स्रोतको बचत पनि गराएको छ । परम्परागत आरा धरान बनाउन ५ देखि ७ वटा रूख आवश्यक पर्ने र धेरै जनशक्ति जुटाउनुपर्ने अवस्था अहिले हटेको छ । गाउँको जुनसुकै कुनामा रहेका साना वा ठूला रूख काट्न अब सहज भएको छ । जसले ग्रामीण जीवनलाई थप सरल बनाएको छ ।

चेन–स मेसिनको मूल्य ५५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । प्रारम्भिक लगानी केही महँगो भए पनि यसको उपयोगिता र आम्दानीको सम्भावनाले गर्दा यो लगानी आकर्षक बन्दै गएको छ । दक्ष कामदारहरूले मासिक ५ हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्, जसले ग्रामीण क्षेत्रमा रोजगारीका नयाँ ढोका खोलिदिएको छ ।

यसरी, परम्परागत सीप र श्रममा आधारित काठ कटान प्रणाली अहिले प्रविधिमैत्री बन्दै गएको छ । ‘आरा धरान’ बाट ‘चेन-स’सम्मको यो रूपान्तरण केवल उपकरणको परिवर्तन नभइ ग्रामीण जीवनशैली, श्रम संस्कार र आर्थिक सम्भावनाको नयाँ अध्याय बनेको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?