+
+
Shares

‘नेपालको नीतिगत जटिलताले यूएईमा नेपाली वस्तुले अपेक्षित बजार पाएन’

नेपालबाट पठाइने तरकारी तथा अन्य कृषिजन्य वस्तु क्वारेन्टिन प्रक्रिया र ढुवानीमा ढिलाइ हुँदा बजारमा पुग्दासम्म ओइलिने र गुणस्तर खस्किने समस्या रहेको व्यवसायीहरूको गुनासो छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा रहेका नेपाली उद्योगी–व्यवसायीले नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, लेबलिङ र आपूर्ति निरन्तरतामा समस्या रहेको बताएका छन्।
  • व्यवसायीले नेपालमा भन्सार नीति सुधार, एयर कार्गो शुल्कमा सहुलियत र द्विपक्षीय कानुनी सम्झौता आवश्यक रहेको सुझाव दिएका छन्।
  • राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीच व्यापार, लगानी, ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा व्यापक सम्भावना रहेको उल्लेख गरे।

४ जेठ, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली उद्योगी–व्यवसायीले नेपालबाट निर्यात हुने वस्तुको गुणस्तर, प्याकेजिङ, लेबलिङ, आपूर्ति निरन्तरता तथा सरकारी नीतिगत जटिलताका कारण नेपाली उत्पादनले यूएईको विशाल बजारमा अपेक्षित स्थान बनाउन नसकेको बताएका छन् ।

नेपाली दूतावास अबुधाबीले आयोजना गरेको ‘डायस्पोरा डाइनामिक्स : ब्रिजिङ द बोर्डर्स फ्रम माइग्रेसन टु मार्केट्स’ विषयक अन्तर्क्रियामा सहभागी व्यवसायीले नेपाली उत्पादन निर्यात विस्तारका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा यूएईमा व्यापार, उत्पादन, आपूर्ति तथा लगानीमा संलग्न नेपाली उद्यमी, अर्थविज्ञ तथा अबुधाबीस्थित न्युयोर्क विश्वविद्यालयका व्यापार अनुसन्धानकर्ता सहभागी थिए ।

दूतावासका अनुसार कार्यक्रममा प्रवासबाट व्यवसायमा रूपान्तरण भएका नेपालीले यूएईको बजारमा स्थापित हुने क्रममा भोगेका अनुभव, समस्या र सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

राजदूतावासकी काउन्सेलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालका अनुसार नेपालबाट यूएईमा विशेषगरी कृषिजन्य उत्पादन आयात गरेर बिक्री गरिरहेका नेपाली व्यवसायीले उत्पादन गुणस्तर, प्याकेजिङ, लेबलिङ र नियमित आपूर्तिमा समस्या रहेको बताएका छन् ।

‘हाम्रा उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तर, आकर्षक प्याकेजिङ र उपयुक्त लेबलिङको अभावका कारण प्रतिस्पर्धी बजारमा टिक्न कठिन भइरहेको छ,’ दाहालले भनिन्, ‘एक पटक बजारमा चिनाए पनि ठूलो परिमाणमा निरन्तर आपूर्ति गर्न नसक्दा व्यापार विस्तारमा समस्या परेको छ ।’

नेपालबाट पठाइने तरकारी तथा अन्य कृषिजन्य वस्तु क्वारेन्टिन प्रक्रिया र ढुवानीमा ढिलाइ हुँदा बजारमा पुग्दासम्म ओइलिने र गुणस्तर खस्किने समस्या रहेको व्यवसायीहरूले बताएका थिए ।

यूएई तथा खाडी मुलुकमा खाद्य सामग्री बिक्रीका लागि हलाल प्रमाणीकरण र अरबी भाषामा लेबल अनिवार्य जस्तै हुने भए पनि नेपालबाट निर्यात हुने धेरै उत्पादनमा त्यसको अभाव रहेको व्यवसायीको भनाइ छ ।

मान्यताप्राप्त हलाल प्रमाणपत्र नहुँदा नेपाली उत्पादनले मुस्लिम उपभोक्ताको बजारमा सहज पहुँच नपाउने समस्या रहेको उनीहरूले बताए ।

यूएईमा व्यवसाय सञ्चालन गरिरहेका धेरै नेपालीलाई स्थानीय कर प्रणाली, मूल्य अभिवृद्धि कर तथा अन्य कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्नुपरेको व्यवसायीहरूले बताएका थिए ।

उनीहरूले व्यवसायीका लागि वित्तीय साक्षरता तथा कानुनी जानकारी सम्बन्धी कार्यक्रम सञ्चालन गर्न दूतावाससँग आग्रह गरेका छन् ।

सहभागीले नेपालको भन्सार नीतिमा समयानुकूल सुधार, एयर कार्गो शुल्कमा सहुलियत, प्रदेशस्तरमा नवप्रवर्तन केन्द्र स्थापना, व्यवसाय गर्न सहज वातावरण निर्माण तथा निर्यात सम्बन्धी अवरोध हटाउन द्विपक्षीय कानुनी सम्झौता आवश्यक रहेको सुझाव दिएका छन् ।

उनीहरूले नेपाली श्रमिकको क्षमता अभिवृद्धि र कृषिजन्य वस्तुको गुणस्तर सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

यूएईमा करिब ६ देखि ७ लाख नेपाली कार्यरत रहेका कारण नेपाली उत्पादनको बजार राम्रो देखिन्छ । जसले गर्दा यस्ता खालका समस्या समाधान गरिएको खण्डमा यूएईमा व्यापार गर्न सहज हुने उनीहरूको धारणा थियो ।

कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीच व्यापार, लगानी, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा व्यापक सम्भावना रहेको बताएका थिए । उनले दुई देशबीच आवश्यक समझदारी तथा सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको बताएका थिए ।

उनले आर्थिक तथा व्यापारिक सम्बन्धलाई सहज बनाउन दूतावासले नेपाल सरकारसँग नीतिगत र कानुनी सुधारका लागि सहजीकरणको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?