ब्रह्माण्डको सबैभन्दा सानो एकाइलाई व्याख्या गर्ने जटिल ‘स्ट्रिङ थ्योरी‘ केवल गणितीय कल्पना मात्र नभएर ब्रह्माण्डकै अन्तर्निहित नियम हुनसक्ने सङ्केत वैज्ञानिकहरूले फेला पारेका छन्। क्याल्टेकका भौतिकशास्त्रीहरूले गरेको एक नयाँ अनुसन्धानले ब्रह्माण्डले भित्रभित्रै स्ट्रिङ थ्योरीको अस्तित्व चाहिरहेको जस्तो देखिने खुलासा गरेको छ।
अनुसन्धानकर्ताहरूले सुरुमा स्ट्रिङहरूको अस्तित्वलाई कल्पना नगरीकन केवल अत्यधिक ऊर्जामा कणहरूले गर्ने व्यवहारका केही सामान्य नियमहरूबाट गणितीय समीकरण हल गर्न सुरु गरेका थिए, तर नतिजास्वरूप ती समीकरणहरूले स्वतः स्ट्रिङ थ्योरीकै मुख्य विशेषताहरू र सङ्केतहरू पैदा गरेपछि वैज्ञानिकहरू अचम्ममा परेका छन्।
भौतिकशास्त्रमा लामो समयदेखि सब एटोमिक कणहरूलाई सञ्चालन गर्ने ‘क्वान्टम मेकानिक्स’ र ब्रह्माण्डको ठूलो संरचना तथा गुरुत्वाकर्षणलाई व्याख्या गर्ने आइन्स्टाइनको ‘जर्नल रिलेटिभिटी’ बीच तालमेल मिलाउन सकिएको छैन। क्वान्टम स्केलमा गुरुत्वाकर्षणलाई जोड्दा समीकरणहरू अनन्ततिर मोडिएर असफल हुने गर्छन्।
सन् १९६० को दशकमा आएको स्ट्रिङ थ्योरीले यसको समाधान दिँदै ब्रह्माण्डका सबै कणहरू बिन्दु नभएर अनौठो कम्पन भइरहेका अति सुक्ष्म त्यान्द्रा वा स्ट्रिङहरू हुन् र गुरुत्वाकर्षण बोक्ने काल्पनिक ‘ग्रेभिटोन’ कण पनि यसैको कम्पनबाट बन्छ भन्ने मान्यता राख्छ।
यस थ्योरीलाई प्रमाणित गर्न आकाशगङ्गा जत्रो ठूलो ‘पार्टिकल कोलाइडर’ चाहिने र हालको प्रविधिले त्यो असम्भव भएकाले वैज्ञानिकहरूले प्रकृतिले पालना गर्ने आधारभूत सिद्धान्तहरूबाट कुन नियम स्वतः प्रकट हुन्छ भनी हेर्ने ‘बुटस्ट्र्याप’ विधिको प्रयोग गरेका थिए।
‘फिजिकल रिभ्यु लेटर्स’ मा प्रकाशनका लागि स्वीकृत भएको ‘स्ट्रिङ्स फ्रम अलमोस्ट नथिङ’ शीर्षकको यस अध्ययनमा क्याल्टेक, न्यूयोर्क युनिभर्सिटी र बार्सिलोनाको इन्स्टिच्युट डे फिसिका डिएल्टेस एनर्जियाका अनुसन्धानकर्ताहरूले कणहरूको टक्कर र छरिने प्रक्रिया सम्बन्धी केही सामान्य शर्तहरू राखेका थिए। क्याल्टेकका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक क्लिफर्ड चेउङका अनुसार उनीहरूले स्ट्रिङको कुनै पनि पूर्वअनुमान नगरेको भए तापनि समीकरण हल हुँदा स्ट्रिङ थ्योरीका मुख्य आधारहरू स्वतः बाहिर आएका हुन्।
यसले सन् १९६० को दशकको अन्त्यतिर इटालियन भौतिकशास्त्री ग्याब्रिएल भेनेजियोनोले प्रतिपादन गरेको कणहरूको एउटा अनन्त ‘टावर’ वा शृङ्खला (स्ट्रिङ स्पेक्ट्रम) लाई ब्युँताएको छ, जसलाई भायोलिनको तार रेट्दा निस्कने तरङ्गसँग तुलना गर्ने गरिन्छ।
यो नयाँ गणितीय मोडेलले क्वान्टम गुरुत्वाकर्षणमा आउने अनन्तको समस्यालाई ‘अल्ट्रासफ्टनेस’ नामक गुणमार्फत हल गरेको छ। अत्यधिक ऊर्जामा पुग्दा स्ट्रिङहरूले अन्तरक्रियालाई फैलाउने गर्छन्, जसले गर्दा समीकरणहरू बिग्रन पाउँदैनन्।
अनुसन्धान टोलीले यसै अल्ट्रासफ्ट व्यवहार र अर्को एउटा गणितीय शर्त ‘मिनिमल जिरोज’ लाई आधार मानेर गणना गर्दा स्ट्रिङ थ्योरीमा प्रसिद्ध रहेका कणहरूको द्रव्यमान र स्पिनको अनन्त शृङ्खला स्वतः उत्पन्न भएको न्यूयोर्क युनिभर्सिटीका सह-लेखक ग्रान्ट एन रेम्मेनले बताएका छन्। अमेरिकी ऊर्जा मन्त्रालय र विभिन्न प्रतिष्ठित संस्थानहरूको आर्थिक सहयोगमा भएको यो खोजले सैद्धान्तिक भौतिकशास्त्रमा दशकौँ पुरानो बुटस्ट्र्याप अवधारणालाई आधुनिक उपकरणका माध्यमबाट पुनर्जीवित गर्दै ब्रह्माण्डको अन्तिम सत्य पत्ता लगाउने दिशामा एक अभूतपूर्व मार्गप्रशस्त गरेको छ।
प्रतिक्रिया 4