+
फिफा विश्वकप २०२६ :

प्लेयर्स टु वाच : किलियन एमबाप्पे अर्थात् ‘थर्टी सेभेन’

२०८३ जेठ  ५ गते १८:१० २०८३ जेठ ५ गते १८:१०
प्लेयर्स टु वाच : किलियन एमबाप्पे अर्थात् ‘थर्टी सेभेन’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सका स्टाइकर किलियन एमबाप्पेले सन् २०१८ को विश्वकप अन्तिम–१६ मा अर्जेन्टिनालाई ४–३ गोलले पराजित गराउन दुई गोल गरेका थिए ।
  • एमबाप्पेले सन् २०१८ र २०२२ को विश्वकपमा क्रमशः ४ र ८ गोल गरी दुई विश्वकपमा १२ गोल गरेका छन् ।
  • एमबाप्पेले २५ वर्षको उमेरमा आफ्नो कम्पनीमार्फत युरोपेली व्यावसायिक क्लबको ८० प्रतिशत हिस्सेदारी प्राप्त गरेका छन् ।

४ जेठ, काठमाडौं । सन् २०१८ को फिफा विश्वकपको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्‍यो । अर्जेन्टिनाको यात्रा अन्तिम–१६ बाटै रोकिदिन फ्रान्सका स्टाइकर किलियन एमबाप्पेले उत्कृष्ट भूमिका खेले । खेलको १३औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।

अर्जेन्टिनी डिफेन्डरले स्टाइकर एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यतिबेला एमबाप्पेले ३७ किलोमिटर प्रतिघण्टाको गतिमा बल अगाडि बढाएका थिए । उक्त खेलपछि फ्रान्सेली टोलीका खेलाडीहरुले एमबाप्पेको उपनाम ‘३७’ राखिदिए । सो खेलमा एमबाप्पेले दुई गोल पनि गरेका थिए ।

पहिलोपटक विश्वकप खेलिरहेका एमबाप्पेको त्यही गतिका कारण फ्रान्सले विश्वकप जित्न सफल भयो । फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय एमबाप्पे एक हिस्सेदार बन्न सफल भए । तीव्र गतिले कुद्‍न सक्ने एमबाप्पे एक उत्कृष्ट फिनिसर पनि हुन् ।

पहिलोपटक विश्वकप खेलका एमबाप्पेले ४ गोल गरे । फाइनलमा फ्रान्सलाई जिताउन एमबाप्पेले एक गोल गरेका थिए । उनले फिफा युवा खेलाडीको पुरस्कार पाएका थिए । पहिलो विश्वकपमै एमबाप्पेले गहिरो छाप छोड्न सफल भए ।

फिफा विश्वकप २०१८ को ट्रफीका साथ एमबाप्पे

त्यसपछि उनको खेल झनै परिपक्क हुँदै गयो । सन् २०२२ मा भएको फिफा विश्वकपमा पनि एमबाप्पेले शानदार प्रदर्शन गरे । फ्रान्सलाई उपाधि जिताउन नसकेपनि उनको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो ।

उनले फाइनलमा विश्व विजेता अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । यस्तै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । दुई विश्वकप फाइनलमा खेल्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्, उनी ।

दुई विश्वकप खेलेका एमबाप्पेले पाँच पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जितिसकेका छन् । दुई विश्वकपमा १२ गोल गरेका छन् । २०२६ को विश्वकपमा थप ५ गोल गरेमा उनी प्रतियोगिताको सर्वकालीन सर्वाधिक गोलकर्ता बन्नेछन् ।

सन् २०१५ मा फ्रेन्स क्लब मोनाकोबाट व्यावसायिक फुटबल सुरु गरेका थिए । हालसम्म उनले क्लब स्तरमा १८ ट्रफीहरू उचालिसकेका छन् । उनले २०१६ मा युरोपेली अन्डर–१९ च्याम्पियनसिप र २०२१ मा युइएफए नेसन्स लिग पनि जितेका थिए ।

२७ वर्षीय एमबाप्पेले क्लब र देशबाट ४ सयभन्दा बढी गोल गरिसकेका छन् । पीएसजीबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्, एमबाप्पे । उनले २०१८ देखि २०२४ मा २५६ गोल गरेका छन् । पीएसजीका लागि उनले ६ पटक फ्रान्सेली लिग–वान जिताइसकेका छन् । स्पेनिस ला लिगा फुटबलको जारी सिरिजमा रियल मड्रिडबाट एमबाप्पे २४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् ।

गोल पनि उनको दौड जस्तो तीव्र गतिमा अगाडि बढिरहेको छ । उनले हालसम्म फ्रान्सबाट ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । फ्रान्सका लागि उनीभन्दा बढी गोल गर्ने खेलाडी ओलिभर जिरुड मात्रै हुन् । पछिल्ला दुई विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेबाट फ्रान्सले यसपटक पनि ठूलो अपेक्षा राखेको छ ।

२५ वर्षको उमेरमा उनले आफ्नो कम्पनी, इन्टरकनेक्टेड भेन्चर्सको कोलिशन क्यापिटल लगानी शाखामार्फत एसएम केनमा बहुमत हिस्सेदारी ८० प्रतिशत प्राप्त गर्दा युरोपेली व्यावसायिक क्लबको सबैभन्दा कान्छो मालिकहरू मध्ये एक बन्न सफल भए ।

महान् फुटबलर पेलेले एमबाप्पे आफ्नो उत्तराधिकारी बन्न सक्ने संकेत गरेका थिए । ‘एमबाप्पे मेरो उत्तराधिकारी बन्न सक्छन्, र म मजाक गरिरहेको छैन । गतिसँग खेल्ने उनको क्षमतामा म आफूलाई धेरै देख्छु । उनी छिटो सोच्ने अट्याकर हुन’ उनले भनेका थिए, ‘जब बल आउँछ, उनलाई पहिले नै थाहा हुन्छ के गर्ने, उनको दिमागमा पहिले नै कहाँ जाने भन्ने कुरा हुन्छ ।’

स्टार फुटबलर लियोनेल मेस्सीले एमबाप्पेले आफुलाई प्रमाणित गर्दै आएको बताउँछन् । ‘ऊ एक पूर्ण खेलाडी हो र उसले वर्षाैंदेखि यो प्रमाणित गर्दै आएको छ, र आउने वर्षहरूमा, ऊ निश्चित रूपमा उत्कृष्ट मध्ये एक हुनेछ,’ मेस्सीले भनेका छन् ।

किलियन एमबाप्पे प्लेयर्स टु वाच फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय