+
+
Shares

पाकिस्तानी टिकटक स्टार साना युसुफको हत्यामा २३ वर्षीय हयातलाई मृत्युदण्ड

पाकिस्तानको एक अदालतले १७ वर्षीया टिकटक र इन्स्टाग्राम इन्फ्लुएन्सर साना युसुफको हत्यामा दोषी ठहर गर्दै २३ वर्षीय उमर हयातलाई मृत्युदण्डको फैसला सुनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको अदालतले १७ वर्षीया टिकटक इन्फ्लुएन्सर साना युसुफको हत्यामा २३ वर्षीय उमर हयातलाई मृत्युदण्डको फैसला सुनाएको छ।
  • सानाको हत्या घटनाले पाकिस्तानमा महिला सुरक्षाको विषयमा राष्ट्रव्यापी बहस सिर्जना गरेको छ र मानव अधिकार आयोगले सम्मान हत्या बढेको जनाएको छ।
  • पीडितका पिता हसन युसुफले यो फैसला समाजका लागि कडा सन्देश भएको बताउनुभएको छ र अभियुक्तले सानाप्रति एकतर्फी पागलपन बढेको स्वीकार गरेका थिए।

६ जेठ, काठमाडौं । पाकिस्तानको एक अदालतले १७ वर्षीया टिकटक र इन्स्टाग्राम इन्फ्लुएन्सर साना युसुफको हत्यामा दोषी ठहर गर्दै २३ वर्षीय उमर हयातलाई मृत्युदण्डको फैसला सुनाएको छ। गत वर्ष जुन २ मा आफ्नै घरमा गोली हानी हत्या गरिएकी सानाको घटनाले पाकिस्तानमा महिला सुरक्षाको विषयलाई लिएर राष्ट्रव्यापी बहस सिर्जना गरेको थियो।

अदालतको यो फैसलापछि मिडियासँग कुरा गर्दै पीडित सानाका पिता हसन युसुफले यो निर्णय केवल आफ्नो परिवारका लागि मात्र नभएर सम्पूर्ण समाजका लागि एउटा पाठ भएको बताएका छन्। उनले यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिहरूका लागि यो फैसला एउटा कडा सन्देश भएको र यस्तो जघन्य अपराध गर्ने जो कोहीले पनि यस्तै परिणाम भोग्नुपर्ने बताए।

इस्लामाबादका प्रहरी महानिरीक्षक सैयद अली नासिर रिज्भीका अनुसार यो घटना ‘बारम्बार अस्वीकार’ को परिणाम थियो। अभियुक्त हयातले गत जुलाईमा दिएको बयानमा सानासँगको अनलाइन अन्तर्क्रियापछि उनीप्रति एकतर्फी पागलपन बढेको स्वीकार गरेका थिए।

घटना विवरणअनुसार, हयात सानाको जन्मदिनमा शुभकामना दिन भनेर मे महिनाको अन्त्यमा इस्लामाबाद आएका थिए तर भेट हुन सकेन। सानाले आफूलाई जानाजानी बेवास्ता गरेको शंका गर्दै हयातले जुन २ का दिन हतियारसहित उनको घर पुगेका थिए। त्यहाँ भएको विवादपछि हयातले सानाको गोली हानी हत्या गरेका थिए । यस घटनालाई सानाकी आमा र फुपूले प्रत्यक्ष देखेका थिए। पछि बयान फेर्दै अभियुक्तले भने दुवैबीच कुनै सम्पर्क नभएको र झगडा नभएको दाबी गरेका थिए।

यस घटनाले पाकिस्तानमा महिलाविरुद्धको हिंसा र सामाजिक सञ्जालमा सक्रिय महिलाहरूको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। ‘डिजिटल राइट्स फाउन्डेशन’ की कार्यकारी निर्देशक निगत दादका अनुसार सानाको हत्या एउटा छुट्टै घटना नभई महिलाको स्वतन्त्रता र उपस्थितिप्रति असहिष्णु समाजको परिणाम हो।

उनले भनिन्, “जब युवा महिलाहरू आफ्ना सीमाहरू कायम राख्छन् वा रोमान्टिक प्रस्तावहरूलाई अस्वीकार गर्छन्, तब पुरुषको अहङ्कारमा चोट लाग्छ, विशेष गरी त्यस्तो समाजमा जहाँ पुरुषहरूलाई महिलाको शरीर र रोजाइमा हक रहेको सिकाइन्छ।”

पाकिस्तानको मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पाकिस्तानमा सन् २०२३ मा ३२४ जना महिलाको ‘सम्मान’ का नाममा हत्या भएको थियो भने सन् २०२४ मा यो संख्या बढेर ३४६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?