News Summary
Generated by OK AI. Editorially reviewed.- काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले बलियो टोली इरानको सामना गर्दैछ ।
- समूह \'बी\' को विजेता इरान प्रतियोगितामा अहिलेसम्म अपराजित छ भने समूह \'ए\' को उपविजेता नेपालले २ जित र १ हार बेहोरेको छ ।
- यसअघि सन् २०२४ मा काठमाडौंमै भएको खेलमा नेपाल र इरान दुवैले १–१ खेल जितेका थिए ।
१३ जेठ, काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपालले बिहीबार बलियो टोली इरानसँग दोस्रो सेमिफाइनल खेल खेल्दैछ ।
साविक विजेता समेत रहेको इरान समूह ‘बी’ मा अपराजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो भने नेपाल समूह ‘ए’ को उपविजेता ।
पहिलो खेलमै भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित हुँदै प्रतियोगिता सुरु गरेको नेपालले कीर्गिस्तान र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
इरानले भने बंगलादेश, श्रीलंका र कजाखस्तानलाई समान ३-० सेटमा पराजित गरेर सेमिफाइनल पुगेको हो ।
इरानले समूह चरणमा तीन खेल जित्दा अहिलेसम्म कुनैपनि सेट गुमाएको छैन भने कुल ९ सेट जितेको छ । नेपालले भने तीन खेलमा ८ सेट जित्दा ३ सेट गुमाएको छ ।
सेमिफाइनलका लागि तयार दुव टोली
नेपाल र इरान दुवै टोली अपेक्षा अनुरुप नै सेमिफाइनलमा प्रवेश गरेका हुन् । उपाधि जित्ने लक्ष्यका साथ कोर्टमा उत्रेका दुवै टोली सेमिफाइनलका लागि तयार छन् ।
समूह चरणको खेलपछि नेपालले तीन दिनको आराम पाएको छ भने इरान दुई दिनको ब्रेकपछि सेमिफाइनल खेल्दैछ ।
समूहको अन्तिम खेलमा माल्दिभ्सलाई हराएर सेमिफाइनल प्रवेश गरेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले नेपालले सेमिफाइनलमा जुन टोली आएपनि खेल्न तयार रहेको बताएका थिए ।
अर्को समूहमा इरानले कजाखस्तानलाई हराएपछि नेपालले सेमिफाइनलमा इरानसँग खेल्ने पक्का भएको थियो ।
त्यसपछि जगदिश भट्ट केही सजग भने छन् । उनले इरानसँग विगतमा पनि खेलिसकेको अनुभव रहेकोले आफ्नो रणनिति अनुसार सेमिफाइनलमा खेल्ने बताए । ‘इरान बलियो टोली हो । उनीहरुसँग लगातार खेलेको अनुभव छ । तर सेमिफाइनलमा हामी आफ्नो रणनीति प्रयोग गर्दै जितका लागि खेल्छाैं’ भट्टले भने ।

एफआईभीबी वरियतामा सबैभन्दा माथिको वरियतामा रहेको कजाखस्तानलाई इरानले हराएपछि नेपाली टिम पनि सजग छ । घरेलु कोर्ट र समर्थकको साथमा इरानलाई हराउने नेपालको लक्ष्य छ ।
समूह चरणको अन्तिम खेलमा कजाखस्तानलाई सोझो सेटमा हराएर सेमिफाइनल पुगेपछि इरानी टोलीको आत्मविश्वास बढेको छ । इरानले अब एक मात्र लक्ष्य उपाधि रहेको बताएको छ । साविक विजेताको रुपमा इरान उपाधि रक्षा गर्न आतुर छ ।
कजाखस्तानलाई हराएपछि इरानकी सेफिनुड दास्तबार्जनले नेपालसँग सेमिफाइनल खेल्न उत्साहित रहेको बताएकी थिइन् । ‘कोर्टमा धेरै दर्शक उपस्थित हुनेछ भन्ने हामीलाई थाहा छ । नेपाललाई घरेलु समर्थन हुनेछ। तर हामी मानसिक रुपमा त्यसका लागि तयार छाैं’ उनले भनिन्, ‘प्रतिद्वन्द्वी जो भएपनि हामी उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यमा हुनेछाेँ ।’ उनले इरानको लक्ष्य उपाधि जित्नु रहेको र एभिसी कपको लागि राम्रो तयारी गर्न रहेको प्रष्ट पारेकी थिइन् ।’
नेपाल र इरानको विगत
नेपाल र इरानबीच महिला भलिबलमा प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि दुई पटक आमने-सामने भइसकेका इरान र नेपाल काठमाडौंमै तेस्रो पटक भिड्न लागेका हुन् ।
यसअघि सन् २०२४ मै काठमाडौंमा भएको काभा महिला च्यालेन्ज लिगमा दुई पटक भिडेका थिए जहाँ दुवैले एक- एक खेल जितेका थिए ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा लिग चरणमा इरानले नेपाललाई २५-१६, १६-२५, २५-२३, १४-२५, १५-१३ ले पराजित गरेको थियो ।
तर सेमिफाइनलमा नेपालले सोझो सेटमा इरानलाई हराएर हारको बदला लिएको थियो । इरानलाई २५-२१, २८-२६, २५-२० ले हराएर नेपाल त्यसबेला फाइनल पुगेको थियो । फाइनलमा नेपाल भारतसँग पाँच सेटमा पराजित हुँदा उपविजेता बनेको थियो ।
त्यही प्रतियोगिताको दोस्रो संस्करण उज्बेकिस्तानमा हुँदा इरानले पहिलो पटक उपाधि जितेको थियो भने यसपटक काठमाडौंमा उपाधि रक्षा गर्ने अभियानमा इरान छ ।
नेपाल पहिलो पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । त्यसअघि इरानको चुनाती पन्छाउनुपर्नेछ ।
प्रतिक्रिया 4