+
+
Shares

ब्याजदर करिडोर प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार अन्तर बैंक ब्याजदर नियन्त्रणमा स्थायी निक्षेप सुविधा निकै प्रभावकारी देखिएको छ ।
  • स्थायी निक्षेप सुविधा प्रयोग गर्न नपाउने दिन अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा न्यून हुने गरेको अध्ययनले औंल्याएको छ ।
  • अन्तर बैंक ब्याजदर सन्तुलनमा राख्न केन्द्रीय बैंकले जेठको पहिलो सातादेखि दैनिक रूपमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउन थालेको छ ।

१९ जेठ, काठमाडौं । अन्तर बैंक ब्याजदर नियन्त्रणको प्रमुख औजार स्थायी निक्षेप सुविधा बनेको देखिएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन अनुसार अन्तर बैंकदर घट्नु र बढ्नुमा स्थायी निक्षेप सुविधाको प्रयोगले निर्धारण गरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकका सहायक निर्देशक भिक्टर कुमार सापकोटाको अध्ययन प्रतिवेदन अनुसार अन्तर बैंक ब्याजदर नियन्त्रणमा स्थायी निक्षेप सुविधा निकै प्रभावकारी देखिएको छ । स्थायी निक्षेप राख्न नपाउने दिन बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा न्यून हुने गरेको अध्ययनको निष्कर्ष छ ।

केन्द्रीय बैंकले तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापन गर्न ब्याजदर करिडोर लागु गरेको छ । त्यसका लागि बैंकले तोक्ने नीतिगत दरलाई करिडोरसँग जोडिएको छ । बैंकले तोक्ने अल्पकालीन ब्याजदर, नीतिगत दर, बैंकदर तथा स्थायी निक्षेप दरको आधारमा ब्याजदर करिडोरलाई कार्यान्वयन गरिएको छ ।

हाल केन्द्रीय बैंकले बैंक दर ५.७५, नीतिगत दर ४.२५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत तोकेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउने वा खिच्ने काम यिनै दरमा निर्भर रहन्छ ।

वित्तीय प्रणालीमा तरलता अभाव भई बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट तरलता लिनुपर्ने अवस्थामा स्थायी तरलता सुविधाको प्रयोग गर्छन् । यो सुविधा प्रयोग गरेबापत बैंक तथा वित्तीय संस्थाले बैंकदर अर्थात ब्याजदर करिडोरको माथिल्लो सीमा बराबरको ब्याजदर तिर्नुपर्छ । त्यसैगरी एक दिनको रिपो प्रयोग गर्दा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई रिपो रेट अर्थात् नीतिगत दर बराबरको शुल्क तिर्नु पर्छ ।

त्यसैगरी वित्तीय प्रणालीमा अधिक तरलता भयो र केन्द्रीय बैंकमा राख्नुपर्ने अवस्था आएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत् अल्पकालका लागि केन्द्रीय बैंकमा पैसा राख्छन् । सो वापत बैंक तथा वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याजदर पाउँछन् ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउने र खिच्ने आधार भनेको अन्तर बैंक ब्याजदर हो । बैंकहरूले एक आपसमा कारोबार गर्दा कति दरमा लेनदेन गर्छन् सो आधारमा तरलता पठाउने र खिच्ने निर्णय केन्द्रीय बैंकले गर्छ । त्यसका लागि केन्द्रीय बैंकले अधिक तरलता भएको खण्डमा अन्तर बैंक दर करिडोरको तल्लो सीमाभन्दा कम हुन दिँदैन भने तरलता संकुचन भएको अवस्थामा माथिल्लो दरभन्दा माथि जान नदिनेगरी तरलता पठाउने वा खिच्ने गर्छ ।

सापकोटाको सो अध्ययन अनुसार पनि बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप राख्न नपाउँदा अन्तर बैंक दर २.७५ प्रतिशतभन्दा तल आउने गरेको छ । केन्द्रीय बैंकको स्थायी निक्षेप दैनिक प्रयोग नहुँदा ब्याजदर करिडोरको तल्लो सीमा र अन्तर बैंक दर निकै फरक हुन थालेपछि जेठको पहिलो सातादेखि दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ ।

सो भन्दाअघि आइतबार, मंगलबार र बिहीबार मात्रै स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्था थियो । यस्तो व्यवस्थामा यो सुविधा प्रयोग गर्न नपाउने दिन अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा निकै न्यून हुने गरेको अध्ययनले देखिएको छ ।

स्थायी निक्षेप सम्बन्धी नयाँ व्यवस्था अनुसार स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको, दैनिक रूपमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम गरेको खण्डमा मात्र सुविधाको प्रयोग गर्न पाउने व्यवसथा छ ।

स्थायीे निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्छ । स्थायी निक्षेप सुविधा बैंक खुलेको प्रत्येक दिन प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन स्थायी निक्षेप सुविधा उपलब्ध हुँदैन ।

तर त्यसपूर्व उपलब्ध गराइएका यस्तो सुविधा बापतको रकम र तोकिएको ब्याजदरका हिसाबले हुने ब्याज रकम बिदा परेको दिन समेत सम्बन्धित काउन्टरपार्टीको बैंक खातामा जम्मा गर्न सकिनेछ । निक्षेप सुविधा भोलिपल्ट दिउँसो ३ बजेपछि परिपक्व भई भुक्तानी गरिने व्यवस्था केन्द्रीय बैंकको खुला बजार सञ्चालन कार्यविधिमा उल्लेख छ।

अध्ययन प्रतिवेदनले स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने दिन ब्याजदर करिडोको तल्लो सीमा भन्दा अन्तरबैंक दर न्यून नहुने सम्भावना ९१ प्रतिशत देखिन्छ । तर, स्थायी निक्षेप नहुँदा अन्तर बैंक दर स्थायी निक्षेप सुविधा दर भन्दा निकै कम कायम हुने गरेको अध्ययनले औंल्याएको छ ।

साथै अध्ययनले पनि स्थायी निक्षेप सुविधा प्रयोगको दिन बढाउन सुझाएको छ । केन्द्रीय बैंकले पनि स्थायी निक्षेप सुविधा कार्यालय खुल्ने हरेक दिन उपलब्ध हुने व्यवस्था गरिसकेको छ । साथै अध्ययनले स्थायी निक्षेप सुविधालाई स्वचालित बनाउन पनि सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?