१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आयोगको सदस्यमा पाँच जना मनोनीत गरेका छन् । उनले मंगलबार प्रदेशगत रूपमा पाँच जना मनोनीत गरेका हुन् ।
जसमा कोशी प्रदेशबाट नारायण प्याकुरेल, मधेश प्रदेशबाट कुमार आनन्द मिश्र, बागमती प्रदेशबाट सुमित्रा पण्डित, गण्डकी प्रदेशबाट राम गुरुङ र लुम्बिनी प्रदेशबाट गोकुल सापकोटा नियुक्त भएका छन् ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हकमा भने आगामी बैठकमा छलफल गरेर निर्णय लिइने आयोगका प्रमुख केसीले भनेका छन् ।
नियुक्त सदस्यहरूलाई पार्टीको प्रदेश अधिवेशनको सहजीकरण र समन्वयका साथै प्रदेश निर्वाचन आयोग गठन गर्ने पूर्ण जिम्मेवारी दिइएको छ ।
यसअघि रास्वपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनीत गरेको थियो ।
पहिले आयोगको प्रमुख रहेका भरतमणि देवकोटाले राजीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो ।
प्रतिक्रिया 4