+
+
Shares

फ्लाई दुबईद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, उडानमा चासो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ९:३५

२० जेठ, पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई)को वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले विमानस्थलको स्थलगत निरीक्षण तथा प्राविधिक छलफल गरेको छ।

टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा छलफल गर्दै धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनसँग सम्बन्धित पक्षको अध्ययन गरेको थियो।

निरीक्षणपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भएको भेटमा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले तयार रहेको धारणा व्यक्त गर्दै पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न फ्लाई दुबई इच्छुक रहेको बताएका छन्।

उनले उडान मार्ग सहज बनाउन र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि महानगर प्रमुख आचार्यले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

फ्लाई दुबईले पोखराबाट उडान सुरु गरेपछि इमिरेट्सको विश्वव्यापी सञ्जालमार्फत पोखरा तीन सयभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिने अपेक्षा गरिएको छ। यसबाट युरोप, अमेरिका र अफ्रिकासहितका विभिन्न मुलुकका पर्यटकलाई दुबई हुँदै पोखरा आउन सहज हुने विश्वास गरिएको छ।

महानगर प्रमुख आचार्यका अनुसार लामो समयदेखिको पहल, प्राविधिक निरीक्षण र सरोकारवालाबीचको छलफलपछि नियमित उडानको मिति सार्वजनिक गर्ने चरणमा काम पुगेको छ ।

उनले फ्लाई दुबईको चासो र हालसम्मको प्रगतिले पोखरावासी तथा पर्यटन व्यवसायीमा उत्साह थपिएको उल्लेख गर्दै उक्त उडान पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग सिधा जोड्ने महत्वपूर्ण माध्यम बन्ने बताए ।

उडान सञ्चालनमा आए गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता कम हुने तथा मध्यपूर्वसहित विश्वका विभिन्न मुलुकबाट सिधै पर्यटक भित्रिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?