+
+
Shares

मेची-महाकाली यात्रामा देखिएको दक्षिणी सीमाको यथार्थ 

मेचीको काँकडभिट्टादेखि महाकालीको गड्डाचौकीसम्मको साइकल यात्रा गर्न ३० दिन लागे पनि यो भूगोलको अध्ययन मात्र रहेन, यो नेपालको दक्षिणी सीमाको बहुआयामिक यथार्थलाई नजिकबाट बुझ्ने एउटा जीवन्त अनुभव बन्यो।

युकेश उप्रेती युकेश उप्रेती
२०८३ जेठ २० गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीले २३ कात्तिकदेखि २३ मंसिर २०८२ सम्म मेची-महाकाली सीमा क्षेत्रको एक महिने साइकल यात्रा पूरा गरे ।
  • सीमा सुशासन सुदृढ गर्न सशस्त्र प्रहरी बलसहितका निकायहरू क्रियाशील रहे पनि अन्तर-निकाय समन्वयलाई कानूनी रूपमा संस्थागत गर्न आवश्यक देखिएको छ ।
  • सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रको मूलधारसँग जोड्दै उनीहरूको पहुँच, अवसर र सम्मान सुनिश्चित गर्ने नीति बनाउन यात्राले जोड दिएको छ ।

कुनै पनि देशको सीमा दुई राष्ट्रलाई छुट्याउने रेखा मात्र नभई दुई सभ्यता, संस्कृति, समाज र मानिसका भावनालाई जोड्ने जीवनरेखा हो ।

सीमा नै देशको पहिलो भूभाग हो, जसले सम्पूर्ण राष्ट्रको सम्प्रभुता, स्वाधीनता, सुरक्षा र गरिमालाई प्रतिविम्बित गर्दछ ।

नेपालको दक्षिणी सीमा नक्सामा कोरिएको एउटा रेखा मात्र नभई तराई, चुरे पहाड, घना जङ्गल, सीमावर्ती बस्ती र हजारौं मानिसको दैनिक जीवनसँग गाँसिएको जीवित भूगोल पनि हो।

दशकौं देखि भएका अधिकांश अध्ययन तथा अनुसन्धानहरूले नेपालको दक्षिणी सीमालाई मुख्यतः आवागमन, आप्रवासन र अवैध सीमापार गतिविधिका दृष्टिले चुनौतीपूर्ण र संवेदनशील क्षेत्रका रूपमा चित्रण गर्दै आइएका छन् ।

हाम्रो सामूहिक बुझाइमा पनि दक्षिणी सीमा सुरक्षा चुनौती र रणनीतिक संवेदनशीलतासँग जोडिएको छ।

यसै कुरालाई नजिकबाट बुझ्न, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन, आशा र अपेक्षालाई महसुस गर्न मैले साइकल यात्राको माध्यमबाट नेपालको पूर्वी नाका मेचीको काँकडभिट्टादेखि पश्चिमी नाका महाकालीको गड्डाचौकीसम्मको एक महिने यात्रामा निस्कने निर्णय गरेँ। २३ कात्तिक २०८२  मा झापाबाट सुरु भएको मेरो यो यात्रा २३ मंसिर २०८२ मा कञ्चनपुरमा पुगेर पूरा भएको थियो ।

यस यात्राको मुख्य उद्देश्य दक्षिणी नेपालको भौगोलिक यथार्थ बुझ्नु, सीमावासीका समस्या र अनुभूति सुन्नु तथा सीमा सुशासनमा संलग्न निकायहरूको भूमिकालाई प्रत्यक्ष अवलोकन गर्नु थियो। मेचीदेखि महाकालीसम्मको यस यात्रामा मैले देखेका दृश्य, भेटेका मानिस र बुझेका यथार्थहरूको सँगालो यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।

(नेपालको पूर्वी नाका मेची काँकडभिट्टाबाट यात्रा प्रारम्भ गर्दाको क्षण)

नेपालको दक्षिणी सीमाको भूगोल

मेरो यात्रा केवल नेपालको भूगोल पार गर्ने मात्र नभई दुई देशका संस्कार, सम्बन्ध र सीमाले गाँसेको साझा जीवन बुझ्ने अवसर पनि थियो।

नेपालको दक्षिणी सीमाले छोएका ६ वटा प्रदेश र २१ वटा सीमावर्ती जिल्ला र अर्कोपट्टि भारतका पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यहरू फैलिएको यस विशाल क्षेत्रफलको अनुभूति गर्न पाउँदा म अत्यन्तै खुसी छु।

पूर्वी नेपालको सिमानामा बग्ने मेची नदीले दुई देशलाई प्राकृतिक रूपमा छुट्याएको भए तापनि नेपालको महेशपुर भन्ने ठाउँ मेची खोलापारि रहेछ ।

खोलाले दुई देशबीच रेखा कोरे पनि, दुवैतर्फका बस्तीहरूबीचको आत्मीयता, संस्कार र दैनिक जीवनको सम्बन्ध भने एउटै धड्कनजस्तै देखिन्थ्यो।

नेपालको दक्षिणी सीमा नक्सामा कोरिएको एउटा रेखा मात्र नभई तराई, चुरे पहाड, घना जङ्गल, सीमावर्ती बस्ती र हजारौं मानिसको दैनिक जीवनसँग गाँसिएको जीवित भूगोल पनि हो।

सो क्षेत्रबाट अगाडि बढ्दै जाँदा नेपालको सबैभन्दा होचो भूभागका रूपमा परिचित केचनाबाट नेपालको दक्षिणी सीमाको आरम्भ बिन्दु मानिन्छ।

यात्राका क्रममा सीमारेखा निर्धारणका विविध स्वरूप देखिए। कतै नदी नै सीमा बनेको छ भने कतै कृत्रिम स्तम्भ र काल्पनिक रेखाले भूगोल छुट्याएको छ। झापाको कन्काई नदी पार गर्ने क्रममा सडक नभएकाले डुङ्गाको सहारा लिनुपर्‍यो।

निर्माणाधीन हुलाकी राजमार्गले भविष्यमा यात्रालाई सहज बनाउने आशा जगाए पनि वर्तमानमा सीमाक्षेत्रका धेरै नागरिक अझै प्रकृतिसँग सम्झौता गरेर जीवन बिताउन बाध्य छन्।

झापा जिल्लाको करिब १४८ किलोमिटर सीमाक्षेत्र पार गर्न तीन दिन लाग्यो। भूभाग समथर भए पनि दूरी र सीमाक्षेत्रको कमजोर पूर्वाधारका कारण यात्रा सहज भएन ।

जिल्लामा रहेका औपचारिक सीमा नाकाबाहेक स्थानीय आवश्यकताअनुसार बनाइएका अस्थायी तथा अनौपचारिक बाटाहरूले सीमावासीहरूको दैनिकीलाई सहज बनाइरहेका छन्।

(झापा जिल्लाको सीमावर्ती कन्काई नदी डुङ्गामा चढेर पार गर्दाको क्षण)

झापा र मोरङलाई छुट्याउने रतुवामाई नदी पार गर्दा भूगोलभन्दा बढी समाजको बनावटमा ध्यान पुग्न थाल्यो।

मोरङको समथर भूभाग, उर्वर जमिन र बाक्लो बस्ती झापासँग धेरै मिल्दोजुल्दो देखिए।

मोरङको रानी नाकामा सञ्चालनमा रहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) ले सीमापार व्यापार र आवागमनलाई व्यवस्थित बनाएको छ।

तर, सिक्टी र धनपटीजस्ता ग्रामीण सीमावर्ती क्षेत्रमा सीमाको अर्को पाटो देखियो, जहाँ सीमा राज्यको प्रशासनिक रेखाभन्दा बढी दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ।

हुलाकी राजमार्ग हुँदै सुनसरी प्रवेश गर्दा सीमावर्ती बस्तीहरूको जीवनशैली अझ स्पष्ट रूपमा अनुभूत भयो। देवानगन्ज, कप्तानगन्ज, घुस्की र वसन्तपुरजस्ता क्षेत्रहरूमा सीमासँग गाँसिएको श्रमजीवी जीवन देखिन्थ्यो ।

पूर्व–पश्चिम राजमार्गनजिकै रहेका उल्टी, लौकही र हरिनगरजस्ता स्थानहरू सीमावर्ती व्यापार र आवागमनका केन्द्रका रूपमा विकसित भएका छन्।

(मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको सीमावर्ती सिक्टी क्षेत्रको एक झलक)

सुनसरी र मधेश प्रदेशको सिमाना कोशी नदीले निर्धारण गरेको छ। विशाल कोसी पुल पार गर्दै मधेश प्रदेशमा प्रवेश गर्दा, उस्तै भूगोल, उस्तै हावाको लय, उस्तै माटोको गन्ध भए पनि, भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज र जीवनशैली भने फरक भएको अनुभूति गरेँ।

मधेश प्रदेशको समथर भूभाग, खेतीयोग्य जमिन र बाक्लो मानव बस्तीले यात्रालाई अत्यन्त सहज बनाइरहेको थियो ।

सप्तरीको तिलाठी, छिन्नमस्ता हुँदै सिरहाको इनर्वा नाका पुग्दा कतिपय स्थानमा भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था आयो।

दशगजाको छेउमै फस्टाएका बजारहरूले सीमा केवल विभाजन नभई, परस्पर निर्भरता पनि हो कि भन्ने मनमा लाग्थ्यो।

(धनुषा जिल्लाको नगराइन नगरपालिकाको सीमावर्ती देवडिया क्षेत्रको दशगजा छेउमा रहेको बजार)

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासम्म पुग्दा तराईको उर्वर क्षेत्र, मिश्रित जनसङ्ख्या र सीमापार सामाजिक सम्बन्ध अझ प्रस्ट रूपमा बुझ्न पाएँ। सर्लाहीबाट रौतहट प्रवेश गर्दा बागमती नदी डुङ्गामार्फत पार गर्नु यात्राको अविस्मरणीय अनुभव बन्यो ।

वीरगन्ज आसपासका सीमाक्षेत्रहरू व्यापारिक गतिविधिले अत्यन्त व्यस्त देखिन्थे। सीमावर्ती भारतीय बजार र नेपाली सहरहरूबीचको आर्थिक अन्तरसम्बन्ध सहजै बुझिन्थ्यो।

यस क्षेत्रको उर्वर भूमि, बहुभाषिक तथा मिश्रित जनसङ्ख्या र सीमापार सामाजिक सम्बन्धहरूले नेपालको समृद्धिको सम्भावनालाई अझ स्पष्ट रूपमा उजागर गर्छन् ।

यदि राज्यले यी विशेषताहरूलाई चुनौतीका रूपमा नभई, अवसरका रूपमा ग्रहण गर्दै दीर्घकालीन नीति र योजनामार्फत उपयोग गर्न सके, तराईको कृषि उत्पादनले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ। त्यसैगरी, सीमावर्ती समाजबीचको आत्मीय सम्बन्ध र सांस्कृतिक निकटताले सामाजिक सद्भाव, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

यस्तो सम्भावनाको प्रभावकारी उपयोगले नेपाललाई समृद्ध, आत्मनिर्भर र सुदृढ राष्ट्रका रूपमा अघि बढाउन महत्त्वपूर्ण आधार प्रदान गर्नेछ।

पर्साको सुवर्णपुर पुग्दा भूगोल अचानक बदलिन थाल्यो। समथर तराईबाट उकालो लाग्दै चुरे क्षेत्रमा प्रवेश गर्दा सीमाको अर्को अनुहार देखा पर्‍यो ।

हराभरा जङ्गल, घुमाउरा बाटा र पर्यटकीय सम्भावना बोकेको ठोरी क्षेत्र प्राकृतिक सौन्दर्यले भरिएको थियो। तर, यहीँबाट यात्रा जटिल बन्न थाल्यो। चितवन राष्ट्रिय निकुञ्ज पार गर्न सहज मार्ग नभएकाले भारततर्फको सीमा सडक प्रयोग गर्दै करिब १०५ किलोमिटर यात्रा गरेर त्रिवेणी पुग्नुपर्‍यो।

भारत सरकारले निर्माण गरेको ‘सीमा पथ’ ले त्यहाँको सीमाक्षेत्रमा पूर्वाधार विस्तारलाई कति प्राथमिकता दिएको छ भन्ने सङ्केत गर्‍थ्यो।

गण्डकी प्रदेशअन्तर्गत नवलपुरको त्रिवेणी धार्मिक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो ।

नारायणी नदी किनारमा रहेको यस क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूले गण्डक सम्झौताका कारण ठूलो पूर्वाधार निर्माणमा कठिनाइ रहेको गुनासो सुनाए ।

नजिकै रहेको वाल्मीकि आश्रम धार्मिक आस्था र सांस्कृतिक महत्त्वको केन्द्र भए पनि संरक्षणको पर्खाइमा देखिन्थ्यो।

सुस्ता, बलिनगर, गुठीप्रसौनी हुँदै रुपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगरसम्म पुग्दा सीमाक्षेत्र फेरि समथर र व्यस्त देखियो ।

तर, दाङ प्रवेश गर्न फेरि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रह्यो, किनकि नेपाली भूभागतर्फ घना जङ्गल र दुर्गम भूगोलले यात्रा कठिन बनाएको थियो। दाङको कोइलाबास, गुरुङ नाका, पटैली हुँदै सुनपत्थरीसम्म पुग्दा सीमाको वास्तविक कठिन जीवन देखियो।

सडकको अभाव, सञ्चार सुविधाको कमी, जङ्गली जनावरको त्रास र न्यून सरकारी उपस्थितिले यस सीमावर्ती क्षेत्रको जीवनलाई कष्टकर बनाएका छन्। सुगम नेपालभित्रै रहेको यस्तो दुर्गम वास्तविकता राज्यको ध्यान पुग्न बाँकी क्षेत्रजस्तो लाग्थ्यो।

(दाङ जिल्लाको सीमा इलाका)

बाँके र बर्दियातर्फ यात्रा अघि बढ्दै जाँदा भूभाग फेरि समथर भयो। तर, कोसी र मधेश प्रदेशको तुलनामा यहाँ जनघनत्व कम देखिन्थ्यो। बर्दिया जिल्लामा नेपाली सीमाक्षेत्र खेतीयोग्य जमिन र बस्तीहरू थिए भने भारतीय भूभागतर्फ घना जङ्गल फैलिएको देखिन्थ्यो।

पश्चिमतर्फ उकाली–ओरालीसँगै सुदूरपश्चिम प्रदेशको भूगोल सुरु भयो। अन्ततः महाकाली पुगेपछि यात्राले एउटा गहिरो भावनात्मक पूर्णता पायो ।

नेपालको दक्षिणी अन्तिम सीमास्तम्भ र त्रिकोणात्मक सीमास्तम्भमा पुगेर मैले केवल यात्रा मात्र पूरा नगरी समग्र सीमाको भूगोल, सीमावर्ती नागरिकको जीवन, राज्यको उपस्थिति र सीमाको यथार्थलाई नजिकबाट बुझ्ने मेरो सपनासमेत पूरा गरेँ।

(कञ्चनपुर जिल्लाको सिमानामा अवस्थित त्रिकोणात्मक सीमास्तम्भमा, जसले नेपाल, भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यलाई छुट्याउँछ)

यो यात्राले मलाई एउटा गहिरो सत्य बुझ्ने अवसर प्राप्त भयो; सीमा सुरक्षा र संवेदनशीलताको विषय मात्र होइन ।

यो एक सत्य तथा जीवित समाज, साझा संस्कार, सङ्घर्ष, सम्भावना र निरन्तर गतिशील जीवनको क्षेत्र हो ।

सीमामा बस्ने मानिसहरू राज्यका ‘अन्तिम नागरिक’ होइनन्, उनीहरू राष्ट्रका पहिलो प्रतिनिधि हुन्।

मेचीदेखि महाकालीसम्म साइकल चलाउँदा मैले देखेको दक्षिणी सीमा कहिले उर्वर खेत थियो, कहिले घना जङ्गल, कहिले व्यस्त व्यापारिक बजार त कहिले राज्यको पहुँच नपुगेका दुर्गम बस्तीहरू थिए ।

तर, प्रत्येक स्थानले एउटै कुरा भनेजस्तो लाग्थ्यो, सीमालाई केवल सुरक्षा दृष्टिले मात्र होइन, सुशासन तथा सहकार्यको दृष्टिबाट समेत बुझ्न आवश्यक छ।

सुशासनको प्रयास

नेपाल सरकारले सुदृढ सीमा सुशासन सुनिश्चित गर्न विभिन्न नीति, संरचना र कार्यक्रममार्फत निरन्तर प्रयास गर्दै आएको देखिन्छ ।

मेरो अवलोकनका क्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, भन्सार कार्यालय, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय, स्वास्थ्य कार्यालय, वडा कार्यालयहरू तथा गैरसरकारी संस्थाहरू सीमाक्षेत्रमा सक्रिय रूपमा परिचालित रहेको पाइयो। यी सबै निकायहरू आ-आफ्नो अधिकारक्षेत्रभित्र रही सीमा व्यवस्थापन, सुरक्षा तथा सेवा प्रवाह र जनसम्पर्क सुदृढ गर्न योगदान पुर्‍याइरहेका छन्।

ग्रामीण तथा दुर्गम सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलले नियमित सुरक्षा प्रदान गर्दै आएको छ।

सीमा निगरानी, अवैध आवतजावत नियन्त्रण, तस्करी रोकथाम, सीमा अपराध नियन्त्रण तथा सीमावासीको सुरक्षा सुनिश्चित गर्नु सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी हुन्।

यसै सन्दर्भमा सशस्त्र प्रहरी बलद्वारा संयुक्त गस्ती, लिङ्क गस्ती, सहायता डेस्क सञ्चालन तथा सीमा क्षेत्र विकास कार्यक्रम जस्ता पहलहरू प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएका छन्, जसले सीमा सुरक्षासँगै जनविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याएका छन्।

समग्रमा, नेपाल सरकारले सीमा सुशासन सुधारका लागि उल्लेखनीय प्रयास गरेको भए तापनि अन्तर–निकाय समन्वयलाई कानुनी रूपमा संस्थागत गर्ने, ग्रामीण सीमाक्षेत्रमा आवश्यक निकायहरूको उपस्थितिलाई सुदृढ गर्ने र संयुक्त संयन्त्रलाई समावेशी बनाउने आवश्यकता अझै बाँकी रहेको देखिन्छ।

भन्सार कार्यालयले मुख्य रूपमा व्यापार सहजीकरण, राजस्व सङ्कलन, आयात–निर्यात व्यवस्थापन तथा अवैध व्यापार नियन्त्रणमा ध्यान केन्द्रित गरेको देखिन्छ।

तर, ग्रामीण सीमाक्षेत्रका धेरै भन्सार कार्यालयहरू जनशक्ति अभाव वा रिक्त अवस्थाका कारण अपेक्षित रूपमा सञ्चालन हुन नसक्नु सीमा सुशासनका लागि चुनौतीको रूपमा देखा परेको छ। अध्यागमन कार्यालयले आवागमन व्यवस्थापन, यात्रु अभिलेखीकरण तथा कानुनी प्रवेश निष्कासन सुनिश्चित गर्ने कार्य गरिरहेको छ भने क्वारेन्टाइन र स्वास्थ्य कार्यालयहरूले सीमा नाकाबाट हुने रोगको जोखिम न्यूनीकरण, स्वास्थ्य परीक्षण तथा जनस्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

स्थानीय तहअन्तर्गतका वडा कार्यालयहरू र गैरसरकारी संस्थाहरूले सीमावासीको सचेतना अभिवृद्धि, सामाजिक सेवा, समन्वय तथा समुदाय आधारित पहलहरूमार्फत सीमा सुशासनलाई सबल बनाउन सहयोग पुर्‍याइरहेका छन्।

यी सबै निकायहरूको साझा आवाज भनेको प्रभावकारी संयुक्त संयन्त्र को कानुनी मान्यता र संस्थागत मजबुती हो।

हाल सशस्त्र प्रहरी बलले सीमा सहजीकरण समिति निर्माण गरी सबै सरोकारवाला निकायहरूलाई समेटी संयुक्त संयन्त्रको रूपमा कार्य गरिरहेको छ।

समग्रमा, नेपाल सरकारले सीमा सुशासन सुधारका लागि उल्लेखनीय प्रयास गरेको भए तापनि अन्तर–निकाय समन्वयलाई कानुनी रूपमा संस्थागत गर्ने, ग्रामीण सीमाक्षेत्रमा आवश्यक निकायहरूको उपस्थितिलाई सुदृढ गर्ने र संयुक्त संयन्त्रलाई समावेशी बनाउने आवश्यकता अझै बाँकी रहेको देखिन्छ।

(पूर्वी नवलपरासी जिल्लाको त्रिवेणी नाकामा रहेका सरकारी, गैरसरकारी संस्था तथा स्थानीय बासिन्दाहरूसँगको सामूहिक तस्वीर )

मैले नेपालका सीमावर्ती भूभागहरूमा भ्रमण गर्दा सीमा समुदायसम्बन्धी गहिरो दृष्टिकोण बुझ्ने अवसर प्राप्त गरेँ। यो कुनै पनि आधिकारिक प्रतिवेदन, सर्वेक्षण वा नीतिगत दस्तावेजमा नसमेटिएको एक मानवीय संसार हो, जसले राष्ट्रको सिमानाको भार वहन गरिरहेको छ।

नेपालका सीमावर्ती क्षेत्रमा सतार, मेचे, राजवंशी, धिमाल, यादव र थारू समुदायहरू बसोबास गर्दछन्।

प्रायः आधारभूत सुविधा र आर्थिक अवसरहरूको अभावमा उनीहरू जीवनयापन गरिरहेका छन्।

विकासका परम्परागत मापदण्डले हेर्दा, यी बस्तीहरू पछाडि परेका जस्ता देखिन्छन्। बाटाघाटा कमजोर छन्, सार्वजनिक सेवा अपुग छन् र आर्थिक विकल्पहरू सीमित छन्।

तर, भौतिक समृद्धिको दृष्टिले मात्र उनीहरूको जीवनलाई मापन गर्नु भनेको उनीहरूलाई पूर्ण रूपमा नबुझ्नु हो।

सीमा समुदाय आर्थिक रूपले धनी नभए पनि मानवीयताको दृष्टिले उनीहरू अत्यन्तै धनी भएको मलाई आभास भयो।

हरेक ठाउँ, हरेक गाउँ तथा हरेक घरहरूमा मैले जीवनको एउटा मीठो संस्कार र आतिथ्य पाएँ, जुन आधुनिक संस्कृतिबाट बिल्कुल फरक छ।

हरेक घरका ढोकाहरू विनाहिचकिचाहट खुल्छन्, संवादहरू सरल र इमानदार छन् र सहयोग कर्तव्यका रूपमा होइन, स्वभावका रूपमा प्रदान गरिन्छ।

म एक यात्रु मात्र नभई सम्मानयोग्य पाहुनाका रूपमा स्वागत गरिएको अनुभूति पाएँ।

उहाँहरूबाट मैले जीवनमा वास्तविक सरलता र सन्तुष्टि ज्ञान, सम्पत्ति वा शौर्यले मात्र होइन, विनम्रता र शालीनताले निर्धारण गर्छ भन्ने कुरा गहिरो रूपमा बुझेँ। जीवन अभावग्रस्त तथा कठिन हुन सक्छ, तर हरेक अप्ठ्यारा सामना गर्न एउटा सुन्दर मुस्कानले अनेकौँ अभाव र कठिन परिस्थितिहरूसमेत मत्थर पारिदिन्छ भन्ने कुरा हरेक व्यक्तिको व्यवहारमा स्पष्ट देखियो।

(धनुषा जिल्लाको खजुरी भन्ने सीमा इलाकामा स्थानीय युवाहरूसँगको सामूहिक तस्वीर )

सीमा समुदाय सीमामा बसोबास गर्ने नागरिक मात्र होइनन्, राष्ट्रको अग्रपङ्क्तिका संरक्षक र सांस्कृतिक धरोहरका संवाहक हुन्।

यद्यपि, यति महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि यी समुदायहरू अझै पनि आफूलाई राज्यबाट टाढा भएको महसुस गर्छन्।

दैनिक आवश्यक सामग्रीहरू किनमेलका लागि समेत धेरै सीमावर्ती बासिन्दाहरूलाई भारततर्फ जान सजिलो पर्छ।

यो आर्थिक असुविधा मात्र नभई एउटा नीतिगत चुनौती हो, जसमा गम्भीर पुनर्विचार आवश्यक छ।

अनुकूल सीमावर्ती किनमेल नीति र स्थानीय बजार सुदृढीकरणले उनीहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ र राष्ट्रिय अर्थतन्त्रसँग उनीहरूको सम्बन्धलाई अझ मजबुत बनाउन सक्छ।

सीमा कुनै परिधि मात्र होइन, यो राष्ट्रिय पहिचानको एउटा महत्त्वपूर्ण केन्द्र हो।

सीमावासीलाई राष्ट्रको मूलधारसँग जोड्ने, उनीहरूको पहुँच, अवसर र सम्मान सुनिश्चित गर्ने नीति नै दीर्घकालीन रूपमा सुदृढ र समावेशी सीमा सुशासनको आधार बन्न सक्छ।

विशेषगरी नेपालको पूर्वी र मध्य सीमाक्षेत्रहरू, जहाँ अन्तरसीमा विवाह, साझा संस्कार, चाडपर्व र सांस्कृतिक परम्पराहरूले शताब्दीयौँदेखि समुदायहरूलाई जोडिरहेका छन्, यो कुरा झन् प्रस्ट देखिन्छ। यी सम्बन्धहरूले हामीलाई ‘सीमाले राज्यलाई परिभाषित गरे पनि मानिसहरूलाई विभाजित गर्दैन’ भन्ने सन्देश दिन्छन्।

अन्ततः मलाई सबैभन्दा गहिरो प्रभाव पार्ने कुरा नीति वा रणनीतिक महत्त्व नभई, सीमावासीको आँखाको स्पष्टता, स्वरको कोमलता, मुस्कानको सुन्दरता र सहज जीवन जिउने कला रहन गयो। उनीहरूको उपस्थिति तथा हाउभाउ यति सरल थियो कि त्यसले कोही पनि रोकिन, सोच्न र जीवनको वास्तविक अर्थ पुनः विचार गर्न बाध्य बनाउँछ।

आजको तीव्र गति, प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थले भरिएको समयमा, नेपालका सीमावर्ती समुदायहरूले हामीलाई बिर्सन थालेका मूल्यहरूलाई निःशब्द रूपमा जोगाई सरलता, पारस्परिक सहयोग, सामूहिकता र मानवीय एकताको पाठ पढाइरहेका छन्। यी समुदायहरूलाई राष्ट्रले टाढा र किनाराका रूपमा नभई, केन्द्रको अभिन्न अङ्गको रूपमा हेर्नुपर्छ। उनीहरू नेपालका सीमावासी मात्र होइनन्, नेपालका आधारस्तम्भ हुन्।

निष्कर्ष

मेचीको काँकडभिट्टादेखि महाकालीको गड्डाचौकीसम्मको साइकल यात्रा गर्न ३० दिन लागे पनि यो भूगोलको अध्ययन मात्र रहेन, यो नेपालको दक्षिणी सीमाको बहुआयामिक यथार्थलाई नजिकबाट बुझ्ने एउटा जीवन्त अनुभव बन्यो।

भौगोलिक विविधता, पूर्वाधारको असमान अवस्था र कतिपय स्थानमा रहेको दुर्गमता भए तापनि सीमाक्षेत्रले राष्ट्रको समग्र संरचनामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ। सरकारी निकायहरूको उपस्थिति र प्रयासहरू उल्लेखनीय देखिए पनि, अन्तर–निकाय समन्वयको अभाव, ग्रामीण क्षेत्रमा संस्थागत कमजोरी र सेवा प्रवाहमा असमानता अझै सुधार गर्नुपर्ने पक्षका रूपमा देखिन्छन्। प्रभावकारी सीमा सुशासनका लागि नीतिगत स्पष्टता, संस्थागत समन्वय र स्थानीय आवश्यकताअनुसारको हस्तक्षेप अपरिहार्य देखिन्छ।

यस यात्राको सबैभन्दा गहिरो शिक्षा भने सीमावासी समुदायसँग जोडिएको छ। आर्थिक रूपमा सीमित भए पनि उनीहरूको सामाजिक सद्भाव, सांस्कृतिक समृद्धि र मानवीय मूल्यले उनीहरूलाई अद्वितीय बनाएको छ। उनीहरू सीमामा बस्ने नागरिक मात्र होइनन्, राष्ट्रको पहिलो रेखाका संरक्षक र जीवित पहिचान हुन्। उनीहरूको जीवनस्तर सुधारबिना समग्र सीमा सुशासन सुदृढ हुन सक्दैन।

त्यसैले, सीमालाई सुरक्षा र व्यापारको दृष्टिले मात्र नभई मानव केन्द्रित विकास, सामाजिक समावेशिता र सांस्कृतिक संरक्षणको आधारका रूपमा बुझ्न आवश्यक छ।

सीमावासीलाई राष्ट्रको मूलधारसँग जोड्ने, उनीहरूको पहुँच, अवसर र सम्मान सुनिश्चित गर्ने नीति नै दीर्घकालीन रूपमा सुदृढ र समावेशी सीमा सुशासनको आधार बन्न सक्छ। अन्ततः नेपालको दक्षिणी सीमा हामीले सोचेजस्तो परिधि नभई राष्ट्रको धड्कनसँग जोडिएको जीवन्त क्षेत्र हो। यसलाई बुझ्न, सुदृढ बनाउन र समावेशी बनाउनु नै समृद्ध नेपालको मार्ग हो।

(नेपालको पश्चिमी नाका कञ्चनपुर जिल्लाको गड्डाचौकीमा साइकल यात्रा सकिँदाको क्षण)

(लेखक उप्रेती सशस्त्र  प्रहरी नायव उपरीक्षक (डीएसपी) हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?