२३ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा रोयम–नेपालले नागार्जुन नगरपालिका–२, सानोभर्याङस्थित कामना विद्यालयमा वातावरण तथा जलवायु सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
‘प्रकृतिबाट प्रेरित बनौं, जलवायु बचाऔं, भविष्य सुरक्षित गरौं’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा करिब ३०० विद्यार्थी, शिक्षक तथा रोयम–नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वातावरण संरक्षण, जलवायु परिवर्तनका असर तथा दिगो भविष्य निर्माणमा युवापुस्ताको भूमिका सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममार्फत वातावरणीय चुनौती, प्लास्टिक प्रदूषण, जैविक विविधता संरक्षण तथा दिगो जीवनशैलीका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा रोयम–नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जलवायु संकट अहिले विश्वकै साझा चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको समाधानका लागि युवाहरूलाई सशक्त र सचेत बनाउनु आवश्यक रहेको बताए ।
रोयम–नेपालकी वरिष्ठ कार्यक्रम संयोजक तारा भुसालले विद्यालयस्तरमा वातावरणीय चेतना विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् ।
विद्यार्थीहरूको सक्रिय सहभागिता, विद्यालयको सकारात्मक वातावरण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका कारण कामना विद्यालय छनोट गरिएको उनले बताइन् ।
कार्यक्रममा कक्षा ८, ९ र १० का १७ जना विद्यार्थीहरूले वातावरण संरक्षण, जलवायु परिवर्तन, प्लास्टिक प्रदूषण न्यूनीकरण, जैविक विविधता संरक्षण तथा दिगो जीवनशैलीसम्बन्धी प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा खुसी श्रेष्ठ प्रथम, तिनिसा पाण्डे द्वितीय, चञ्चला साह तृतीय तथा रोशनी कार्की सान्त्वना स्थान हासिल गर्न सफल भए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कक्षा १० की रुबिका घिमिरेले यस्ता कार्यक्रमले आफूहरूलाई वातावरणप्रति थप जिम्मेवार बन्न प्रेरणा दिएको बताइन् । अर्की सहभागी कक्षा १० की आर्सा परिवारले वातावरण संरक्षण घरबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै कामना विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, चेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई वातावरणमैत्री जीवनशैली अपनाउन, प्लास्टिकको प्रयोग घटाउन, वृक्षारोपण गर्न तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउन प्रेरित गरिएको थियो ।
प्रतिक्रिया 4