News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनका लागि सिफारिश समितिले ५० जना आवेदकमध्ये १० जनाको अल्पसूची सार्वजनिक गरेको छ ।
- सार्वजनिक अल्पसूचीमा विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिदेखि अमेरिकाको लुसियाना विश्वविद्यालयका प्राध्यापकसम्म समेटिएका छन् ।
- अल्पसूचीमा परेका उम्मेदवारका सम्बन्धमा २५ जेठ २०८३ भित्र गुगल लिङ्कमार्फत राय-सुझाव दिन सकिने समितिले जनाएको छ ।
२४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पूर्वउपकुलपतिदेखि विदेशी विश्वविद्यालयको प्राध्यापकसम्म प्रतिस्पर्धामा छन् । सिफारिस समितिले शुक्रबार १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
समितिले वर्णानुक्रमअनुसार सार्वजनिक गरेको अल्पसूचीमा प्रा.डा. अमरप्रसाद यादव छन् । उनी राजर्षिजनक विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । सरकारले अध्यादेशबाट सबै विश्वविद्यालयको उपकुलपतिलाई बर्खास्त गरेपछि उनी बाहिरिएका थिए । यसपटक उनी त्रिवि उपकुलपतिको दौडमा छन् ।
प्रा.डा. कविप्रसाद पोखरेल पनि सर्टलिस्टमा परेका छन् । उनी शिक्षाशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । अल्पसूचीमा परेका प्रा.डा. कृष्णराज आचार्य अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् ।
त्यसैगरी प्रा.डा. गोविन्द सुवेदी त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरका पूर्वप्रिन्सिपल हुन् । प्रा.डा. टंकनाथ धमला केन्द्रीय गणित विभाग र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका पूर्वप्रमुख हुन् । उनी त्रिविकै सन् १९८९ का टपर हुन् । उनले चान्स्लर गोल्ड मेडल पाएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा पनि उनी त्रिविको उपकुलपतिको दौडमा थिए । सिफारिस समितिले उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस गर्दा धमला पनि परेका थिए । तर त्यसबेला प्रा.डा. केशरजंग बराल उपकुलपति नियुक्त भएका थिए ।
प्रा.डा. ताराप्रसाद भुसाल अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् । उनी मानविकी तथा सामाजिकशाास्त्र संकायको पूर्वसहायक डिन हुन् । उनी हाल त्रिविको इन्क्युबेसन सेन्टरको निर्देशक पनि हुन् ।
प्रा.डा. दुर्गादत्त पौडेल अमेरिकाको लुसियाना विश्वविद्यालयका प्राध्यापक हुन् । यसपटक विदेशी विश्वविद्यालयमा कार्यरत प्राध्याकपले पनि त्रिविको उपकुलपतिका लागि आवेदन दिएका हुन् ।
प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्यसैगरी, प्रा.डा भोला थापा पनि काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । केयूका प्राध्यापक थापाले यसपटक त्रिविको उपकुलपतिका लागि आवेदन दिएका हुन् ।
अनुसन्धानकर्ता प्रा.डा. रामप्रसाद रेग्मी भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १० जनाको अल्पसूची तयार पारिएको हो । सिफारिस समितिका अनुसार विज्ञले दिएको नम्बरको आधारमा १० जनाको सूची तयार पारिएको हो ।
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
उम्मेदवारको सार्वजनिक राय–सुझाव
अब उम्मेदवारबारे सार्वजनिक राय–सुझाव दिन सकिने छ । भोलि सोमबारसम्म राय-सुझाव दिन समितिले भनेको छ । ‘अल्पसूचीमा रहेका उम्मेदवारहरूका सम्बन्धमा २०८३ जेठ २५ गतेभित्र यसैसाथ राखिएको गुगल लिङ्क प्रयोग गरी राय-सुझाव उपलब्ध गराउन सकिने बेहोरासमेत सबैमा अनुरोध छ,’ सिफारिस समितिले जारी गरेको सूचनामा भनिएको छ ।
त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ । अल्पसूचीमा परेका उम्मेदवारको विश्वविद्यालयसम्बन्धी सोचपत्र र रणनीतिक कार्ययोजनाको मूल्याङ्कन गरिने छ । सोचपत्र र कार्ययोजना एकभन्दा बढी विज्ञबाट गराइने छ । विज्ञ टिममा को–को छन् भन्ने सार्वजनिक गरिएको छैन । सिफारिस समितिले विज्ञको रोस्टर नै बनाएको छ ।
उपकुलपति उम्मेदवारको मूल्याङ्कनमा शिक्षामन्त्री सस्मित पोखरेलसहित सिफारिस समितिका सदस्य सहभागी हुने छैनन् । विज्ञ टिमले नै मूल्याङ्कन गर्नेछ । एउटा प्रक्रियामा सहभागी भएका विज्ञ अर्को प्रक्रियामा सहभागी नहुने समितिले जनाएको छ ।
पारदर्शिता र निष्पक्ष गर्नका लागि सिफारिस समितिका सदस्य मूल्याङ्कनमा सहभागी नहुने भएका हुन् । मन्त्रीको सचिवालयका अनुसार आवेदन दिएका उम्मेदवारलाई नम्बर विज्ञले नै नम्बर दिने छन् । सबै प्रक्रिया पूरा गरेर विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम कुलपतिलाई पठाइने सिफारिस समितिले जनाएको छ ।
प्रतिक्रिया 4