News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी हस्पिटालिटी ग्लोबल र म्यारिअट इन्टरनेसनलबीच नेपालमा दुईवटा अति विलासी होटल सञ्चालन गर्ने ऐतिहासिक सम्झौता भएको छ ।
- काठमाडौंको ठमेलमा १५ अर्ब रुपैयाँ लगानीमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ होटल निर्माण गरी सन् २०२९ सम्ममा सञ्चालनमा ल्याइने छ ।
- सम्झौता अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक १५० कोठा क्षमताको ‘द वेस्टिन काठमाडौं’ होटल समेत सञ्चालन गरिने छ ।
२४ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ ।
म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा नेपालमा दुई लक्जरी होटल र भारत सिलिगुडीमा एक होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।
म्यारिअट र सीजी दुवैै विश्वस्तरीय आतिथ्य ब्रान्ड हुन् । यस सम्झौतालाई दुवै पक्षले ऐतिहासिक भनेका छन् । अध्यक्ष चौधरीले भने, ‘नेपालको आतिथ्य उद्योग अब माथिल्लो स्तरमा जान तयार भयो भन्ने सन्देश यो सम्झौताले दिएको छ ।’
सम्झौता अनुसार नेपालमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ ब्रान्डमा होटल सञ्चालन हुनेछ । जुन नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हुनेछ ।
सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले हाल ३० देशमा १ सय ८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस ऐतिहासिक लगानीमा रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ ।
रिट्ज–कार्लटन काठमाडौंको भूमिपूजन गत चैतमा भइसकेको छ । होटल राजधानीको पर्यटकीय केन्द्र ठमेलमा बन्ने छ । यस परियोजनामा १ सय ५० कोठा क्षमता सहित अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो समेत रहने छ ।

दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर (१५ अर्ब रुपैयाँ) रहने छ । परियोजना सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य छ ।
होटल सञ्चालनमा आएपछि प्रतिरात प्रतिकोठा १ हजार डलरभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने छ ।
सीजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजना मार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्दनका लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन् ।
अध्यक्ष चौधरीले नेपालमा नयाँ सरकार बनेको र युवा प्रधानमन्त्रीले काम गरिरहेको सन्दर्भ निकाल्दै अब निजी क्षेत्रले समेत आफ्नो क्षमता प्रदर्शन गर्ने समय आएको बताए ।
यो परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको विकासलाई अर्को स्तरमा लैजान सहयोग पुग्ने लगानीकर्ताहरूको अपेक्षा छ ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार रिट्ज–कार्लटन प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय स्तरमा योगदान पुर्याउने प्रतिबद्धता पुष्टि गर्छ ।
कार्यक्रममा ‘द वेस्टिन काठमाडौं होटल’ सञ्चालनका लागि समेत म्यारिअटसँग सम्झौता भएको छ । त्रिभुवन विमानस्थलबाट ७ किलोमिटरको दुरीमा रहने यो होटलमा समेत १ सय ५० प्रिमियम रुम तथा सुइट रुम रहने कार्यक्रममा जानकारी दिइयो ।
होटलमा तीन डाइनिङ स्थल, वेस्टिन वर्कआउट, फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रुफटप स्विमिङ पुल तथा नेचुरल लाइट तथा स्मार्ट प्रविधियुक्त ७ सय वर्गमिटर भन्दा बढीको बैठक तथा ब्यांक्वेट सुविधा रहने छ ।
यो होटल पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रम मार्फत यात्राको थकान कम गर्ने उद्देश्यसाथ निर्माण हुने कार्यक्रममा घोषणा गरियो ।
सोही कार्यक्रममा सीजी डेभलपरले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो जे डब्लू म्यारिअट ब्रान्डेड रेसिडेन्स तथा भारतको सिलिगुडी मातिगरामा जे डब्लू म्यारिअट होटल निर्माण घोषणा र सम्झौता सम्पन्न गरियो ।

यी सम्झौतामा सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा सीईओ राहुल चौधरी, आईआईजी ग्रुप, आइजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालक, म्यारिअट इन्टरनेसनलका एसिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेनन, दक्षिण एसिया उपाध्यक्ष किरण एन्डिकोट लगायतले हस्ताक्षर गरे ।
सोही अवसरमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र म्यारिअट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारिअटले दुई व्यापारिक समूहबीचको रणनीतिक साझेदारीमा हस्ताक्षर गरे । सोही अवसरमा चौधरी ग्रुप अन्तर्गतको उन्नति र म्यारिअट बिजनेस काउन्सिलबीच समेत हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा म्यारिअट इन्टरनेसनलका एसिया प्रशान्त (चीनबाहेक) अध्यक्ष मेननले नेपाली बजार उच्च सम्भावना बोकेको भन्दै सम्झौताले विश्वस्तरीय आतिथ्य अनुभव विस्तार गर्ने बताए ।
उनले म्यारिअटका लक्जरी तथा प्रिमियम ब्रान्डको उत्कृष्टता चौधरी ग्रुपसँगको सम्झौताले समेत स्पष्ट पार्ने बताए । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा सीईओ राहुल चौधरीले म्यारिअट इन्टरनेसनलसँगको सहकार्यले नेपाल र दक्षिण एसियाकै आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।
उनले ऐतिहासिक परियोजनामा सहकार्य, विश्वास र साझा दृष्टिकोणका लागि आभार समेत व्यक्ति गरे । उनका अनुसार काठमाडौंमा विकसित हुने यी परियोजनाले म्यारिअटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डलाई सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव र दिगो दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्ने छ ।
सोही अवसरमा म्यारिअट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारिअटले होटल विस्तारसँगै नवीन अवसर समेत विस्तार हुने बताए । यस क्षेत्रमा लामो दीर्घकालीन सहकार्यका लागि म्यारिअट उत्साहित रहेको भन्दै उनले नेपालले यस्तो सम्भावना बोकेको बताए ।

हाल सीजी हस्पिटालिटी ग्लोबलको पोर्टफोलियोमा १२ देशका १ सय ३० गन्तव्यमा २ सय २० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन् जसमा १३ हजार ८ सय ३५ भन्दा बढी कोठा क्षमता छ ।
सीजी हस्पिटालिटीले विश्वस्तरीय हस्पिटालिटी ब्रान्ड आईएचसीएल अन्तर्गत ताज, सफारी तथा भिभान्ता, जेटविङ, डबल ट्रि बाई हिल्टन तथा फेयरमन्टसँग साझेदारी गर्दै आएको छ । सन् २०३० सम्म यो पोर्टफोलियो ६ सयभन्दा बढी होटल तथा ३० हजार कोठासम्म पुग्ने अपेक्षा छ ।
सीजी हस्पिटालिटीको पोर्टफोलियोमा माल्दिभ्सको ताज एक्सोटिका रिसोर्ट एन्ड स्पा, श्रीलंकाको जेटविङ विल उयाना तथा ताज समुद्र, फिलिपिन्सको द फार्म एट सान बेनिटो, नेपालको मेघौली सेराई–अ ताज सफारिज लज, दुबईको ताज जुमेराह लेक्स टावर्स तथा केन्याको फेयरमन्ट द नोरफोक र फेयरमन्ट मारा सफारी क्लब, न्युयोर्कको डबल ट्री बाई हिल्टन जेएफके एयरपोर्ट लगायत प्रपर्टी छन् ।
म्यारिअट इन्टरनेसनल अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो । मार्च ३१, २०२६ सम्म कम्पनीका १ सय ४६ देश तथा क्षेत्रमा ९ हजारभन्दा बढी होटल सञ्चालनमा छन् ।
प्रतिक्रिया 4