News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले नेपाली भाषामा एकरूपता ल्याउन सर्वमान्य शब्दकोश आवश्यक भएको बताएका छन् ।
- लेखक भिक्टर प्रधानले नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशको दशौं संस्करणमा पनि पहिलो संस्करणकै गल्ती दोहोरिएको बताए ।
- कार्यक्रममा भिम नारायण रेग्मीले प्रज्ञाको शब्दकोशले मानक हैसियत प्राप्त गर्न त्यसमा गम्भीर सम्पादन आवश्यक रहेको उल्लेख गरे ।
२४ जेठ, काठमाडौं । नेपाली भाषाको प्रयोगमा एकरुपतामा ल्याउन सर्वमान्य शब्दकोश आवश्यक भएको विज्ञहरूले औंल्याएका छन् ।
काठमाडौंमा सम्पन्न ‘मानक नेपाली शब्दकोश किन र कस्तो’ शीर्षकको कार्यक्रमका सहभागीहरूले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले निकालेका शब्दकोश समेत मानक बन्न नसकेको बताए ।
हिमाल एसोसियसनद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक भिक्टर प्रधानले प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोशको दशौं संस्करणमा पनि पहिलो संस्करणकै गल्ती दोहोरिएको बताए ।
‘कुनै पनि शब्दकोश आफैमा राम्रो हुँदैन । क्रमिक सुधार नै हुनुपर्ने हो,’ प्रधानले भने, ‘हरेक पाँच वर्षमा नेतृत्व परिवर्तन हुँदा शब्दकोशको नयाँ सम्पादक नियुक्ति गरियो । जसले गर्दा क्रमिक सुधार हुन सकेन ।’
अर्का कार्यपत्र प्रस्तुतकर्ता भिम नारायण रेग्मीले प्रज्ञा नेपाली शब्दकोशको आकार बढ्नु सकारात्मक भए पनि आकार बढाउनकै लागि जे पायो त्यही, जसरी पायो त्यसरी शब्द थप्न नहुनेमा जोड दिए ।
‘प्रज्ञाको शब्दकोशले मानक शब्दकोशको हैसियत प्राप्त गर्न त्यसमा गम्भिर सम्पादन आवश्यक छ,’ रेग्मीले भने ।
हिमाल एसोसियसनका अध्यक्ष वसन्त थापाले नेपाली भाषा संवर्धन हेतु कार्यक्रम आयोजना गरेको बताए । थापाले भने, ‘एउटै छलफलबाट सबै समस्याका समाधान आइहाल्छ भन्ने होइन तर समाधान पहिल्याउनेतर्फको यो एउटा पाइला होला भन्ने आशा चाहिँ हामीले गरेका छौं ।’
प्रतिक्रिया 4