0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

निर्धारित समयमै सुरु हुँदैन संसद् बैठक

समयमै बैठक सुरु नभएकोप्रति सत्तारुढ दलकै सांसदहरू समेत असन्तुष्ट देखिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।
  • प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयको दुई घण्टाभित्र बैठक सुरु नभएमा सभामुखले बैठक स्थगन गर्नुपर्ने व्यवस्था छ ।
  • बैठक समयमै सुरु नहुँदा सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नै असन्तुष्ट छन् ।

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक प्राय दिउँसो १ बजे बस्ने अभ्यास छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ, जसमा कार्यबोझलाई ध्यानमा राखी सभामुखले तोकेको दिन र समयमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने भनिएको छ । नियम ६ को उपनियम २ मा भनिएको छ, ‘सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया दिनको एक बजे बैठक प्रारम्भ हुनेछ ।’

तर, बिहान ११ बजे समेत बैठक राख्ने गरिएको छ । पछिल्लो पूर्वनिर्धारित समयमै प्रतिनिधिसभा बैठक भने सुरु हुन सकेको पाइँदैन ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समयमै सुरु भएको छैन ।

यसअघि यही जेठ १९ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसदिन दिउँसो १ बजेका लागि बैठक राखिएको थियो । तर दुई घण्टा ढिलो गरी ३ बजे मात्र सुरु भयो ।

केही मिनेट ढिलो भएको भए त्यसदिन प्रतिनिधिसभाको बैठक स्वत: स्थगित भएको मानिन्थ्यो । यसबारे प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । नियमावलीको नियम ६ को उपनियम २ मा भनिएको छ, ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ ।’

सत्तारुढ दलकै सांसद असन्तुष्ट

समयमै बैठक सुरु नभएकोप्रति सत्तारुढ दलकै सांसदहरू समेत असन्तुष्ट देखिन्छन् ।

१९ गतेको प्रतिनिधिसभा बैठक समयमै सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले सामाजिक सन्जालमार्फत त्यसप्रति व्यङ्ग्य गरेका थिए ।

उनले सांसद हुनुपूर्वको समय स्मरण गर्दै भनेका छन्, ‘एमएस्सी सकिएपछि मैले केही समय एमआरका रूपमा काम गरेको थिएँ । डाक्टरलाई भेटिने समय चैँ दु:खले १ मिनेटको हुन्थ्यो होला । तर त्यही १ मिनेट भेट्नका लागि घण्टौँ कुर्सीमा बसेर पर्खिनुपर्थ्यो । आउजाउ गर्ने अरू बिरामी र सहयोगीहरुलाई टुलुटुलु हेरेर समय बिताइन्थ्यो ।’

सांसद भएपछि पनि संसद् बैठक बस्ने समय कुर्नुपरेको उनले बताएका छन् । ‘संयोगहरू जोडिँदै जाँदा म अहिले सांसद भएको छु,’ १९ जेठमा लेखेका थिए, ‘आज एक बजे हुने भनिएको संसदका लागि १२:४५ मा संसद छिरिसकेको थिएँ । अहिले २ बजेर ४५ मिनेट भयो तर संसद हुने नहुने टुंगो छैन । म कुर्सीमा बसेर यताउता गरिरहेका अरु सांसदहरू हेरेर सदन बस्ने समय पर्खिरहेको छु ।’

सांसद कार्कीले यस्तो लेखेको १५ मिनेटपछि त्यसदिनको बैठक सुरु भएको थियो ।

आज सोमबार पनि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि समयमै सुरु हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?