0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

चितवनको प्रहरी विद्यालय गर्मीले बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

विद्यालयका ३९ जना शिक्षक शिक्षिका समूह बनाएर विद्यार्थीहरुको घरघरमा पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अत्यधिक गर्मीका कारण चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले ३१ जेठसम्मका लागि विद्यालय बन्द गरी गर्मी बिदा दिएको छ ।
  • बिदाको समयमा विद्यार्थीलाई पढाइमा सक्रिय राख्न र सचेतना जगाउन विद्यालयका ३९ जना शिक्षक शिक्षिकाहरू विद्यार्थीका घरघरमै पुगेका छन् ।
  • शिक्षकहरूले विद्यार्थीको गृहकार्य, आचरण र अध्ययन वातावरणको अनुगमन गर्नुका साथै अभिभावकलाई सुरक्षा र गर्मीबाट बच्ने उपायबारे सचेत गराएका छन् ।

२५, जेठ, चितवन । चितवनको भरतपुर-१४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरले गर्मी बिदा दिएको छ । चितवनमा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द गरिए पनि विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दैछन् ।

स्कुलका शिक्षकहरु भने बिदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरण लगायतका विषयमा जानकारी लिने, गर्मीले पार्ने प्रभावहरु र त्यसबाट बच्ने उपायहरुका बारेमा सचेतना जगाउने काम गरिरहेका छन् । सो कामका लागि विद्यालयका ३९ जना शिक्षक शिक्षिका समूह बनाएर विद्यार्थीहरुको घरघरमा पुगेका छन् ।

अत्याधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले बताए ।

शनिबार र आइतबारको छुट्टिसमेत गरी गर्मी बिदामा विद्यार्थीहरु ९ दिनसम्म (जेठ ३१ गतेसम्म) घरमा नै बस्नुपर्ने भएकाले विद्यार्थीको घरघरमै शिक्षकहरुलाई पठाएर अध्ययन एवम गृहकार्यमा सहजीकरण गर्ने गरिएको थापाले जानकारी दिए । विद्यालयमा ७ सय विद्यार्थी अध्ययनरत छन् ।

कक्षा एकदेखि दशसम्म अध्यापन गराइने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाको समयमा समेत अध्ययन गतिविधीमा संलग्न गराइ राख्न विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारीक अभ्यास गर्ने जस्ता गतिविधीमा सक्रिय रहने गरी गृहकार्य दिएको छ ।

विद्यालयका शिक्षकहरु नै विद्यार्थीहरुको घरघरमा पुग्दा अभिभावकहरुसँग पनि प्रत्यक्ष अन्तर्क्रिया, विद्यार्थीको अध्ययनको अवस्था, विद्यार्थीको पढाइप्रति अभिरुची लगायतका विषयलाई आधार मानेर विद्यार्थीहरुको समूह विभाजनसहित शिक्षक कर्मचारीहरुलाई परिचालन गरीएको थापाको भनाइ छ ।

‘यो नितान्त फरक खालको अभ्यास हामीले गरेका छौं, यसले हामीलाई पनि नयाँ अनुभव सिकाएको छ, अभिभावकहरुको घर जाँदा अझै बढी आत्मियता पनि महसुस भएको छ,’ प्रहरी निरीक्षक थापा भन्छन् ‘विद्यार्थीको अनुशासन, घरमा पठनपाठनको तौर तरिका, अध्ययनको वातावरण, लगायतका विषयमा धेरै कुराको जानकारी पनि लिन सकिने रहेछ ।’

शिक्षक शिक्षिकाले विद्यार्थीको घरमा पुगेर पठनपाठनका साथै अभिभावकहरुलाई सुरक्षा सचेतना समेत गराई रहेका छन् ।

विद्यालयसम्म विद्यार्थी छाड्न आउँदा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाका कारण विद्यार्थीको पढाइमा पर्ने असर, विद्यार्थीको अगाडि अभिभावकले प्रस्तुत गर्नुपर्ने आचरण व्यवहारका साथै सामाजिक सञ्जाल प्रयोग वा लतबाट पार्ने प्रभाव, हुन सक्ने सम्भावित अपराधको बारेमा समेत अभिभावक एवम् विद्यार्थीहरुलाई सचेत गराउने काम शिक्षक शिक्षिकाले गरेका छन् ।

विद्यालयले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत विभिन्न विषयमा ज्ञान, सीप, कलामा प्रशिक्षण गर्दै आइरहेको समादेशक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?