२७ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीप्रति आलोचना गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाको नाम नलिईकन ‘जान्नेलाई छान्ने’ भन्दै उदाएका नयाँ राजनीतिक दल र तिनका नेताहरूको कडा आलोचना गरेका हुन्।
पोखरेलले नयाँ शक्तिहरूको कार्यशैली र प्रवृत्तिलाई ‘पाखण्ड’ र ‘भ्रष्टताको संस्थागत रूप’ को संज्ञा दिएका छन् ।
पोखरेलले सुशासन र तीव्र विकासका लागि पुराना दल र नेतृत्वका कमीकमजोरी हटाउन आवश्यक रहेको पनि स्वीकार गरेका छन्। तर, नयाँका नाममा ती पुराना कमीकमजोरीलाई नै बिर्साउने गरी भइरहेका ‘कुकार्य’ हरू कदापि उचित मान्न नसकिने उनको जिकिर छ ।
पोखरेलले ‘जान्नेलाई छान्नेको भ्रष्टीकरण’ शीर्षक राख्दै रास्वपा लगायतका नयाँ दलहरूको नाराको यथार्थ अहिले एकपछि अर्को गर्दै देखिन थालेको दाबी गरेका छन्।
पोखरेलले नयाँ भनिएका शक्तिहरूमा देशविरुद्धका घातलाई सामान्य ठान्ने र राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी मान्ने प्रवृत्ति देखिएको आरोप लगाए ।
‘यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो। स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो,’ पोखरेलले आफ्नो स्टाटसमा लेखेका छन्।
महासचिव पोखरेलको यो कडा टिप्पणी विशेषगरी अर्थ विधेयकमा भएको भनिएको फेरबदल र हालै नयाँ दलहरूसँग जोडिएर आएका विवादहरूको पृष्ठभूमिमा आएको बुझिएको छ।
के भन्छन् पोखरेल ?
जान्नेलाई छान्नेको भ्रष्टीकरण
‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एक पछि अर्को गर्दै देखिदैछ । देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई सिस्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने । यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो । स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो।
सुशासन र तीव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै बिर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न सकिँदैन ।
प्रतिक्रिया 4