News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अघि अमेरिकाको कडा भिसा नीति र प्रवेश प्रक्रियाका कारण खेलाडी, रेफ्री र समर्थकहरू प्रभावित भएका छन् ।
- सोमाली रेफ्री ओमर आर्टानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ भने इराकी खेलाडी अयमेन हुसेनलाई विमानस्थलमा सात घण्टा केरकार गरिएको छ ।
- भिसा ढिलाइकै कारण इरानी टोलीले आफ्नो प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोको टिजुआनामा सारेको छ ।
२८ जेठ, काठमाडौ । फिफा विश्वकप २०२६ सुरु हुनै लाग्दा अमेरिका सरकारको भिसा नीति र प्रवेश प्रक्रियालाई लिएर विवाद बढेको छ।
खेलाडी, रेफ्री, टोलीका अधिकारी तथा समर्थकहरू समेत भिसा ढिलाइ, लामो सोधपुछ र प्रवेश अस्वीकृतिको समस्याबाट प्रभावित भएका छन् ।
मानवअधिकारकर्मी तथा अध्यागमन विज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीतिको आलोचना गरेका छन् ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले समेत अमेरिकी अध्यागमन नीतिबारे ‘ठूलो पुनर्विचार’ आवश्यक रहेको बताएका छन् ।
सोमाली रेफ्री ओमर आर्टानलाई प्रवेश अस्वीकृत
३४ वर्षीय ओमर आर्टान विश्वकपमा खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा थिए । तर वैध अमेरिकी भिसा र आवश्यक कागजात हुँदाहुँदै मियामी विमानस्थलमा उनलाई प्रवेश अनुमति दिइएन र इस्तानबुल हुँदै स्वदेश फर्काइयो ।
अमेरिकी गृह सुरक्षा विभागले ‘सुरक्षा जाँचसम्बन्धी चिन्ता’ का कारण उनलाई प्रवेशयोग्य नरहेको जनाएको थियो । उनी फिफाले चयन गरेका ५२ रेफ्रीमध्ये एक थिए ।
इरानको टोलीलाई भिसा ढिलाइ, केही अधिकारी वञ्चित
अमेरिका–इरान तनावका कारण इरानी टोलीको भिसाबारे अन्तिम समयसम्म अन्योल थियो । खेलाडीहरूले विश्वकप सुरु हुनुभन्दा १० दिनअघि मात्र भिसा पाए ।
तर टोलीका केही व्यवस्थापकीय र प्रशासनिक सदस्यले भने भिसा पाएनन् । सुरुमा एरिजोनामा प्रशिक्षण शिविर राख्ने योजना बनाएको इरानले आधार शिविर मेक्सिकोको टिजुआनामा सारेको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानी टोलीलाई खेलअघि एक दिन अमेरिका प्रवेश गर्न अनुमति हुनेछ ।
यसअघि इरानका राजदूत अबोलफाज्ल पसान्दिदेहले खेलकै दिन प्रवेश गरेर सोही दिन फर्किनुपर्ने बताएको दाबी गरेका थिए ।
इराकका स्ट्राइकर अयमेन हुसेनलाई सात घण्टासम्म केरकार
इराकका स्टार स्ट्राइकर अयमेन हुसेनलाई शिकागोको ओ’हेयर विमानस्थलमा करिब सात घण्टा नियन्त्रणमा राखी सोधपुछ गरिएको थियो। उनको मोबाइल फोन समेत जाँच गरिएको थियो ।
पछि उनलाई प्रवेश अनुमति दिइए पनि टोलीका फोटोग्राफर तलाल सलाहलाई १० घण्टाभन्दा बढी सोधपुछपछि अमेरिका प्रवेश गर्न नदिइएको बताइएको छ ।
इराक ४० वर्षपछि पहिलोपटक विश्वकपमा फर्किएको हो ।
हाइटीका खेलाडीले अन्तिम समयमा पाए भिसा
हैटीका मिडफिल्डर वुडेन्स्की पियरेले अन्तिम समयमा अमेरिकी भिसा पाए। भिसा ढिलाइका कारण उनी न्यूजिल्यान्डविरुद्धको अभ्यास खेल गुमाउन बाध्य भएका थिए ।
पोर्ट-अ-प्रिन्समा बस्दै भिसाको प्रतीक्षामा रहेका पियरे मियामी पुग्दा खेल आधा सकिइसकेको थियो ।
स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई पनि समस्या
स्विस फरवार्ड ब्रेल एम्बोलोलाई पनि सुरुमा अमेरिका प्रवेशमा समस्या भएको थियो। सन् २०१८ मा स्विट्जरल्यान्डमा भएको एक घटनासम्बन्धी पुरानो मुद्दाका कारण उनको भिसा रोकिएको थियो ।
पछि बर्नस्थित अमेरिकी दूतावासमा भएको छलफलपछि उनलाई यात्रा अनुमति दिइयो र उनी टोलीसँग जोडिन सफल भए ।
समर्थकहरू पनि प्रभावित
मोरक्को र स्कटल्यान्डसहित विभिन्न देशका समर्थकहरूले हजारौं डलर खर्च गरेर टिकट, होटल र हवाई टिकट बुक गरिसकेपछि पनि भिसा अस्वीकृत वा रद्द भएको गुनासो गरेका छन् ।
फिफाको प्रतिक्रिया
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा सरकारको निर्णयमाथि हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।
‘हामी समाधान खोज्ने प्रयास गर्छौं, तर हामी सरकार वा सुरक्षा निकायलाई निर्देशन दिने अवस्थामा छैनौं । हामी एउटा खेल संस्था मात्र हौं,’ इन्फान्टिनोले मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा भने ।
फिफाको २०१७ को बोली दस्तावेजमा विश्वकप आयोजक राष्ट्रहरूले गैरभेदभावपूर्ण ढंगले भिसा प्रक्रिया सञ्चालन गर्नुपर्ने उल्लेख भए पनि राष्ट्रिय सुरक्षा र अध्यागमन नीतिलाई प्राथमिकता दिने व्यवस्था समेत राखिएको छ ।
विश्वकप सुरु हुनुअघि देखिएको यी घटनाले खेल र भूराजनीतिक तनावबीचको सम्बन्ध फेरि एकपटक चर्चामा ल्याएको छ ।
-अल जजिराबाट
प्रतिक्रिया 4