+
+
Shares

जो अरू दल छोडेर रास्वपाको जिल्ला सभापति बने

अरू दल छोडेर रास्वपाको जिल्ला नेतृत्वमा पुग्नेहरू उल्लेख्य छन् । उनीहरू कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रबाट रास्वपा प्रवेश गरेका हुन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ जेठ २८ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ६२ जिल्लामा आफ्नो अधिवेशन सम्पन्न गरेको छ ।
  • नवनिर्वाचित अधिकांश जिल्ला सभापतिहरू विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा आबद्ध पृष्ठभूमि भएका पाइएका छन् ।
  • तनहुँ, नवलपुर र प्युठानलगायतका जिल्लामा पूर्वकांग्रेस नेताहरूबीच नै रास्वपाको नेतृत्वका लागि मुख्य प्रतिस्पर्धा भएको थियो ।

२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६२ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । मधेश प्रदेशमा भने पर्सा जिल्लाको मात्रै अधिवेशन भएको छ । बागलुङमा नयाँ नेतृत्व चयन भए पनि विवादका कारण अधिवेशन नभएकै जिल्लाको रूपमा राखिएको छ ।

अधिवेशनबाट जिल्ला सभापतिमा चुनिनेहरूमध्ये अन्य पार्टीबाट रास्वपा प्रवेश गरेका नेताहरूको संख्या उल्लेख्य छ । उनीहरूको पृष्ठभूमि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रलगायत पार्टी रहेको पाइएको छ ।

पूर्व कांग्रेस-कांग्रेसबीच प्रतिस्पर्धा

रास्वपामा प्रवेश गरेर जिल्ला सभापति हुनेहरूमा अन्य दलको भन्दा विगतमा कांग्रेस पृष्ठभूमि हुनेको संख्या बढी छ । तनहुँ, नवलपुर, प्युठान लगायतका जिल्लाको अधिवेशन थप रोचक बनेको छ । ती जिल्लाहरूमा पूर्वकांग्रेस पृष्ठभूमिका नेताहरूले नै सभापति पदमा एकअर्काबीच प्रतिस्पर्धा गरेका थिए ।

तनहुँमा दुई पटक कांग्रेस सचिव बनेका विश्वनाथ बाँस्तोलाले पूर्वकांग्रेसबाट नै सभापतिमा उम्मेदवार बनेका डा. शेषरमण न्यौपानेलाई पराजित गरे । तनहुँको उपनिर्वाचनमा कांग्रेस छाडेर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेको बेला विश्वनाथ रास्वपा प्रवेश गरेका थिए । सभापतिमा पराजित शेषरमण विगतमा कांग्रेसको प्रशिक्षण विभाग सदस्यसमेत थिए ।

नवलपुरको सभापतिमा पनि पूर्वकांग्रेसका दुई जनाबीच प्रतिस्पर्धा भएको छ । मध्यविन्दु नगरमा विगतका कांग्रेसका नगर सभापति दोमनबहादुर भण्डारी रास्वपा नवलपुर सभापति बनेका छन् । उनी जेनजी आन्दोलन हुनुअघि रास्वपा प्रवेश गरेका थिए ।

आफ्नै घरमा ५ वर्षदेखि कांग्रेसको कार्यालय राखेका भण्डारी नै रास्वपा प्रवेश गरेका थिए । उनी रास्वपा प्रवेश गरेको एक वर्ष नहुँदै नवलपुर सभापति बनेका छन् । भण्डारीले कांग्रेसबाट नै रास्वपा प्रवेश गरेर सभापतिमा उम्मेदवार बनेका गोकुल सापकोटालाई पराजित गरेका थिए । सापकोटा कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्र नम्बर १ बाट महासमिति सदस्य निर्वाचित भएका थिए ।

प्युठानमा पनि पूर्वकांग्रेसबीच नै रास्वपा सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । सभापतिमा निर्वाचित विकास पोखरेल र पराजित बमबहादुर सुनार दुवै विगतमा कांग्रेसमा थिए । सभापतिमा निर्वाचित पोखरेल तीन वर्ष अघिदेखि रास्वपामा थिए भने सुनार ६ महिनाअघि कांग्रेस त्यागेका थिए ।

कांग्रेस प्युठानका एक नेताले दिएको जानकारीअनुसार प्युठान सभापति बनेका पोखरेल वडा सदस्यको उम्मदेवारका आकांक्षी थिए । कांग्रेसले वडा सदस्यको उम्मेदवारको टिकट नदिएपछि विद्रोह गरेर वडाध्यक्ष उम्मेदवार बनेका थिए ।

विगतको पृष्ठभूमि कांग्रेस, अब रास्वपा जिल्ला सभापति

रास्वपाको इलाम सभापतिमा निर्वाचित दिनेशकुमार महत पूर्वकांग्रेस हुन् । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनमा विगतमा आवद्ध भएका उनी रास्वपा प्रवेश गरेका थिए । महत कोशीको प्रेस युनियनको चुनावपछि कांग्रेस छोडेर रास्वपामा लागेका थिए ।

पाँचथरमा पनि कांग्रेसका पूर्व जिल्ला नेता रास्वपा सभापति बनेका छन् । फिदिम नगरको पूर्वसभापति एवं २०७४ सालमा कांग्रेसबाट वडाध्यक्ष बनेका प्रकाश गुरुङ हाल रास्वपाको जिल्ला सभापति बनेका छन् ।

उदयपुर र रसुवामा रास्वपा सभापति बनेकाहरू कांग्रेसका पूर्वसमर्थक हुन् । उदयपुरमा चित्रकुमार कार्की र रसुवामा वसन्त भट्ट रास्वपा सभापति बनेका छन् ।

स्याङ्जामा निर्वाचित सभापतिमा रुक्मांगत भण्डारी (विश्वास)को रास्वपा गठन हुनुअघि समर्थन कांग्रेसलाई थियो । कांग्रेस पृष्ठभूमिबाट आएका नेता भण्डारी व्यवसायीसमेत हुन् ।

रुपन्देही सभापति बनेका महेन्द्रप्रसाद चापागाईं उपाध्याय विगतमा कांग्रेस समर्थक थिए । उनी फोटोग्राफी व्यवसायीसमेत हुन् ।

अर्घाखाँचीको सभापतिमा निर्वाचित सीता पराजुलीले विगतमा कांग्रेसको सक्रिय राजनीति गरेकी थिइन् । उनी १४औं महाधिवेशनपछि कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेकी थिइन् । नेविसंघबाट राजनीति सुरु गरेकी सीता महिला संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय थिइन् ।

कांग्रेस त्यागेर रास्वपाको सुर्खेत सभापति बनेका रमेश सापकोटा त्यही पदमा दोहोरिएका छन् । वीरेन्द्रनगरको कांग्रेस सचिव र सभापतिको भूमिका निर्वाह गरेका सापकोटा गत निर्वाचनमा रास्वपाबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । कर्णालीमा प्रत्यक्षमा रास्वपाबाट जित्ने उनी एक्लो व्यक्ति हुन् ।

कालीकोटमा सभापति पदमा दोहोरिएका प्रेमबहादुर केसी रास्वपा प्रवेश गर्नुअघि कांग्रेसमा थिए । कांग्रेस हुनुअघि उनी राप्रपाको राजनीतिमा सक्रिय थिए । हुम्ला सभापति बनेका लक्ष्मण ऐडीको विगतको पृष्ठभूमि कांग्रेस रहेको छ । यसअघि उनी रास्वपा उपसभापति पदमा थिए ।

जाजरकोटमा रास्वपा सभापति बनेका महेश सिंह ०७९ मा कांग्रेस नलगाड नगरपालिका सचिव थिए । उनी २०७९ सालमा कांग्रेसबाट वडाध्यक्षमा पराजित भएका थिए ।

बाजुरामा रास्वपा सभापति बनेका नवराज जैशी विगतमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका व्यक्ति हुन् । डडेलधुरामा सभापति बनेका सुरेन्द्र अवस्थी र कैलालीका कविन्द्र ठगुन्नाले कांग्रेसको सक्रिय राजनीति नगरे पनि पारिवारिक पृष्ठभूमि भने कांग्रेस निकट रहेको छ ।

दार्चुला सभापति बनेका राजेशसिंह सामन्त पूर्वकांग्रेस हुन् । शिक्षण पेसामा समेत आवद्ध राजेशसिंह कांग्रेस निकट शिक्षक संघमा पनि थिए । राजेशसिंहका बुबा कांग्रेसको राजनीतिमा थिए । फागुन २१ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेर राजेशसिंह पराजित भएका थिए ।

कम्युनिस्ट दल परित्याग गरी जिल्ला नेतृत्वमा

झापामा सभापति चुनिएका ओम भण्डारी विगतमा एमालेका समर्थक रहेको जानकारी गराइएको छ । झापाको अधिवेशनबाट उपसभापति पुष्पलाल ढकाल पूर्वमाओवादी हुन् ।

धनकुटाका सभापति भुवन थापा विगतमा माओवादी केन्द्रको राजनीतिमा सक्रिय थिए । माओवादी केन्द्रका पूर्वनेता हेमराज भण्डारीले उक्त दल छोडेसँगै थापाले पनि पार्टी परित्याग गरेका थिए । भण्डारी निष्क्रिय रहे भने थापा रास्वपामा जोडिए ।

दोलखा सभापति दिनेश बस्नेत भने पूर्वएमाले समर्थक हुन् ।

कास्की सभापति यदुनाथ अधिकारी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको राजनीतिपछि रास्वपा प्रवेश गरेका हुन् ।

सहमतिमा कार्यसमिति चुनिए पनि विवादमा परेको बागलुङका सभापति बनेका पुनम शर्मा विगतमा एमाले समर्थक थिए । गोरखाको सभापति बनेका सुवर्ण रोकाहा क्षेत्री रास्वपाअघि उनी एमाले निकट व्यक्तिका रूपमा परिचित थिए । लमजुङ सभापति बनेका अशोक सापकोटा एमाले पृष्ठभूमिका हुन् ।

गुल्मी सभापति हरि श्रेष्ठ एमाले समर्थक रहे पनि पदीय जिम्मेवारी भने थिएनन् । बाँके सभापति बनेका विवेककुमार श्रेष्ठ विगतमा एमालेको समर्थक थिए । तर उनी सक्रिय राजनीतिमा भने थिएनन् ।

रास्वपा प्रवेश गरेका श्रेष्ठ गत चुनावमा बाँके-२ को उम्मदेवार बनेर एमालेसँगै पराजित भएका थिए । उनी व्यवसायीसमेत हुन् । श्रेष्ठ नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनावसम्म एमाले थिए ।

रुकुम पश्चिममा माओवादी केन्द्रका पूर्वविद्यार्थी नेता द्रोण खड्का सभापति चयन भएका छन् । उनी दाङका विद्यालय सञ्चालकसमेत हुन् ।

सल्यान सभापति प्रकाश नेपाली एमाले हुँदै एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादी छोडेर केही समय तटस्थ बसेका नेपाली रास्वपाको लहर आएपछि जिल्ला सभापति बनेका थिए । कपडा व्यापारीसमेत रहेका नेपाली सर्वसम्मत सभापति चुनिएका हुन् ।

जुम्ला सभापति बनेका मकरबहादुर भण्डारी पूर्वकर्मचारी हुन् । उनी कर्मचारी हुँदा पहिले एमालेपछि माओवादीतिर ढल्केका थिए । तर खुलेर राजनीतिमा भने उनले गरेका थिएनन् । शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लाका प्रमुखसमेत रहेका उनी रिटायर्ड भएपछि रास्वपामा आवद्ध थिए ।

दैलेखको सभापति बनेका बखतबहादुर भण्डारी २०६४ सम्म कांग्रेसमा थिए । पछि माओवादी केन्द्रमा लागे । २०७९ को निर्वाचनमा रास्वपाको उम्मेदवारसमेत बने । भण्डारी शिक्षक पेसामा आवद्ध थिए ।

कञ्चनपुरको सभापति बनेका पदम विष्ट पूर्वएमाले हुन् । एमालेकै तर्फबाट उनी भीमदत्त नगरपालिकामा खेलकुद विभाग सदस्यसमेत बनेका थिए ।

(पोखराबाट अमृत सुवेदी, बुटवलबाट टोपराज शर्मा र सुर्खेतबाट यज्ञ खत्रीको सहयोगमा ।)

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?