+
+
Shares

नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल

भेटमा सभामुख अर्यालले नेपाल-अमेरिका संसदीय मैत्री समूहको पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा समेत नेपाल–अमेरिका मैत्री समूहको पुनर्सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ ।
  • भेटमा कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सुशासनका लागि निरन्तर सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताए ।
  • सभामुख अर्यालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

२९ जेठ, काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता पुनः व्यक्त गरेका हुन् ।

उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे । दुवै देशले लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई आत्मसात् र सम्मान गर्दै आएको पनि बताए ।

आगामी वर्ष नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८० औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै उक्त अवसरले दुई देशबीच आठ दशकदेखि कायम मित्रता, सहकार्य तथा साझेदारीको समीक्षा गरी भावी सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उक्त अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखे ।

भेटमा सभामुख अर्यालले नेपाल-अमेरिका संसदीय मैत्री समूहको पुनर्गठनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा समेत नेपाल–अमेरिका मैत्री समूहको पुनर्सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

यस्ता मैत्री समूहहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सभामुख अर्यालले संयुक्त राज्य अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गर्दै सन् १९५० को दशकदेखि नेपालको सामाजिक तथा आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा मानव पूँजी विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे । उनले नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको तथा आगामी दिनमा पनि अमेरिकाको सहयोग र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरे ।

सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको पनि स्मरण गरे । वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताए । जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानुन निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको धारणा व्यक्त गरे ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । संयुक्त अधिराज्य (बेलायत) पछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश अमेरिका हो । नेपालले फेब्रुअरी १९५८ मा वाशिंगटन डीसीमा आफ्नो दूतावास स्थापना गरेको थियो भने अमेरिकाले अगस्ट १९५९ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?