+
+
Shares

वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना केन्द्र स्थापना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार बोर्डले श्रम र वैदेशिक रोजगारीका सूचनालाई एकीकृत गर्न डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने भएको छ ।
  • यसका लागि बोर्डले सम्बद्ध संघसंस्थासँग श्रम, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीसम्बन्धी डिजिटल सामग्री निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको छ ।

२९ जेठ, काठमाडौं । वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र बनाउने भएको छ । श्रम, आप्रवासन र वैदेशिक रोजगारीका विविध आयामलाई समेटेर एकै स्थानबाट अध्ययन गर्न मिल्नेगरी केन्द्र (डीआईआरसी) स्थापना गर्ने भएको हो।

वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ बोर्डले नयाँ पहल सुरु गरेको हो। हाल छरिएर रहेका सूचना, ज्ञान, अनुसन्धान र जनचेतनामूलक सामग्रीलाई एकीकृत गरी सबैको पहुँचयोग्य बनाउन यो केन्द्र स्थापना गर्न लागिएको बोर्ड सचिवालयले जनाएको छ।

केन्द्र स्थापनाको प्रयोजनका लागि बोर्डले विभिन्न संघसंस्थालाई आफूले हालसम्म उत्पादन, प्रकाशन तथा प्रसारण गरेका श्रम, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीसँग सम्बन्धित सामग्री डिजिटल प्रति निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको छ।

बोर्डले भिडियो, वृत्तचित्र, र सूचना तथा जानकारीमूलक भिडियो क्लिप, रेडियो जिङ्गल, पोडकास्ट, रेडियो नाटक र चेतनामूलक अडियो सन्देश तथा अध्ययन प्रतिवेदन, अनुसन्धानमूलक लेख, म्यानुअल र ब्रोसर उपलब्ध गराउन अनुरोध गरेको हो।

सम्बन्धित संस्थाहरूले आफ्ना डिजिटल सामग्री बोर्ड सचिवालयको आधिकारिक इमेलमा वा अन्य डिजिटल माध्यम मार्फत उपलब्ध गराउन सक्नेछन्। यस कार्यले श्रम र आप्रवासनको क्षेत्रलाई थप पारदर्शी र सूचनामैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा बोर्डले राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?