+
+
Shares

कांग्रेस विवाद : विराटनगरमा इतर समूहको भेला, कोको हुँदैछन् सहभागी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते २२:१५

३० जेठ, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र एकताका लागि दबाब सिर्जना गर्न विराटनगरमा आइतबार बृहत् भेला आयोजना गर्दैछ ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले पार्टीलाई एकढिक्का बनाउन शीर्ष नेताहरूको उपस्थितिमा भेला हुन लागेको जानकारी दिए । उनले कांग्रेस कमजोर हुँदा मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै प्रश्न उठिरहेको बताउँदै पार्टीलाई एकढिक्का बनाउन आवश्यक दबाब सिर्जना गर्ने उद्देश्यले भेलाको आयोजना हुन लागेको बताए ।

भेलामा प्रमुख अथितिका रूपमा डा. शेखर कोइराला रहने तयारी गरिएको छ । उनीबाहेक कांग्रेसमा अन्य शीर्ष नेताहरू पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला पनि सहभागी हुने बताइएको छ ।

यसैले भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा, कोइराला र सिटौला पक्षका प्रदेशभरीकै नेताकार्यकर्ता डाँकिएको इतर पक्षका नेताहरू बताउँछन् ।

कांग्रेसको इतर पक्षले नियमित महाधिवेशनबाट मात्रै पार्टीको बृहत् एकता कायम हुने भन्दै त्यसका लागि आश्वस्त हुने वातावरण विशेष महाधिवेशनबाट आएको कार्यसमितिले बनाइनसकेको आरोप लगाउँदै आएको छ ।

प्रदेश महामन्त्री राईले भेलालाई कुनै एक समूहको कार्यक्रम मात्र नभई समग्र कांग्रेसको कार्यक्रम रहेको दाबी गरे । ‘यो कार्यक्रमलाई कुनै एक पक्षको भन्दा पनि दबाब समूहको कार्यक्रम भन्दा हुन्छ,’ उनले भने ।

विशेष महाधिवेशनका नाममा पार्टीको स्थापनादेखि रगत–पसिना बगाएका वरिष्ठ नेतालाई अपमान गर्ने काम भएको उनी बताउँछन् । ‘पार्टी स्थापनाकालदेखि रगत–पसिना बगाएका सिनियर नेताहरूलाई अपमानजनक ढंगले पाखा लगाउने काम भइरहेको छ । कसैले सानो गुटको नेता बनेर रमाइरहने सपना देखेको छ भने त्यो कांग्रेस र देशकै लागि घातक हुन्छ । त्यसैले हामी कांग्रेसलाई पूर्ण रूपमा एकढिक्का बनाउन दबाब दिन खोजिरहेका छौं,’ उनले भने ।

कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कांग्रेसमा विभाजन रोक्नका लागि पहल भइरहेको बताए । उनले भने, ‘नयाँ तरिकाले अब कांग्रेस जानुपर्छ भनेका थियौं, हामीले छानेको नेतृत्वमा अल्लारेपन भयो, पार्टीको यत्रो बोझ लिन सकेन । त्यो ५४ प्रतिशतको मात्रै नेता हुन्छु भन्छ ।’

सभापति गगन थापाले पूरै कांग्रेसको नेतृत्व लिन नसकेको उनले टिप्पणी गरे । ‘हामीले त छानेको के भने कांग्रेसको, नेपाली कांग्रेस सबैको छान्न खोजेको । नेपाली कांग्रेसको १०० प्रतिशतको सभापति छान्न खोजेको । तर म बोझै लिनँ भनेपछि हामीले के भन्यौँ हैन १०० प्रतिशतको तिमी हुनुपर्छ भन्ने अभियानमा हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?