+
+
Shares

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

कुल बजेटमा चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६४.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असार १ गते १५:१८

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।

सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार खर्च प्रस्ताव गरिएको छ । जुन कुल बजेटमा चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६४.३५ प्रतिशत हुन आउँछ ।

बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजश्व तर्फबाट ११ अर्ब २२ करोड ७५ लाख बेहोर्ने अर्थमन्त्री भट्टराईको प्रस्ताव छ ।

यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाटअन्तर्गत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान गरिएको छ, भने संघीय सरकारबाट प्राप्त हुने वितीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख हुने अर्थमन्त्रीको अनुमान छ ।

यस्तै, एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्री भट्टराईले बताएका छन् ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ८४ करोड ८५ लाख, शसर्त अनुदानवापत ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष समपूरक अनुदानबाट ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान बजेटमा उल्लेख छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?