१ असार, काठमाडौं । कैलालीमा अधिवेशनमार्फत आएको नयाँ नेतृत्वलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मान्यता नदिएपछि सुदूरपश्चिममा सभापति प्रकाश विष्ट रुष्ट भएका छन् ।
जेठ ३१ गते (आइतबार) निर्वाचन आयोगले अधिवेशनको प्रक्रियामा त्रुटि रहेको भन्दै नयाँ समितिलाई मान्यता नदिने र पुन: अधिवेशन गर्ने सूचना निकालेको थियो । निर्वाचन समितिले अधिवेशनलाई रद्द गर्नुमा चार कारण देखाएको थियो ।
अधिवेशनमा प्रक्रियागत त्रुटि, कार्यविधि उल्लंघन, सर्वस्वीकार्यताको अभाव, समावेशी प्रतिनिधित्वमा अवरोध गरेको आयोगले ठहर गरेको छ । साथै, कैलाली जिल्लाबाट निर्वाचित सांसदहरूको असहमति र सल्लाहविपरित अवैधानिक ढंगले निर्वाचन गरिएको निर्वाचन आयोगले भनेको छ ।
निर्वाचनमार्फत कविन्द्र ठगुन्न्ना कैलाली भएको घोषणा गरिएको थियो । रास्वपाले कैलालीलाई अधिवेशन भएको जिल्लामा गणना गरेको थियो । अधिवेशन गरेर नयाँ नेतृत्व आएको एक सातापछि केन्द्रले अधिवेशनलाई रद्द गरेको छ ।
रास्वपा अनुशासन समितिका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनका प्रतिनिधिहरूको उजुरी परेको र विधिसम्मत अधिवेशन नभएको हुँदा रद्ध गरिएको अनलाइनखबरलाई जानकारी गराए ।
अधिवेशनबाट जिल्ला समिति गठन भइसकेको अवस्थामा केन्द्रले रद्द गर्ने निर्णय गरेपछि प्रदेश सभापति विष्ट रुष्ट देखिएका हुन् ।
सुदूरपश्चिमको अधिवेशनमा सोमबार बोल्दै प्रदेश सभापति विष्टले केन्द्रलाई विधिसंगत निर्णय गर्न चेतावनी दिएका छन् । निर्वाचन समितिले गरेको निर्णय मिडियाबाट थाहा पाएको जानकारी गराउँदै विष्टले भने, ‘म यो प्रदेशको सभापति मात्रै होइन, निर्वाचन आयुक्त पनि हुँ । मसँग किन सोधिएन ? निर्वाचन गर्ने मान्छेलाई किन सोधिएन ?’
विधि र पद्धति मिच्ने केन्द्र भएको आरोप लगाउँदै विष्टले चोट आफूले खाने अवस्था बनेको बताए । विष्टले आक्रोशित हुँदै भने, ‘विधि र पद्धति तिनले मिच्ने । चोट हामीले खाने ? छोड्नेवाला छैनौं ।’
कैलाली अधिवेशन रद्द गर्ने निर्णय अमान्य हुने पत्र केन्द्रलाई पठाइसकिएको उनले जानकारी गराए । एसी कोठामा बसेर कसैको कुरा सुनेर निर्णय गर्ने छुट कसैलाई नभएको उनले बताए ।
रातभरि नसुतेर जिल्ला समिति बनाएको, तर केन्द्रले नबुझेको भन्दै विष्टले दु:ख व्यक्त गरे । जिल्ला अधिवेश रद्द हुँदा कैलालीमा पीडा भइरहेको बताए । विष्टले थपे, ‘कसैलाई खुसी बनाउन उजुरी गरेर यो पार्टीलाई कांग्रेस र एमाले बनाउन दिँदैनौं हामी ।’
प्रतिक्रिया 4