News Summary
Generated by OK AI. Editorially reviewed.- हर्क साम्पाङले ‘रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब हामीलाई अझैसम्म प्राप्त भएन’ भन्दै संसद्मा प्रश्न गरे ।
- प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री बालेन शाह र विभिन्न मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
- मन्त्रीहरूको जवाफपछि बैठकमा २० वटा खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरी विनियोजन विधेयक पारित गरिनेछ ।
४ असार, काठमाडौं । प्रतिनिधिसभामा आज बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल सकिएर विनियोजन विधेयक नै पास हुँदैछ । तर, बिहान पौने १२ बजेसम्म पनि रक्षा मन्त्रालयको बजेटको रातो किताब नपाएको भनेर संसद्मै प्रश्न उठेको छ ।
‘रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब हामीलाई अझैसम्म प्राप्त भएन,’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यस्तो किन भएको भनेर उनले प्रश्न उठाएका हुन् ।
‘रक्षा मन्त्रालय अन्तर्गतको बजेट किताब नहुने हो कि ! हुने हो भने हामीलाई किन दिइएन ?,’ उनले यसको जवाफ खोजेका छन् ।
प्रतिनिधिसभामा आज पनि मन्त्रीहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । कार्यसूचीअनुसार जवाफमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले जवाफ दिनेछन् ।
पूर्वाधार विकास मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्र मन्त्री, रक्षा मन्त्रीले पनि आजै जवाफ दिने कार्यक्रम छ ।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेकाले उनैले जवाफ दिनुपर्ने हुन्छ । यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने छ ।
त्यसपछि सभामा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत हुनेछन् ।
२० वटा खर्च कटौतीको प्रस्ताव छ ।
खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि सभामा विनियोजन विधेयक २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया 4